राजश्व सम्बन्धी अस्थिर नीतिले आफूहरू मारमा परेको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् । सरकारले राजश्वलाई मात्रै ध्यान दिँदा त्यसको मारमा उद्योगी व्यवसायी परेको उनीहरूको भनाई छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तथा आर्थिक विधेयकका कारण उद्योग व्यवसायमा पार्ने प्रभाव विषयमा बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरूले सरकारको अस्थिर नीतिका कारण उद्योगी व्यवसायी पलायन हुने स्थितिमा पुगेको बताएका थिए ।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सांसदबाट पास भएर आएको ऐन कार्यान्वयन गर्नुको विकल्प नभएको बताउँदै झन्झटिला कुराहरूमा सहजिकरण गर्ने र छिटो छरितो कार्यसम्पादन मात्रै हुन सक्यो भने पनि उद्योगी व्यवसायीलाई राहत मिल्ने भनाई राख्नुभयो । उहाँले राज्यले गर्नुपर्ने कर सचेतनासँग सम्बन्धित कार्यक्रम निजी क्षेत्रबाट उद्योग वाणिज्य सङ्घले गरेकामा पनि आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारले ल्याएको बजेट राजश्व केन्द्रित रहेको र अव्यवहारिक कर नीतिले बन्द हुने स्थितिमा रहेका उद्योग व्यवसाय अव पलायन हुने स्थितिमा पुगेको बताउनुभयो ।
उहाँले उद्योगी व्यवसायीलाई करको व्यवहारिक पक्षको बारेमा जानकारी गराउन र अज्ञानताका कारण हुन सक्ने कमीकमजोरी कसरी हटाउन सकिन्छ भन्ने उद्देश्यले सम्बन्धित निकायका प्रतिनिधि र विज्ञहरूसँग साक्षात्कार गर्ने गरी कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो ।
त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले ल्याएको बजेट र राजश्व नीति अव्यवहारिक र अवैज्ञानिक रहेको बताउँदै त्यसले निजी क्षेत्रलाई निरुत्साहित बनाएको बताउनुभयो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य तथा उद्योग समितिका सभापति राजेश अग्रवालले सरकारले ल्याएको बजेट तस्करहरूलाई प्रोत्साहन गर्ने गरी ल्याइएको आरोप लगाउनु भयो । ‘कर बढाइएको छ, तर राजश्व घट्ने वाला छ ।’ उहाँले भन्नुभयो–‘बजेट अवैज्ञानिक छ, यो बजेटले तस्करीलाई प्रोत्साहन गर्छ ।’ अहिले यो देशबाट विद्यार्थी पलायन भएजस्तै उद्योगी व्यवसायी पनि पलायन हुने स्थिति आउने उहाँले बताउनुभयो ।
त्यस्तै उद्योग व्यापार सङ्घ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डेले ऐनमा वर्षैपिच्छे हुने परिवर्तनले उद्योगी व्यवसायीलाई के गर्ने भन्ने अन्योल सिर्जना गराएको बताउनु भयो । कार्यक्रम सङ्घका महासचिव मुक्ति अधिकारीको सञ्चालनमा भएको थियो ।
त्यस अवसरमा कर तथा राजश्व सम्बन्धी प्यानल डिस्कसन गरिएको थियो । प्यानल डिस्कसनमा बुटवल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, भन्सार एजेन्ट सङ्घका अध्यक्ष मधु पन्थी, आन्तरिक राजश्व कार्यालय बुटवलका कार्यालय प्रमुख ध्रुव पोखरेल र भैरहवा भन्सार कार्यालय रुपन्देहीका प्रमुख नारद गौतम रहनु भएको थियो । प्यानल डिस्कसनमा भन्सार तथा राजश्वमा भएको समस्या र नीतिगत व्यवस्था, उद्योगी व्यवसायीका समस्या र समाधानको खोजी गरिएको प्यानलिष्ट सिए प्रतिप भट्टराईले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
- वडाध्यक्षको तरकारीखेती मोह
- सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर
- जिमी कार्टरको राजकीय अन्त्येष्टिमा अमेरिकी शोक
- आदालतद्वारा रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश, समर्थकबीच खुसीको माहोल
- उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
- खोटाङकाे बुइपामा कोक, जुस, वियरलगायत आयातित पेयपदार्थमा प्रतिबन्ध
- अमेरिकाको लस एन्जेलसमा भीषण आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु
- सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह