स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी : संयोजनको नौलो अभियान

आगामी महिना (२०७९ वैशाख ३०) हुन लागेको स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र उमेदवारी अभियान मार्फत देशभरबाट २ हजार जनाले उम्मेदवारीको घोषणा गरिसकेको समाचार छ। स्वतन्त्र उम्मेदवारी अभियानले गरेको सर्वेक्षणमा उम्मेदवारीको आकांक्षा राखेर फारम भर्नेहरूको संख्या समेत ४६ सयभन्दा बढी रहेको भनिएको छ। बिहिवार नयाँ वानेश्वरको मूल सडकमा स्थानीय सरकारका लागि स्वतन्त्र उम्मेदवारी अभियान ले पत्रकार सम्मेलन गर्दै यो कुरा सार्वजनिक गरेपछि यसले चुनावी माहौलमा एक किसिमको तरङ्ग पैदा गरेको छ।

स्वतन्त्र उम्मेदवारी अभियानमार्फत हालसम्म १९ सय ९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको अभियानले बताएको छ।प्रदेश१ बाट ३४७ जना, मधेश प्रदेशबाट ३०९, बागमती प्रदेशबाट ३६४ जना, गण्डकी प्रदेशबाट २८६ जना, लुम्बिनी प्रदेशबाट २६५, कर्णालीबाट १८८ र सुदूरपश्चिम प्रदेशबाट २३९ जनाले उम्मेदवारीको घोषणा गरिसकेको बताइएको छ। यो अभियानमार्फत देशभरबाट हालसम्म कूल ४६५७ जनाले उम्मेदवारी हुने इच्छासहितको फारम भरेको अभियानद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।

इन्डिपेन्डेन्ट क्यान्डिडेसी क्याम्पेन नेपाल (आइसीसी नेपाल) नाम दिइएको अभियान घोषणा गर्नुअघि अहिलेका जल्दाबल्दा र चुनाव लक्षित फरकफरक विषयमाथि ६६ विज्ञहरूको राय लिइएको बताएको छ। नेपालमा स्वतन्त्र उम्मेदवारी आवश्यकता छ की छैन ? यस अभियानमा तपाईं सहभागी हुन चाहनुहुन्छ की हुन्न ? अभियान सञ्चालनको क्रममा आउने राजनीतिक दलको अवरोधलाई कसरी समाधान गर्न सकिएला लगायतका ११ प्रश्नहरू विज्ञहरूलाई सोधिएको विज्ञप्तीमा उल्लेख छ

सर्वेक्षणमा सहभागी अधिकांश विज्ञले जनताको घरदैलोसँग प्रत्यक्ष जोडिएको निकाय भएकाले स्थानीय सरकारलाई दलीय रूपमा मुक्त गर्नुपर्ने राय दिएको अभियानले जनाएको छ। राजनीतिक दलहरूकै कारण आजसम्मका स्थानीय सरकारले  डेलिभरी दिन नसकेको सर्वेक्षणको निष्कर्ष छ ।

त्यस्तै चुनावमा बढेको खर्चका कारण भ्रष्टाचार बढेकाले चुनावमा हुने खर्चको सीमा तोक्न अभियानको माग छ। चुनाव खर्च बिना पनि गर्न सकिन्छ भन्ने कुरालाई सांकेतिक रूपमा व्यक्त गर्न सडकमै पत्रकार सम्मेलनको आयोजना गरिएको अभियानले बताएको छ।

अभियानले तीन तहमार्फत आफ्नो एजेण्डा जनता समक्ष लैजाने बताएको छ। पहिलो तहमा मेन्टर वा सल्लाहकार समूह हुने जसमा स्थानीय सरकार सञ्चालन, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रका विज्ञ रहने विज्ञप्तीमा उल्लेख छ। दोस्रो तहमा कार्यकारी समिति रहने र यसले उमेदवार र अन्य आवश्यक संयन्त्र जस्तैसंघसंस्था, सञ्चारमाध्यम बिचको पुल बनेर व्यवस्थापनको काम गर्नेछ। तेस्रो तहमा कर्मचारी र स्वयम्सेवकहरू रहने जसले विभिन्न तहसँग सम्पर्क र समन्वय गर्ने अनि योजनाहरूको डिजाइन तयार पारेर त्यसलाई कार्यान्वयनमा लैजान सघाउने बताइएक छ।

स्वतन्त्र उम्मेदवारी अभियानको मुख्य उद्देश्य स्थानीय तह दलीय राजनीतिमुक्त हुनुपर्छ भन्ने रहेको अभियानका संयोजक डम्मर साहुले बताएका छन्। यो अभियान कुनै एक दल वा समूह नभई देशभरबाट स्वतन्त्र रूपमा स्थानीय तहको उम्मेदवार बन्न चाहनेको साझा थलो भएको पनि उनले बताएका छन्। स्थानीय तहमा स्वतन्त्र उम्मेदवार दिन तयार भएका स्वच्छ छवि, नैतिक र इमान्दार जो कोही पनि यो अभियानमा जोडिन सक्ने जानकारी पनि संयोजक साहुले दिएका छन्। 

डम्मर साहुको संयोजनमा आयोजित कार्यक्रममा समूहका तर्फबाट डा. वीरेन्द्र झापाली, डा. सुरेन्द्र भण्डारी, अधिवक्ता स्वागत नेपाल, गणेशकुमार मण्डल, बद्री खतिवडा, पिंकी गुरुङ लगायतका समाजका विभिन्न क्षेत्रका व्यक्ति र दर्जनौँ युवा स्वयंसेवकहरूको उपस्थिति थियो।

नेपालको सन्दर्भमा यस किसिमको प्रयोग निःतान्त नौलो र साहसिक मानिएको छ। तर समाजको हरेक क्षेत्रमा दलहरूकै वर्चश्व रहेको र जनभावनालाई पनि समेट्न सक्नुपर्ने हुनाले यो कदम त्यतिकै चुनौतिपूर्ण रहेको प्रतिक्रिया आएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी : संयोजनको नौलो अभियान
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link