भारत र चीन जोडियो नेपालको तमोर ‘कोरिडोर’

राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्

मित्रराष्ट्रय चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा  टिप्ताला नाका हुदैँ  फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो । ओलाङचुङगाला हुदैँ सेराप बगरसम्म ‘ट्र्याक’ खोल्ने काम चीनको निर्माण कम्पनीले गरेको थियो । नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा  ट्रयाक खोलिएको थियो ।

नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्र्याक यसअगाडि चीनले खोलेको ट्र्याकमा गत मङ्गलबार साँझ जोडिएको उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख अमिन्द्र खड्काले  बताउनुभयो ।

तमोर नदीको उद्गमस्थल तिप्तला नाकाबाट धनकुटाको मूलघाट हुदैँ तमोर किनारैकिनार बनेको सडक भारतसँग जोडिन्छ ।  उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजनाअन्तर्गत सञ्चालित सडकको ट्रयाक खोलिएको आयोजना प्रमुख खड्काले बताउनुभयो । आयोजनाका अनुसार सडक निर्माण काठमाडौँको एसबीए एलाइट जेभीले गरेको हो ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ मात्रै नभएर यो सडकको ट्र्याक खुलेसँगै कोशी प्रदेश उत्तरतर्फको छिमेकी देश चीनसँग सडक सञ्जालले जोडिएको छ । एसबीए एलाइटले तापेथोकदेखि ओलाङचुङगोलासम्मको ट्र्याक खोल्ने ठेक्का रु ४४ करोडमा लिएको थियो । तापेथोकबाट काम थालेको ठीक छ वर्षमा ट्र्याक खोलिएको निर्माण कम्पनीले जनाएको छ  । निर्माण कम्पनीका अनुसार अब छ वटा मेसिन लगाएर तिप्तला नाकासम्म यस अगाडि खुलाएको ट्र्याकलाई मर्मत गरेर वैशाखमा ताप्लेजुङबाट बिदा हुने योजना छ ।

मूलघाट–दोभान–ओलाङचुङगोला सडक सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म दुई सय ३० किलोमिटर छ । ओलाङचुङगोलादेखि तिप्तला नाकासम्मको दूरी २४ किलोमिटर छ । तमोर कोरिडोरको लम्बाइ दुई सय ५४ किलोमिटरमा छ । कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको सीमा नाका जोगवनीबाट सुनसरीको चतरा  ५१ किलोमिटरमा टाढा छ ।

विसं २०६५ मा तमोर कोरिडोर  निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो । चीनसँग सडक सञ्जालले जोडिएसँगै ओलोङचुङगोलाका स्थानीय उत्साहित भएका फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोलाका वडा सदस्य टासी शेर्पाले बताउनुभयो । सडक जोडिए पनि अगाडि चीनबाट खोल्दै ल्याएको ट्रयाक मर्मतसम्भार गर्न केही समय लाग्ने फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोलाका वडाअध्यक्ष छेतेन लामाले बताउनुभयो । ओलाङचुङगोला सडक पुगेसँगै आगामी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताउनुभयो । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link