फ्रान्सको संविधान संशोधन: गर्भपतनको अधिकार बन्यो मौलिक हक

फ्रान्सको संविधानमा गर्भपतन अधिकारहरू समावेश गर्ने विधेयकलाई सांसदहरूले हिजो सोमबार भारी मतका साथ अनुमोदन गरेका छन् । जसले फ्रान्स महिलाको स्वेच्छाले गर्भपतन गर्ने अधिकारलाई स्पष्ट रूपमा संवैधानिक प्रत्याभूति गर्ने एक मात्र देश बनेको छ।

हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिकामा गर्भपतन अधिकारमा प्रतिगमन भइरहेको समयमा फ्रान्समा भने राष्ट्रपति इमानुएल म्याक्रोनद्वारा संविधान परिवर्तनको यो ऐतिहासिक विधेयक प्रस्ताव गरिएको थियो । फ्रान्सको संसद्को विशेष संयुक्त सत्रमा भएको मतदानले सांसदहरूको बिचमा लामो समयदेखि बहसमा रहेको यो विधेयक पारित भएको छ ।

यो विधेयकमा भएको मतदानमा पक्षमा ७८० मत र विपक्षमा ७२ मत परेको थियो। गर्भपतनलाई फ्रान्समा अधिकांश राजनीतिक क्षेत्रमा व्यापक समर्थन प्राप्त छ ।  र १९७५ देखि नै फ्रान्समा गर्भपतनको अधिकार वैधानिक छ। तर अब यो संविधान प्रदत्त महिलाहरूको मौलिक हक बन्न पुगेको छ ।

फ्रान्सको संसद्को दुवै सदन, राष्ट्रिय सभा र सिनेटले फ्रान्सेली संविधानको धारा ३४ लाई संशोधन गर्न छुट्टाछुट्टै विधेयक पारित गरेको छ । तर विशेष संयुक्त बैठकमा दुई तिहाइ बहुमतले संशोधनलाई अन्तिम पुष्टि गर्न आवश्यक थियो। यस भारी मतले निर्दिष्ट गरेको छ– “कानुनले गर्भपतन गर्न महिलाको स्वतन्त्रताको प्रयोग गर्ने सर्तहरू निर्धारण गर्दछ, जुन प्रत्याभूत गरिएको छ।”

उक्त विधेयक पारित हुँदा संसद् भवनमा रहेका सबै महिला विधायकहरू खुसीसाथ मुस्कुराएका थिए । त्यति बेला सदनको संयुक्त सत्र बाहिर अधिकारकर्मी प्रदर्शनकारीहरूको सानो समूह पनि हर्षोल्लास मनाइरहेको थियो । फ्रान्सभरि उत्सवको रमाइलो दृश्यहरू पनि थिए । २०२२ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकार कटौती गर्ने निर्णय गरेको एक घण्टा भित्र यता राष्ट्रपति म्याक्रोनले भने यो अधिकार संविधानबाटै प्रदान गर्ने प्रतिज्ञा गरेका थिए । प्रदर्शनकारीहरू राष्ट्रपतिलाई कृतज्ञता प्रकट गरिरहेका थिए ।

अमेरिकी निर्णयले युरोपको राजनीतिक परिदृश्यमा यो मुद्दालाई पुनरावृत्ति गरेको थियो । यस मुद्दालाई केही देशहरूमा सार्वजनिक बहसमा ल्याउन बाध्य पारेको थियो । जब कि युरोपमा अति दक्षिणपन्थी राष्ट्रवादी पार्टीहरूले प्रभाव विस्तार गरिरहेका थिए ।

फ्रान्सको यो संवैधानिक कदम पूर्व युगोस्लाभियाको प्रावधान भन्दा एक कदम अगाडी बढेको देखिन्छ । पूर्व युगोस्लाभियाको १९७४ को संविधानले “एक व्यक्ति बच्चा जन्माउने बारे निर्णय गर्न स्वतन्त्र छ।” भन्ने प्रत्याभूत गरेको थियो । तर युगोस्लाभिया सन् १९९० को प्रारम्भमा विघटन भयो । तर यसका सबै उत्तराधिकारी राज्यहरूले उनीहरूको संविधानमा समान उपायहरू अपनाएका छन् । जसले महिलाहरूलाई गर्भपतन गर्न कानुनी रूपमा सक्षम बनाउँदछ, यद्यपि तिनीहरूले स्पष्ट रूपमा ग्यारेन्टी गर्दैनन्।

