लिलामीमा घोडाघोडीको कोल्डस्टोरः सङ्कट किसानलाई

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षमता भएको कोल्डस्टोर आर्थिक अभावका कारण सङ्कटमा परेको छ। कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त कोल्डस्टोर लिलामी हुने अवस्थामा पुगेको हो। किसानको आवश्यकतालाई मध्यनजर गर्दै घोडाघोडी–१० मा विसं २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो कोल्डस्टोर सञ्चालन गरिएको थियो।

रिज्म परियोजनाको रु एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कोल्डस्टोर रु २० करोड बढी लगानीमा तयार भएको थियो। निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको कोल्डस्टोरले ऋण तिर्न नसक्दा बन्द हुने अवस्था पुगेको कोल्डस्टोर सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताउनुभयो। उहाँका अनुसार स्टोरलाई रु २० करोड बढी ऋण रहेको छ।

“बैंकमा मात्रै रु १६ करोड ४४ लाख ऋण छ। अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी रु २० करोड बढी पुग्छ”, रावतले भन्नुभयो, “सरकारले अनुदान पनि दिएन अहिलेसम्म किसानकै पैसाबाट सञ्चालन भइरहेको छ।” उहाँका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० कोल्डस्टोरका लागि रु नौ करोड ९० लाख विनियोजन गरे पनि उपलब्ध भएको छैन।

कोल्डस्टोर सञ्चालन भएकै वर्ष यहाँका तीन हजार चार सय ५३ जना किसानले आफ्नो उत्पादन राखेकामा अहिले उक्त सङ्ख्या बढेर छ हजार बढी पुगेको रावतले जानकारी दिनुभयो। कैलाली, कञ्चनपुरसहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकाका किसान यसबाट लाभान्वित भएका छन्।

किसानको सङ्ख्या बढिरहे पनि आर्थिक अभावका कारण बन्द गर्नुपर्ने अवस्था आउन लागेको रावतको भनाइ छ। कोल्डस्टोर भएर निकै सहज भएको कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बिउ भण्डारण गर्न आएका किसान रामु चौधरीले बताउनुभयो। “यसपटक वर्षभरि घरमा खानलाई राखेर बेचेको ल्याएको छु। बन्द हुने अवस्थामा स्टोर छ किसानले कसरी जीविकोपार्जन गर्ने ?”, उहाँले प्रश्न गर्नुभयो।

स्टोर सञ्चालनमा आएपछि खेती सुरु गरेको बताउँदै स्टोर बन्द भएमा उत्पादित तरकारी तथा आलु भण्डारणमा समस्या हुने किसान प्यारेलाल चौधरीले बताउनुभयो। उक्त कोल्डस्टोरमा आलु, स्याउ, सुन्तला, अनार, अङ्गुर र बन्दागोपी राख्न मिल्ने सञ्चालक समितिका अध्यक्ष रावतले बताउनुभयो। विद्युत्को बिल भुक्तानी गर्न समस्या भएपछि यहाँ पटकपटक लाइन काटिने गरेकोे शेयर सदस्य राजेन्द्र देवकोटाले बताउनुभयो। यसरी विद्युत् काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरा बढेको उहाँको भनाइ छ।

“किसानबाट उठेको रु आठ लाख बिजुलीको बिल तिरेका छौँ”, अध्यक्ष रावतले भन्नुभयो, “बैंकले पनि यही चैत्र २० गते लिलामीका लागि बोलिसकेको छ। स्टोरलाई बचाउन किसानलाई नै शेयर जारी गर्ने अभियानमा लागेको छु।”

प्रदेशकै ठूलो कोल्डस्टोरको संरक्षण गर्न प्रयास गरिरहेको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताउनुभयो। घोडाघोडीको मात्रै नभई किसानको पहिचानसँगै सुदूरपश्चिमको अस्तित्वसँग जोडिएकाले अन्य पालिकासँग पनि सहयोगका लागि समन्वय भइरहेको उहाँको भनाइ छ। साथै प्रदेश सरकारसँग पनि यसका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link