नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् ।
कागजजन्य फोहर सङ्कलन गरी अण्डा राख्ने क्रेट बनाएर उनीहरूले नगरको सरसफाइमा योगदान गरेका छन् भने त्यसलाई आय आर्जनको स्रोत पनि बनाएका छन् ।
जिल्लाको सहरी क्षेत्रमा फालिएका कागजजन्य वस्तुलाई सङ्कलन गरेर त्यसलाई पुनः प्रयोग गर्ने उद्देश्यले यहाँका सातजना युवा मिलेर ग्रिन हाइलाइट प्रालि स्थापना गरेका हुन् । जिल्लालाई सफा राख्ने र केहीलाई रोजगारी दिएर आय आर्जनको बाटो बनाएको उक्त अभियानका साथ स्थानीयलाई रोजगारी दिएर सुरु गरिएको यो उद्योग समस्यामा परेको छ ।
सुरुमा प्रतिगोटा रु सातका दरले बिक्ने क्रेट अहिले प्रतिगोटा रु चारमा पनि बिक्न मुस्किल छ । यसअघि यसले राम्रै बजार पाएको भए पनि विद्युत् नियमित नहुने र भारतीय क्रेटसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था यस उद्योगले झेल्नुपरेका कारण समस्या बढ्दै गएको हो ।
उत्पादन भएका क्रेट स्थानीय रामेछापका बजार, सिन्धुली दोलखा, ओखलढुङ्गा र काठमाडौँसम्म लगेर बिक्री गर्ने गरिएको थियो । तर अहिले राम्रो बजार नपाएपछि निर्माण गरिएका क्रेट गोदाममै थन्किएर बसेका छन् । मेसिन बेलाबेलामा बिग्रने, पार्टपुर्जा सर्वसुलभ नहुने भएकाले उद्योगमा समस्या आएको उद्योग सञ्चालक सुनिल रायले बताउनुभयो ।
उद्योगमार्फत प्रत्येक शनिबार जिल्ला सदमुकाम मन्थलीलगायतका अन्य सहरी क्षेत्रमा कागजजन्य फोहर प्रतिकिलो रु १० का दरले खरिद गरी त्यसलाई प्रशोधन गरेर विभिन्न साइजका अण्डा राख्ने क्रेट बनाउने गरिएको छ । यस उद्योगमा महिला एवं पुरुष गरी १५ जनाभन्दा बढीले रोजगारी पाएको अर्का सञ्चालक जयराम मानन्धरले बताउनुभयो ।
उद्योग स्थापना हुनुअघि आफ्नो घर तथा पसलबाट निस्कने फोहरलाई पैसा तिरेर नगरपालिकाको गाडीमा पठाउनुपर्ने बाध्यता भए पनि अहिले भने काजगजन्य फोहर बिक्री गर्न पाउँदा आफूलाई खुसी लागेको उप्रेती स्टोर्सका प्रोप्राइटर रामहरि उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, “कागजजन्य वस्तुजस्तै प्लास्टिकजन्य वस्तु पनि यसैगरी उठाउने हो भने मन्थली बजार सधैँ सफा हुने थियो ।”
अण्डाको क्रेटसँगै यस उद्योगले सिमेन्टका ब्लक पनि निर्माण गरेको छ । प्लास्टिकजन्य र फलामका टुक्रालाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने वस्तु निर्माण गर्ने उद्योगको योजना छ । स्थानीय तहमा उत्पादन हुने वस्तुलाई सम्बन्धित पालिकाले प्राथमिकता दिनुपर्नेमा उद्योगका सञ्चालक रुद्रकुमार श्रेष्ठ बताउनुहुन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
