दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँको परिचय फेरिएको छ । दराई समुदायको बसोबास रहेको बौदीकाली गाउँपालिका-२ डेढगाउँमा २०७५ सालदेखि होमस्टे सञ्चालन गरिएपछि गाउँको परिचय बदलिएको हो ।
जीविकोपार्जनका लागि खेतीपातीमा मात्र निर्भर दराई समुदायले होमस्टे सञ्चालन गरेर आम्दानी लिन थालेका छन् । ५ घरबाट होमस्टेको सेवा सुरु गरिएको गाउँमा अहिले १० घरले होमस्टे चलाउन पाहुना घर बनाएका छन् । होमस्टेमा अहिले २० जना पाहुनालाई एकैसाथ राख्न सक्ने क्षमता छ । यस गाउँमा ३५ घरधुरी दराई जातिको बसोबास छ ।
कालीगण्डकी नदी किनारमा रहेको दराई बस्तीमा सञ्चालित होमस्टेले दराई जातिको कला संस्कृति प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सामुदायिक होमस्टेका अध्यक्ष कमल दराईले बताए ।
‘होमस्टे सञ्चालनमा आएपछि अहिले गाउँ पनि सफा र सुन्दर भएको छ, पाहुनालाई स्थानीय परिकार खुवाएर होमस्टेमा राख्छौं”, उनले भने, ‘नयाँ नयाँ ठाउँका मानिसको आउजाउ हुन थालेपछि गाउँमा धेरै चिज परिवर्तन भएको छ ।’
होमस्टेमा दराई जातिको खानाका परिकारका साथै स्थानीय उत्पादनबाट पाहुनाको रुचि अनुसारका खानेकुरा तयार गरिन्छ । होमस्टेले दराई समुदायका महिलालाई आत्मनिर्भर हुन सिकाएको अध्यक्ष कमल दराईले बताए ।
जिल्लाकै अमलटारी होमस्टे राष्ट्रिय रुपमा स्थापित भएपछि पहाडी भेगमा सञ्चालन भएको यो दराई होमस्टेले छुट्टै पहिचान बनाएको छ । पछिल्ला वर्षमा दराई सामुदायिक होमस्टेमा पहुनाको आकर्षण बढ्दै गएको व्यवस्थापक सिद्र्धिपूर्णी दराईले जानकारी दिए ।
होमस्टेमा आउने पाहुनालाई दराई संस्कार अनुसार फूलको गुच्छा, कलशमा पानी, दियो बालेर स्वागत गर्ने गरिन्छ । साँझमा दराई जातिको कौरा, झ्याउरे लगायतका नृत्य प्रस्तुत गरेर पहुनालाई मनोरञ्जन दिने गरिएको छ ।
दराई बस्ती आसपासमा रहेका ऐतिहासिक धार्मिकस्थल, प्रसिद्ध अकला मन्दिर, बालीघाट, हरियाली डाँडा, कालीगण्डकी नदी लगायतका रमणीयस्थलको अवलोकन गर्न सकिन्छ । होमस्टेमा अहिले दैनिक १० जना पाहुना बास बस्ने गरी आउने गरेको होमस्टे सञ्चालक समितिले जनाएको छ ।
दराई समुदायको मुख्य बसोबास नवलपरासी (बर्दघाट सुस्तपूर्व)सँगै तनहुँ, चितवन र गोरखा जिल्लामा छ । विसं २०७८ को जनगणना अनुसार नेपालमा दराई समुदायको जनसंख्या १८ हजार छ सय ९५ मात्र रहेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
