काठमाडौँमा ११८ औषधि पसल मापदण्डविपरीत

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ ।

कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त सङ्ख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ ।

वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको पाइएको थियो । यसरी भेटाएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले त्यस्ता औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले बताउनुभयो । “औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले यो चरम गल्ती हो”, उहाँले भन्नुभयो, “यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।”

औषधि पसल दर्ता गर्दा एउटाको नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको पनि भेटिएको डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको छ ।

कामपाले गत मङ्सिरमा आफ्नो क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । सूचनाको व्यवस्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो ।

उक्त अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ५३ अनुसार कारबाही गरिने जनाइएको छ । औषधि पसल सञ्चालन हुनका लागि पहलो कामपामा अनुमति लिनुपर्ने हुन्छ । फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपाउने कानुनी मान्यता छ । हाल कामपामा दुई हजार छ सय औषधि पसल सञ्चालनमा रहेका छन् ।

औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याइने कामपाको भनाइ छ ।  

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link