बुटवलमा पार्किङको समस्या: व्यवस्थापन गर्न स्थानको खोजी

बुटवलको पार्किङ समस्या व्यवस्थापनको लागि गठित कार्यदलले पार्किङ स्थानको खोजी तथा त्यसको व्यवस्थापनमा जुटेको छ ।

गठित कार्यदलको बुटवल उद्योग वाणिज्य सङ्घमा बसेको बैठकले पार्किङ स्थल निर्माण गर्न सम्भावित क्षेत्रहरूको पहिचान गरी त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थलगत निरीक्षण गरेर एउटा निष्कर्षमा पुग्ने गरी तयारी गरिएको कार्यदलका सदस्य सचिव तथा बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

बुटवलको पार्किङ समस्या समाधानको लागि बुटवल उद्योग वाणिज्य सङ्घको अग्रसरतामा बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठको संयोजकत्वमा सर्वपक्षीय पार्किङ व्यवस्थापन कार्यदल गठन गरिएको थियो ।

सोही कार्यदलको बैठकले पार्किङ समस्या समाधानको लागि स्थानको पहिचान गरी ती स्थानलाई व्यवस्थापन मिलाउन प्राविधिक पक्षलाई समेत विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्ने निर्णय गरिएको कार्यदलका संयोजक समेत रहनुभएका बुटवल ५ का वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार तत्कालको लागि लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको जग्गा, लुम्बिनी प्रदेश प्रमुखको कार्यालयको छेउमा रहेको खाली जग्गा, बुटवल बाल मन्दिर लगायतका स्थानलाई पार्किङको रूपमा प्रयोग गर्न सकिन्छ । ती ठाउँलाई कसरी प्रयोग गर्ने, पार्किङको लागि सम्भावित सवारी साधन कति छन्, कति ठाउँ चाहिन्छ जस्ता कुराहरूलाई स्थलगत निरीक्षण गरी प्राविधिकसँग बसेर विश्लेषण गरेर अगाडि बढ्ने उहाँले जानकारी गराउनुभयो ।

पार्किङ व्यवस्थापनको लागि कार्यदलले सुरुवाती समयमा बजार क्षेत्र वडा नं. ४, ५, ६ र ८ मा पर्ने अमर पथ, सङ्गमपथ, राम मन्दिर लाइन, बिपी चोक, ट्राफिक चोक तथा अस्पताल लाइन (भुड्की चोक) मा पार्किङको वैकल्पिक व्यवस्थापनमा जुटेको हो । यो दीर्घकालीन व्यवस्थापन भने होइन ।

दीर्घकालीन समस्या समानको लागि योजना बनाएर काम गर्नुपर्छ । पार्किङ समस्यालाई दिगो रूपमा समाधान गर्नको लागि सबैभन्दा पहिला व्यवस्थापन योजना निर्माण गर्नुपर्ने बुटवल उपमहानगरपालिकाका इन्जिनियर गोविन्द पङ्गेनी बताउनुहुन्छ । लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको जग्गामा कम्प्लेक्स बनाउने योजना छ । त्यस्तै पूर्वपश्चिम महेन्द्र राजमार्गको तिनाउ पुलमा सिग्नेचर ब्रिज बनाउने योजना छ । यी पूर्वाधार निर्माण गर्दा पार्किङ मात्रै नभएर यहाँको ट्राफिक व्यवस्थापन पनि अझै कठिन हुनेछ । इन्जिनियर पङ्गेनीका अनुसार त्यसलाई पनि मध्यनजर गरेर पार्किङ व्यवस्थापनको योजना बनाउनुपर्छ ।

बुटवलको मुख्य बजारमा पार्किङको समस्याका कारण व्यापार समेत खस्किँदै गएको र व्यापार व्यवसायलाई लयमा फर्काउनको लागि पार्किङ व्यवस्थापन अति आवश्यक भएको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनुभयो । उहाँले पार्किङ समस्या समाधान हुन सकेन भने भोलीका दिनमा बजार नै विस्थापित हुनसक्ने र त्यति वेला आफ्ना घरका सटरहरू खाली हुने स्थिति आउन नदिनको लागि समयमै गम्भीर हुन त्यस क्षेत्रका घरधनीलाई आग्रह गर्नुभयो ।

ट्राफिक व्यवस्थापन योजना स्थानीय सरकारले पनि स्वामित्व ग्रहण गर्ने खालको हुनुपर्छ । जसले गर्दा कार्यान्वयन गर्न सहज हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलकी प्रहरी निरीक्षक शोभा पाण्डे बताउनुहुन्छ । त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले पार्किङका लागि आउने सवारी साधन, ठुला गाडिलाई बजारमा छिर्न दिने नदिने, रिक्साको सहज व्यवस्थापन सबै कुराको सम्बोधन हुने गरी योजना बनाउन सकियो भने कार्यान्वयनमा पनि सहज हुने र त्यसले ट्राफिक व्यवस्थापनलाई पनि सहयोग गर्ने बताउनुभयो ।

कार्यदलका सदस्य समेत रहनु भएका वडा नं. ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, वडा नं. ८ का अध्यक्ष यज्ञ पङ्गेनीले वडा अध्यक्षले नै नेतृत्व गरेको र कार्यदलको सदस्यमा पनि वडा अध्यक्ष सहित सरोकारवाला रहेकाले कार्यदलले बनाउने योजना कार्यान्वयनमा समस्या नहुने भनाई राख्नुभयो ।

कार्यदलमा प्रदेश ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देही व्यापार सङ्घ, उद्योग व्यापार सङ्घ लगायतका व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिहरू सदस्यको रूपमा रहेका छन् ।  

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
बुटवलमा पार्किङको समस्या: व्यवस्थापन गर्न स्थानको खोजी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link