सकियो लगानी सम्मेलनः के भयो त?

सरकारले काठमाडौँमा आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ समापन भएको छ। आइतबारदेखि सुरु भएको सम्मलेन वैशाख १७ मा  पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समापन गर्नुभयो।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन सचिवालयका संयोजक सुशील भट्टका अनुसार सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको बताउनुभयो। सम्मेलनबाट नेपालमा लगानीका लागि महत्वपूर्ण प्रतिबद्धता प्राप्त भएको उहाँले दाबी गर्नुभयो।

“तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त गरेका छौँ। ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रहरूमा हाम्रा प्राथमिकता र सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक रुचाइएको तथा आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्न सफल भएका छौँ”, भट्टले भन्नुभयो, “आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डका नौ परियोजनासहित कूल एक सय ५४ परिरयोजना प्रस्तुत गरिएको थियो। यसबाहेक विभिन्न चरणमा रहेका अरू परियोजना पनि प्रदर्शन गरेका छौँ।”

सम्मेलनका क्रममा लगानीकर्ताहरुसँग महत्वपूर्ण छलफल भएको पनि प्रमुख कार्यकारी अधिकृत भट्टले बताउनुभयो। “प्रधानमन्त्री र अर्थमन्त्रीसँग लगानीकर्ताको प्रत्यक्ष छलफल र साक्षात्कार भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मात्र एक दर्जनभन्दा बढी प्रत्यक्ष बैठक बसेका छन्”, उहाँले भन्नुभयो, “विश्व बैङ्क समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन्।”

यो सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा स्वीकार गरेको जिकिर पनि प्रमुख कार्यकारी अधिकृत भट्टले गर्नुभयो। लगानीकर्ताहरु  नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उहाँको भनाइ छ।

“लगानी सम्मेलका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउन लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको छ। यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका छन्”, उहाँले भन्नुभयो।

सम्मेलनका क्रममा आयोजना भएका विभिन्न सत्रले नेपालको लगानी परिदृश्य उजागर गरेका गरेको उहाँको भनाइ छ। “सम्मेलनका क्रममा पहिचान र सृजना भएका व्यावसायिक अवसरले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचुर सम्भावना पेस गरेको छ। लगानीसम्बन्धी ऐनमा सुधारका लागि अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्ताहरूको निरन्तर चासो र अनुरोधलाई सम्बोधन गर्न सरकारको प्रतिबद्धतालाई ध्यानमा राख्दै सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनलगायत लगानीसम्बन्धी ऐन संशोधन गरेको छ भन्ने सन्देश हामीले दिएका छौँ,” भट्टले भन्नुभयो, “सम्मेलनको माध्यमबाट विश्व लगानी समुदायका लागि नेपालमा उपलब्ध प्रचुर सम्भावनामा लगानी आकर्षित गर्ने क्षमता मात्र होइन, सुधारिएको लगानीको वातावरण पनि प्रदर्शन गरेका थियौँ।”

समापन सत्रमा पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पाटी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको विकास र समृद्धिको साझा आकाङ्क्षा पूरा गर्नका लागि लागि सबै राजनीतिक दलको साझा प्रतिबद्धता रहको बताउनुभयो। नेपाल लगानीका लागि नयाँ गन्तव्यका रुपमा स्थापित हुँदै गएको उल्लेख गर्नुहुँदै उहाँले लगानीको सुरक्षा प्रत्याभूतिका लागि नेपाल सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। नयाँ नीति र लगानीका सम्भावनाबारे लगानीकर्तालाई विस्तृतमा जानकारी दिन यो सम्मेलन सफल भएको धारणा उहाँले राख्नुभयो।

समापन सत्रमा बोल्नुहुँदै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लगानी वातावरण बनाउनका लागि नेपालले गरेका नीतिगल सुधारबारे लगानीकर्तालाई जानकारी दिन र उनीहरुका सुझाव तथा प्रतिक्रिया लिन यो सम्मेलन सफल भएको बताउनुभयो। सम्मेलनमार्फत सरकार र प्रतिपक्ष दलबाट पनि नेपालमा लगानी वातावरण सुधारका लागि उच्च राजनीतिक प्रतिबद्धता प्राप्त भएको बताउनुभयो। नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्नुभयो।

“आर्थिक विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको सन्देश दिन सफल भएका छौँ। लगानीको समग्र पारस्थितिक प्रणालीमा सहजीकरण गर्न, लगानीको सुरक्षा प्रत्याभूति तथा सजिलै लगानी फिर्ता लैजाने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको छ”, उहाँले भन्नुभयो । सबै लगानीका क्षेत्रमा समन्वय र सहजीकरणका लागि सरकारका तर्फबाट प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

सम्पन्न सम्झौताहरू

दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन्। लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनबाट स्वदेश तथा विदेशका लगानीकर्ताले नेपाल लगानीको आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिन  सफल भएको बताउनुभयो। लगानीकर्ता  नेपालमा लगानीका अवसरहरू खोज्न इच्छुक रहेको पनि उहाँको भनाइ छ।

