जितगढी विजय उत्सव: नेपालले विश्व विजेता अङ्ग्रेजलाई पराजित गरेको दिन

आजभन्दा दुई सय ९ वर्षअघि आजकै दिन अर्थात् विसं. १८७२ वैशाख ७ गते विश्व विजेता तत्कालीन अङ्ग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गरेको थियो ।

बुटवलस्थित जितगढी किल्ला परिसरमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपालले जित हासिल गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सव दिवसका रूपमा मनाइँदै आएको छ ।

जितगढीमा अङ्ग्रेजलाई हराएको नेपाल अरू किल्लाहरूमा भने आफैँ हारेको थियो । जितगढीमा भएको वि.सं. १८७२ वैशाख ७ गतेको लडाइँमा नेपालसँग हारेपछि अङ्ग्रेज सेना नेपालबाटै फर्किएको इतिहासका जानकार निर्मल श्रेष्ठको भनाइ छ ।

इतिहासका बारेमा लामो समयदेखि सोधखोज र लेखन गर्दै आएका पाल्पाका नागरिक अगुवा श्रेष्ठले जितगढी, नुवाकोट, स्यूराजलगायत यस क्षेत्रका ऐतिहासिक स्थलहरूका बारेमा मिहिन ढङ्गले सामग्री तयार पारेर पुस्तकसमेत प्रकाशन गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. १ स्थित जितगढी किल्ला नेपाल–अङ्ग्रेज (इष्ट इन्डिया कम्पनी) युद्धमा (वि.स.१८७१–७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो । बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यकासाथ अङ्ग्रेज गभर्नर लर्ड हेस्टिङ्ग्सको निर्देशन र अङ्ग्रेज सेनाका मेजर जनरल सुलीभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा रहेको हतियारधारी अङ्ग्रेज सेनालाई नेपाली वीर योद्धाले लडेर पराजित गरेका थिए ।

 हतियारले सुसज्जित अङ्ग्रेज फौजसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमानमा अदम्य साहस, रण कुशलता, पौरख एवं वीरताका साथ युद्ध गरी नेपालीले विजय हासिल गरेको भूमि हो जितगढी ।

सधैँझैँ यस पटक पनि जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ । वैशाख ७ गतेको ऐतिहासिक दिनको खुसीयालीको अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष जितगढी विजय उत्सव मनाउँदै आएको छ ।

बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकी र्याली पुलचोक गणेश मन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो। गणेश मन्दिर परिसरमा गोरखाबाट पैदल यात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जितगढी किल्लालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न र पर्यटक आगमनमा जोड दिन आवश्यक रहेको बताउनु भयो। उहाँले बुटवलमा रहेको जितगढी किल्ला यस क्षेत्रकै महत्त्वपूर्ण सम्पत्तिका रूपमा रहेको र यसको संरक्षण र प्रवर्द्धनमा सङ्घीय सरकारले समेत विशेष चासो दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्त्वपूर्ण सम्पदाका रूपमा प्रवर्द्धन गरिरहेको बताउँदै नेपाल अङ्ग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सङ्घ सरकारसँग माग गर्नुभयो उहाँले किल्लाको संरक्षणका साथसाथै पर्यटकीय स्थलका रूपमा स्थापित गर्न नगरले भरपुर प्रयास गरिरहेको बताउनुभयो।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको सम्पत्तिका रूपमा रहेको जितगढी किल्लाको संरक्षण र प्रवर्द्धनमा सबैको साथ जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याललगायतले बोल्दै बुटवलमा रहेको जितगढीको प्रवर्द्धन र प्रचारप्रसारमा तीव्रता आएको र यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
जितगढी विजय उत्सव: नेपालले विश्व विजेता अङ्ग्रेजलाई पराजित गरेको दिन
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link