अविरल बर्षासँगै गएको पहिरोले घर बगाउँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१९ तललाकोट टारी ७ जना, वडा नम्बर ३२ चैनपुरमा ३ जना र मादी गाउँपालिकामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा पोखरा–१९ तल्लाकोट टारीका ४६ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, आमा ८५ वर्षीय लक्ष्मी परियार, छोरी १५ वर्षीय प्रशना परियार, छोरी चितवन घर भएकी प्रभा परियार, ज्वाँइ २५ वर्षीय अस्मित परियार र छिमेकी ५६ वर्षीय राधिका परियार रहेका छन् ।
पहिरोमा परेकी छोरी प्रभा र ज्वाँइ अस्मित चितवनबाट ससुराली पोखरा आएका थिए भने छिमेकी राधिका उद्धारमा गएका बेला लडेर मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
पहिरोमा परेर मृत्यु भएकी राधिकाको छोरा ३१ वर्षीय कुमार परियार र मृतक कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार घाइते छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
पहिरोले घर बगाउँदा पोखरा– ३२ चैनपुर बाह्रबिसेमा ३ जनाको मृत्यु भएको छ।
गएराती करिब सवा २ बजे पहिरोले घर पुरिएर ४० वर्षीय आरती ओझाको घर पुरिँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरतीका ११ वर्षीय छोरी अनुष्का ओझा, १८ वर्षीय अनिता ओझा र आरतीका दाइका छोरा ९ वर्षीय प्रतिक सुवेदी रहेको एसपी थापाले जानकारी दिए ।
पहिरोमा परेकीआरती घाइते छिन्। उनको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
कास्कीकै मादी गाउापालिका–११ मा तल्लाकोट चाप्लेमा पहिरोले घर पुरिँदा ८० वर्षीय मैतकुमारी गुरुङको मृत्यु भएको छ । उनका छोरा ५५ वर्षीय ओमबहादुर गुरुङको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी
- पर्यटकीय क्षेत्र पिकेडाँडा जहाँ सञ्चारको सुविधा नहुँदा पर्यटकलाई मर्का
- अमेरिकी सपना: मानव तस्करको चङ्गुलदेखि ह्वाइट हाउससम्म
- इजरायल र लेबनानबीच युद्धविरामको सहमति
- कालीगण्डकीमा बन्द भयो जलयात्रा
- विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुन्छ : संयुक्त राष्ट्रसङ्घ
- सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढे
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो