चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेञ्चुरी) घोषणा गर्नुपर्ने माग गर्नुभएको छ। नगरभित्र तीन सय ३७ प्रजातिका चरा पाइने र दुर्लभ मानिएका चरासमेत ठूलो सङ्ख्यामा यही क्षेत्रमा भएकाले ‘बर्ड सेञ्चुरी’ घोषणा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।
रिडर्स झापाले पर्यटन कार्यालय काँकरभिट्टाको सभाहलमा आज आयोजना गरेको ‘चरी चर्चा’ कार्यक्रममा बोल्दै उहाँले स्थानीय सामुदायिक वनद्वारा संरक्षित बाँसबारी र कालिका सिमसार क्षेत्रलाई एकीकृत गरी ‘बर्ड सेञ्चुरी’ निर्माण गर्न सकिने र त्यसबाट पर्यटक आकर्षण बढ्ने बताउनुभयो।
नेपालबाट लोप भइसकेको घोषणा गरिएको हङरायो (हर्नबिल) चरा इलाममा खोजेर विश्वभर चर्चा पाउनुभएको मेचीनगर–७ निवासी खरेलले मेचीनगर वडा नं १५ मा दुर्लभ हरित परेवा रहेको पत्ता लगाउनुभएको थियो। ढुकुर प्रजातिको यो चरा मेचीनगरबाहेक नेपालमा अन्यत्र पाइएको छैन।
उहाँका अनुसार नेपालमा पाइएका सातै प्रकारका चिबे र पाँचै प्रकारका रूप्पी मेचीनगरमा पाइएको छ भने नेपालमा पाइएका चार प्रजातिका धनेश चरामध्ये हङरायोबाहेक तीनवटा प्रकार यहीँ भेटिएको छ। अतिसङ्कटापन्न अर्थात् दुर्लभ चरामध्ये ठूलो बगर बट्टाई, हरित परेवा, पेटकैले कोइली, बगाले बगेडी, कालोटाउके बगेडी, कालो टाउके बिरहीचरी, ठूलो माकुरी चरी, प्याजीकाने बुङ्कगेचरा र कानकैले बगेडी मेचीनगरमा पाइएका छन्।
नेपाल र भारतकै सबैभन्दा सानो मानिएको आठ सेमी छोटो रातोठुँडे पुष्पकोकिल र एक सय २० सेमी लामो भुँडीफोर गरूड चरा मेचीनगरमै रहेको उहाँले सप्रमाण पुष्टि गर्नुभएको छ।
मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्षसमेत रहनुभएका उहाँले चराको खोजीमा लाग्दाको अनुभव, चराको परिचय र महत्वबारे चर्चा गर्नुभएको थियो। उहाँले ‘मेचीनगरलाई के कुराले चिनाउँछ’ भनेर छोरीले सोधेको साधारणजस्तो लाग्ने प्रश्नबाट प्रभावित भएर चराबाटै नगरको पहिचान दिलाउने अभियानमा होमिएको बताउनुभयो।
यस क्षेत्रमा लाग्न सरकारी र संस्थागत रूपमा उल्लेख्य आर्थिक प्रोत्साहन नभए पनि व्यक्तिगत रूपमा ठूलो लगानी गरेर टाढैबाट सटिक तस्वीर खिच्न सक्ने शक्तिशाली लेन्सयुक्त क्यामरा किन्ने गरेको र मिडिया जगत्ले धेरै माया गरेर संसारभर चिनाएको उहाँले बताउनुभयो।
परिवारबाट राम्रो सहयोग पाएको जनाउँदै उहाँले चरालाई नमार्न आग्रह गर्नुभयो। कार्यक्रमको सुरूआतमा रिडर्स झापाकी सदस्य सञ्जु साम्पाङले विषय प्रवेश गराउँदै चरा संरक्षण अभियानबाटै खरेलले नेपालको नाम उँचो पार्नुभएको बताउनुभएको थियो।
कार्यक्रम हात्ती संरक्षण अभियन्ता शङ्कर लुइँटेलले हात्ती र चराबीच गहिरो सम्बन्ध रहेको बताउनुभयो। हात्ती हिँड्ने मार्गलाई चराचुरूङ्गीले पछ्याउने गरेको र गाईवस्तुको वरिपरि दिनभर चर्ने बकुल्ला, रूप्पीलगायतका चराबारेमा उहाँले चर्चा गर्नुभएको थियो।
नेपालमा आठ सय ८६ प्रजातिका चरा रहेकामा आफूले नै हरित परेवा नामक नयाँ चराको खोजी गरेर मुलुकमा पाइने चराको सङ्ख्या आठ सय ८७ पुर्याएको उहाँले जानकारी दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
