धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन्। सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन्। दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ। पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो।
गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो। श्रीमान्ले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए। उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव उपरीक्षक अवालेले बताउनुभयो।
“घटनापछि दुवै दाजु–भाइ भारतमा काम गर्न गएको खुलेको छ”, उहाँले भन्नुभयो। दुवैजना गत वर्ष कात्तिक ३० गते घर फर्किएका थिए। दाजुभाइले खाल्डोबाट शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ।
हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताउनुभयो। अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उहाँले बताउनुभयो। प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ। शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
- रियल मड्रिड: विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
- बस्तीमा बाढी पस्दा २२ घर डुबानमा
- बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
- बजेटमार्फत विभिन्न शीर्षकका करसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर
- आइएमएफले ५० करोड डलर ऋण युक्रेनलाई दिने