“लगानी सम्मेलका क्रममा सार्वजनिक निजी साझेदारी अवधारणालाई अगाडि बढाउनका लागि समझदारीपत्रसहित करिब एक दर्जन समझदारीमा हस्ताक्षर भएको छ। यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका छन्,” उहाँले भन्नुभयो।

सम्मेलनका क्रममा आइतबार तीनवटा सम्झौता सम्पन्न भएका थिए। डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो। उक्त सम्झौतामा बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको थियो।

त्यसैगरी, आइतबार नै नेपाल उद्योग वाणिज्य महासङ्घ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको थियो। महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष टान सी डाटो थायन लाईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो। त्यसैगरी, महासङ्घले फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता गरेको छ।

लगानी सम्मेलनको दोस्रो दिन  वैशाख १७ मा  नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपीपी) प्रवर्द्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ। उक्त समझदारीपत्रमा वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभयो। उक्त समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पिपीपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ। नेपालमा भौतिक पूर्वाधार तथा पिपीपी पाइपलाइन सुदृढीकरण, पिपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयुक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन्।

यस सहकार्यले नेपालमा पिपीपीसम्बन्धी ज्ञान, अनुभव तथा क्षमता अभिवृद्धिका साथै तथा पिपीपी परियोजनाहरूको सुदृढीकरणमा सहयोग पुग्ने नापका अध्यक्ष अनुपकुमार उपाध्यायले बताउनुभयो। “यस समझदारीले पिपीपीका क्षेत्रमा लामो अनुभव, अनुसन्धान र व्यावहारिक ज्ञान हासिल गरेको र विशिष्टीकृत संस्थाका रूपमा विश्वव्यापी पहिचान बनाएको वापसँग सहकार्यको ढोका खुलेको छ,” उपाध्यायले भन्नुभयो।

वापका अध्यक्ष जियाद–अलेक्जेन्डर हायकले पिपीपी परियोजना कार्यान्वयनमा नेपालको लामो अनुभव रहेको र खासगरी जलविद्युत् एवं स्वच्छ ऊर्जाका क्षेत्रमा नेपालमा पिपीपीले रूपान्तरण ल्याएको उल्लेख गर्नुहुँदै नेपालको आफ्नै अनुभव पनि अद्वितीय रहेको बताउनुभयो।

स्विजरल्यान्डको जेनेभामा मुख्यालय रहेको वाप पिपीपीका क्षेत्रमा अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय असल अभ्यास प्रवर्द्धन गर्ने गैरसरकारी संस्था हो। त्यस्तै, नाप नेपालका पिपीपी अभ्यासकर्ताहरूको संस्था हो।

सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबीच होटल व्यवसायमा सहकार्यसम्बन्धी सम्झौता भएको छ।

त्यसैगरी, चिनीयाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुईवटा समझदारी सम्पन्न भएका छन्। ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो।

नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछभने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ। यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो।

यो लगानी सम्मेलनमार्फत मुगु जिल्लाको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ। उक्त रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो। उक्त लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गर्नुभयो। मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब रु ७० करोड बराबर लगानी गर्न लागिएको शाहले बताउनुभयो। यो परियोजना निर्माणका लागि दोस्रो चरणमा करिब रु ४० करोड बराबर लगानी गरिने जनाइएको छ। यो रिसोर्ट डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको जनाइएको छ। स्थानीय स्रोत साधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी यो रिसोर्ट निर्माण हुनेछ। रिसोर्टको विस्तृत परियोजना प्रतिवेदन बनिसकेको शाहले बताउनुभयो।

त्यसैगरी, सम्मेलनका क्रममा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एसोएिएसन (आइआइए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आइआइएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गर्नुभयो। नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा हित प्रवर्द्धनका लागि सहकार्य गर्न यो सम्झौता भएको एफएनआइसीका महासचिव खिमनारायण पराजुलीले जानकारी दिनुभयो। दुई देशका निजी क्षेत्रबीच भएको यो सम्झौताले मुख्यगरी व्यापारका क्षेत्रमा सहजीकरणका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ। नेपाल उद्योग व्यापार महासङ्घले आजै चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडसँग पनि नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ।

तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ। उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिनुभएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु छ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि रु तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि रु सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि रु छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ।

विभागले वैशाख १७ मै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ। नेपाल सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी यही वैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार शत्प्रतिशत शेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ।

विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।  वैशाख १७ मा  लगानी सम्मेलनको दोस्रो दिन  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्हरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। उक्त समझदारीमा राष्ट्रिय समन्वय परिषद्का तर्फबाट रमेश भट्ट कतार, राजकुमार श्रेष्ठ बहराइन, विनोद थापा मलेसिया, विनोद श्रेष्ठ इराक, विकास शाही युएई, विकल झा ओमन र टीकाराम खरेल जापानले हस्ताक्षर गर्नुभएको थियो। यो सम्मेलनका क्रममा नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाका व्यावसायिक प्रतिनिधिबीच व्यापार सहजीकरण र पर्यटन क्षेत्रमा लगानी सहजीकरण गर्नका पनि समझदारी भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link