बेलायतमा भेपिङ बन्द हुँदै, नेपालमा खुल्लम् खुल्ला व्यापार

भेपिङ भनिने डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायतले कानून प्रस्तुत गर्ने सोमबार घोषणा गर्नुभएको छ। बेलायतका युवाहरूमा बढ्दो भेपिङको प्रयोगका कारण यो कदम उठाइको हो भने नेपालमा चाहिँ भेपिङ खुल्लम् खुल्ला व्यापार भइरहेको छ।

“तपाइँ कुनै पनि आमाबुबा वा शिक्षकसँग कुरा गर्नुहोस् उहाँहरूले बच्चाहरूमा भेपिङको चिन्ताजनक वृद्धिको बारेमा कुरा गर्नुहुनेछ”, उत्तरपूर्वी इङ्गल्यान्डको डार्लिङ्टनमा एक स्कुलको भ्रमणका क्रममा मिडियासँग सुनकले भन्नुभयो, “यो सही हो कि हामी यसमाथि रोक लगाउनका लागि कडा कदम चाल्दैछौँ, पसलहरूमा प्रदर्शित गरिने स्वाद, उपस्थिति, प्याकेजिङ डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउँदैछौँ, बच्चाहरूले भेपिङ गर्नुहुँदैन।”

‘पफ्स’ पनि भनेर चिनिने पहिला नै भरिएको डिस्पोजेबल ई–चुरोट युवाहरूमा लोकप्रिय छ। यसमा निकोटिनको मात्रा धेरै हुनसक्छ, यो विभिन्न स्वादमा आउँछ र सस्तो हुन्छ।

सरकारले हालैको आँकडा उद्धृत गर्दै पछिल्लो दुई वर्षमा डिस्पोजेबल भेपको प्रयोग गर्ने १८ वर्षभन्दा कम उमेरका भेपरहरूको अनुपात करिब नौ गुणाले बढेको जनाएको छ। सुनकको सरकारले इङ्गल्यान्ड र वेल्समा बच्चाहरूलाई अवैधरूपमा भेप बिक्री गर्ने पसलहरूमाथि जरिवाना लगाउने योजनासमेत बनाइरहेको छ।

स्वास्थ्य विशेषज्ञहरूले सरकारको प्रस्तावको स्वागत गरेका छन्। मुख्य चिकित्सा अधिकारी क्रिस ह्विट्टीले उक्त कानूनले भविष्यका पुस्ताहरूमा ठूलो जनस्वास्थ्य प्रभाव पार्ने बताउनुभयो।

रोयल कलेज अफ पिडियाट्रिक्स एन्ड चाइल्ड हेल्थका माइक म्याककेनले उक्त कदमको प्रशंसा गर्दै ‘साहसिक कदम’ भन्नुभयो। “डिस्पोजेबलमाथि प्रतिबन्ध लगाउनु सही दिशामा एउटा सार्थक कदम हो”, उहाँले भन्नुभयो।

प्रधानमन्त्री सुनकले गत वर्ष बेलायतलाई धूम्रपानमुक्त मुलुक बनाउने योजना घोषणा गर्नुभएको थियो। उहाँको प्रस्तावअनुसार प्रभावकारीरूपमा प्रत्येक वर्ष धूम्रपानको उमेरमा एक वर्ष बढाएर सम्पूर्ण जनसङ्ख्यामा लागु नभएसम्म सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कुनै पनि व्यक्तिका लागि सुर्तीजन्य उत्पादन बिक्री गर्नु अपराध ठहर्छ।

“म प्रस्ताव गर्छु, हामी प्रत्येक वर्ष धूम्रपानको उमेर एक वर्ष बढाउनेछौँ, यसको अर्थ आज १४ वर्षको बच्चाले कहिले पनि कानूनीरूपमा चुरोट बेच्ने छैन, उनीहरू र उनीहरूका पुस्ता धूम्रपानमुक्त हुनसक्छन्”, अक्टोबरको आफ्नो कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनमा उहाँले भन्नुभयो।

हाल इङ्गल्यान्ड र वेल्समा सुर्तीजन्य उत्पादनको खरिद गर्ने उमेर १८ वर्षको छ। प्रधानमन्त्री सुनकका अनुसार प्रत्येक मिनेट अस्पतालमा भर्ना हुनका लागि धूम्रपान जिम्मेबार छ। यद्यपि उहाँले भेपमाथि पूर्ण प्रतिबन्ध लगाउन जोड दिनुभएन र यसलाई ‘रोक्न चाहने वयस्क धूम्रपान गर्नेहरूका लागि’ राख्नु महत्त्वपूर्ण हुने तर्क दिनुभयो।

यद्यपि केही टोरीले धूम्रपानलाई चरणबद्धरूपमा बन्द गर्ने प्रधानमन्त्री सुनकको प्रयासको विरोध गरिरहेका छन्। विरोध गर्नेमा पूर्वप्रधानमन्त्री लिज ट्रस पनि हुनुहुन्छ। उहाँले यसलाई ‘नानी (बालबच्चाको हेरचाह गर्ने) राज्य’ विस्तार भन्दै सरकारले सुर्तीजन्य बिक्रीमाथिको प्रतिबन्धका लागि आफ्नो अत्यन्तै अपरम्पतारगत योजनाहरू त्याग्नुपर्ने बताउनुभयो।

बेलायतको यो घोषणा डिसेम्बरमा एकल–प्रयोग ई–चुरोटमाथि प्रतिबन्ध लगाउनका लागि फ्रान्सेली संसद्को सर्वसम्मत भोटपछि आएको हो। यद्यपि कानूनले फ्रान्सको माथिल्लो सदन सिनेटबाट समर्थन र युरोपेली युनियन (इयु) बाट अनुमति लिन आवश्यक छ।

बेल्जियमले प्रतिबन्धका लागि इयुको अनुमतिको प्रतीक्षा गरिरहेका बेला जर्मनीले पनि ई–चुरोटमाथि प्रतिबन्ध लगाउने मनसायको सङ्केत दिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सबै भेपको बिक्री वर्तमानमा ३० भन्दा बढी मुलुकमा प्रतिबन्धित छ। कानूनमार्फत ७९ मुलुकले ई–चुरोटको बिक्रीमाथि नियमन गरेका छन् भने ८४ मुलुकमा कुनै प्रतिबन्ध वा नियम छैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link