सूचना लुकाउने कार्यालय प्रमुखलाई कारबाही गर्ने आयोगको चेतावनी   

राष्ट्रिय सूचना आयोगले मधेस प्रदेशका दुई स्थानीय सरकारका कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनीसहित लिखित जवाफ माग गरेको छ ।      

आयोगको माघ २९ मा बसेको इजलासले सूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ३२ को उपदफा १ र २ बमोजिम  किन कारबाही नगर्ने ? कारबाही गर्न नपर्ने कुनै कारण भए ७ दिनभित्र आयोग समक्ष जवाफ पेस गर्न धनुषाको कमला नगरपालिका र महोत्तरीको औरही नगरपालिकाको कार्यालय प्रमुखको नाममा आदेश जारी गरेको हो ।    

संवैधानिक तथा कानुनी रूपमा नागरिकलाई प्राप्त अधिकारको बेवास्ता गरेको र सूचनाको कानुन पालना गर्न गराउन तत्पर नदेखिएको स्पष्ट भएको भन्दै आयोगको प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङका साथै आयुक्तद्वय कमला ओली थापा र  रत्नप्रसाद मैनालीको इजलासले यस्तो आदेश गरेको हो।      

सूचना माग्ने र पाउने संस्कृतिको विकासमा लागेका सूचनाको हकको अभियन्ता परशुराम साहले आफूलाई सूचनाको अधिकारबाट वञ्चित गरेको भन्दै ती कार्यालयका विरुद्धमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए । कमला नगरपालिका र औरही नगरपालिकालाई आयोगले निवेदकलाई सूचना उपलब्ध गराउन र सूचना दिनु नपर्ने कारण भए खुलाएर जवाफ पेस गर्न भनेको थियो । आयोगको आदेशलाई उक्त नगरपालिकाले बेवास्ता गरेपछि कारबाही किन नगर्ने भन्दै आयोगले आदेशसहित चेतावनी दिएको हो।    

अभियन्ता साहले उक्त नगरपालिकासँग सफ्टवेयर खरिद तथा सवारी मर्मतमा भएको खर्च, पालिकाको गाडी र इन्धन सरकारी काममा प्रयोग र खर्च भएको पुस्ट्याइँ गर्ने प्रमाण लगायतका विषयमा सूचना माग गरेका थिए  । 

 साथै, यस अघि साहको पुनरावेदन माथि आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका, सर्लाही र बाराको शिक्षा विकास तथा समन्वय इकाईको नाममा पनि सोही आदेश जारी गरेको थियो।

साह सूचनाको हकको क्षेत्रमा विगत लामो समय देखि सकृय रहदैँ आएका छन् । मधेश प्रदेशका सार्वजनिक निकायमा हुने गरेका विभिन्न प्रकारका अनियमितताको बारेमा सूचना माग गर्दै उनले ती निकायहरूलाई जवाफदेही, पारदर्शी र उत्तरदायी बन्न दबाव दिदैँ आएका छन् । मधेशको सार्वजनिक निकायहरूमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न साहले सूचनाको हकको कानुनमार्फत माग गरेका सूचनालाई प्रकाशनमा ल्याएर दबाब बढाउँदै आएकाछन् । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link