भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह

मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययनरत विद्यार्थीमा भागाभाग भयो ।

भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौँ रकम बराबरको भौतिक क्षति भएको थियो ।

भूकम्पको धक्काले अताल्लिएका काठमाडौँ नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हामफाले । हालफाल्दा घाइते भएका उनको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ ।

ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयम अपनाउन नसक्ने बताउँछन् । “धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ, एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ । यी दुई ठुला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ”, उनले भने, “विसं २०७२ को भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखापर्‍यो । यस्ता विपद्बाट मानसिक रोगहरू देखापर्छ । विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने कुरामा ख्याल गर्नुपर्छ ।”

कार्की भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उनको भनाइ छ । डा कार्कीले भने, “भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ, यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ ।”

उनले फरकफरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताए । “यस्ता विपद्बाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन, कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन”, उनले भने, “ सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक छ ।”

  • अनावश्यक त्रास नफैलाउन आग्रह 

खानी तथा भू-गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गरेका छन् । “भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयम अपनाउनुपर्छ”, उनले भने, “सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन । भूकम्पको भविष्यवाणी सम्भव छैन ।” उनले आधिकारिक सूचनामात्रै ग्रहण गर्न उहाँको आग्रह छ ।

  • पूर्वतयारी र सचेतनाको जरुरी 

केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले भूकम्प गएमा के गर्ने  ? कसरी संयम अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुनसक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के-के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताए । उनले पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने जिकिर गरे ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्वसूचनाहरु विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

उनले चीनमा गएको भूकम्पपछि हिमताल फुट्ने जोखिम बढेकोसमेत उल्लेख गर्नुभयो । “भूकम्पका कारण हिमताल फ्ट्ने जस्ता जोखिम देखिएमा धनजनको सुरक्षाका लागि हामी पूर्वसूचना प्रवाह गर्छौं । आधिकारिक सूचनाको मात्रै विश्वास गर्न आग्रह गर्छु”, जोशीले भने ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले उक्त भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन समेत आग्रह गरे । संयमतापूर्वक विपद् व्यवस्थापन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

  • किन जान्छ भूकम्प ?

सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ । पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ़्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ  । पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठुला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ । यी प्लेटहरू एकअर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन । टेक्टोनिक प्लेटहरुबीचको अन्तरसङ्घर्षको कारणले भूकम्पहरु जाने गर्दछन् । स-साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठुला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पहरुले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठुला र विनाशकारी भूकम्पहरु जाने गर्दछन् ।

“विगतमा हिमालय क्षेत्रमा ठूलाठूला भूकम्प गइसकेका छन् । सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको काङ्गरा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा गएका पछिल्ला अन्तर महादेशीय महाभूकम्पहरु हुन्”, केन्द्रले भनेको छ ।

पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मा (बर्मा) सम्मको करिब दुई हजार पाँच सय किलोमिटर लामो सक्रिय हिमशृङ्खलाको मध्य भागको करिब आठ सय किलोमिटर (एक तिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ । टेक्टोनिक प्लेटबीचको टकराव र ऊर्जा सञ्चिति र समय–समयमा बिनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link