मतदानको नेतृत्वमा, फ्रान्सेली प्रधानमन्त्री ग्याब्रियल एट्टलले संसद्को संयुक्त सत्रको लागि भेला भएका ९ सय भन्दा बढी सांसदहरूलाई सम्बोधन गर्दै फ्रान्सलाई महिला अधिकारको नेता बनाउन र विश्वभरका देशहरूका लागि उदाहरण खडा गर्न आह्वान गरेका थिए ।

प्रधानमन्त्री अटलले भने, “महिलाप्रति हाम्रो नैतिक ऋण छ। उनले सिमोन भोइललाई श्रद्धाञ्जली अर्पण गरे । उनी एक प्रख्यात विधायक, पूर्व स्वास्थ्य मन्त्री र प्रमुख नारीवादी थिइन । उनले १९७५ मा फ्रान्समा गर्भपतनलाई अपराधरहित बनाउने विधेयकलाई अगुवाइ गरेकी थिइन् ।

“हामीसँग इतिहास परिवर्तन गर्ने मौका छ,” अटलले गम्भीर र दृढ भाषणमा भने– “सिमोन भोइलप्रति गर्व गर्नुहोस् ।”

फ्रान्सका कुनै पनि प्रमुख राजनीतिक दलहरूले गर्भपतनको अधिकारमाथि प्रश्न उठाएका छैनन् । ले पेनको अति दक्षिणपन्थी राष्ट्रिय पार्टी र कन्जरभेटिभ रिपब्लिकनहरू सहित सबै दलले समर्थन गरे ।

दुई वर्षअघि राष्ट्रिय सभामा उल्लेखनीय सङ्ख्यामा सिट जितेका ले पेनले सोमबार आफ्नो पार्टीले विधेयकको पक्षमा मतदान गर्ने योजना बनाएको बताइन् तर उनले भनिन्– “यसलाई ऐतिहासिक दिन बनाउन आवश्यक छैन।”

भर्खरको सर्वेक्षणले फ्रान्सेली जनतामा गर्भपतन अधिकारको लागि ८० प्रतिशत भन्दा बढीमा समर्थन देखाएको थियो । सर्वेक्षणले जनताको ठोस स्पष्ट मत संविधानमा समावेश गर्ने पक्षमा रहेको पनि देखाएको थियो।

लगभग दुई सय गर्भपतन विरोधी प्रदर्शनकारीहरूको एउटा समूह भने मतदान अघि संसद् भवन भर्साइल्समा शान्तिपूर्वक भेला भएका थिए ।  केहीले ‘म पनि एउटा भ्रूण थिएँ भन्ने ‘ब्यानर बोकेका थिए ।

महिला अधिकार कार्यकर्ताहरूको ठूलो भीड ट्रोकाडेरो प्लाजामा एफिल टावरलाई हेरेर भेला भएको थियो ।  मतदानको नतिजा आउँदा सामूहिक हर्षोल्लासका आँसु बगाइरहेका थिए ।

परिवार नियोजन आन्दोलनकी एक नेता सारा डुरोचरले सोमबारको मतदान “नारीवादीहरूको जित र विकल्प विरोधी कार्यकर्ताहरूको हार” भएको बताइन्।

“हामीले यस मौलिक अधिकारको सुरक्षाको स्तर बढाएका छौँ,” महिला फाउन्डेसनकी एनी-सेसिल मेलफर्टले भनिन्– “आज र भविष्यमा महिलाहरूलाई फ्रान्समा गर्भपतन गर्ने अधिकारको ग्यारेन्टी छ।”

सरकारले विधेयकको पक्षमा तर्क गर्‍यो कि संयुक्त राज्य अमेरिकामा गर्भपतनको अधिकार खतरामा छ । जहाँ सन् २०२२ मा सर्वोच्च अदालतले यो हक सुनिश्चित गर्ने ५० वर्ष पुरानो फैसलालाई उल्ट्याएको थियो ।

“फ्रान्समा यो समस्या नहुन सक्छ, जहाँ धेरै मानिसहरूले गर्भपतनलाई समर्थन गर्छन्,” म्याथिल्डे फिलिप-गे, कानुनका प्राध्यापक र फ्रान्सेली र अमेरिकी संवैधानिक कानुनका विशेषज्ञले भने ।

उनले भने– फ्रान्सेली संविधानमा गर्भपतन अधिकार लेख्नुले “भविष्यका गर्भपतन विरोधीहरूलाई यी अधिकारहरूलाई चुनौती दिन गाह्रो बनाउनेछ । तर, यसले तिनीहरूलाई लामो समयसम्म विरोध गर्नबाट रोक्न सक्दैन।

स्रोत: एपी

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link