आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् ।
लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ । कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।
विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
