गत साउन ३२ गते शुक्रबार बिहानदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो । हिमाली भेग तुवाँलाले ढाक्नाका साथै बर्सात भइरहेको बेला हुस्सु पनि लागेको हुन्छ । तीन हजार आठ सय मिटर उचाइमा पर्ने थामेमा करिब ६५ परिवारको बसोबास गर्दै आएका छन् ।
थामे क्षेत्र सुन्दर र मनोरम उपत्यकाका र पर्यटकीय स्थलका रुपमा परिचित छ । गत साउन ३२ गते गाउँको माथिबाट ठूलो आवाज गर्दै लेदोसहितको बाढीपहिरो आयो । उच्च समस्थली भूभाग, थामेमा कृषि उत्पादन हुने गह्रामा बाढीपहिरोसँगै आएका ठूलाठूला ढुङ्गाहरु बसेका खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताए ।
“संयोग भन्नुपर्छ दिउँसोको समयमा घटना भयो । अफसिजन भएकाले पनि पर्यटक थिएनन् । त्यसैले मानवीय क्षति हुन पाएन । नाम्चेमा शुक्रबार हाट लाग्ने भएकाले दिउँसोको समयमा बाढी गएकाले स्थानीय नाम्चेबजार झरेका, कति गोठाला गएका थिए । बाढीपहिरोको कटानका कारण थामे बगरमा परिणत भएको छ । मन थाम्न सकिने अवस्था छैन”, उनले भने ।
थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही भदौ ५ गते काठमाडौँस्थित सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुईवटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि गरेको थियो ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षाका कारण जलसतह बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको जानकारी गराए । त्यहाँको पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको प्राविधरणको प्रारम्भिक अनुसन्धानले देखाएको उनले जानकारी दिए ।
हिउँ पग्लेकाले पानी र त्यसको केही छाल तल्लो तालमा गएर बजारिएर ठूलो रुप लिएको प्रमुख पोखरेलले उल्लेख गरे । उनका अनुसार यस बाढीबाट बीसभन्दा बढी घरहरूमा क्षति पुगेको छ । थामे आधारभूत विद्यालय, स्वास्थ्य चौकी र छात्रावास पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने बाँकी घरहरुमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् । उनका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा रहेको नौ सय ५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा सोही बाढले क्षति पुर्याउँदा करिब नौ सय घर अन्धकारमा बस्न बाध्य छन् ।
बाढी आएको भोलिपल्ट सङ्घीय सरकारका रक्षामन्त्रीसहितको टोली थामे गाउँमा पुगी प्रतिघर रु १५ हजारका दरले वितरण भएको रकमखुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको प्रजिअ खत्रीले बताइन् । “खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात बाढी आएको थियो । अहिले एक सयबढी विस्थापितलाई तल्लो थामेमा अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको छ”, उनले भनिन् ।
बाढी पुनः आउनसक्ने जोखिमलाई दृष्टिगत गरी तीनवटा सुरक्षा निकायको सहयोगमा आंशिक क्षति भएका घरहरूबाट अत्यावश्यक सामान निकाल्ने काम भइरहेको प्रजिअ खत्रीले जानकारी दिइन् । पूरै थामे क्षेत्रमा ढुङ्गा, गिट्टी र लेदो मिश्रित गेग्रान भरिएकाले अप्रत्यक्ष रूपमा गाउँ प्रभावित बनेको उनको भनाइ छ ।
थामे गाउँमा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रजिअ खत्रीले बताइन् । उनका अनुसार थामेको शिरमा पाँचवटा साना–ठूला हिमताल छन् । गत साउनमा दुईवटा हिमताल फुटेको भन्दै अरू पनि जोखिममा रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिइन् । ६५ घरका करिब एक सय २० जना विस्थापित बनेका छन् । अहिले माथिल्लो थामे क्षेत्र (थामे थिङ)मा कोही आफन्तको घरमा, सामुदायिक भवन, गुम्बा र अन्यन्त्र बसिरहेका उनको भनाइ छ ।
पालिकाको केन्द्रबाट थामे पुग्न करिब १० घण्टा हिँड्नुपर्छ । गाउँ र सहर आवतजावत गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्थाको गाउँमा बाहिरबाट राहत लगेर बाँड्न सहज नभएको प्रजिअ खत्रीले बताइन् । सिङ्गो गाउँ प्रभावित भएकाले आसपासका आफन्तले पनि धेरै दिन आश्रय दिनसक्ने अवस्था नरहेको भन्दै तत्काल बसोबासको व्यवस्था गर्नुपर्नेमा खत्रीले जोड दिइन् ।
गाउँका अधिकांश पुरुष पर्यटन व्यवसाय, वैदेशिक रोजगारीका क्रममा गाउँबाहिर छन । यहाँ धेरैजसो महिला र बालबालिका बस्छन् । जीवनभर दुःख गरेर जोडेको सम्पत्ति, घरघडेरी, लत्ताकपडा, गरगहनासहितका सामग्री बाढीले बगाएको स्थानीय तारा शेर्पाले दुखेसो पोखिन् ।
तत्कालका लागि बासस्थान र भविष्यमा काम गर्ने वातावरण मिलाइदिन थामेका स्थानीयले सरकारसँग माग गरेका छन् । “सबैथोक गुमाएपछि हामीलाई जीविकोपार्जनमा समस्या भएको छ । आफन्तसँग आश्रय लिएर कति दिन बस्ने?”, ताराले प्रश्न गरिन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र यसले अनिष्ट निम्त्याउने सङ्केत देखिएको अनुसन्धानका क्रममा स्थानीयले बताएका उल्लेख गरे। “हिमताल फुट्नुका कारण तापक्रम बढ्नु हो । जुलाई र अगस्तमा तापक्रम बढी भएकाले पनि यस्तो भएको हो”, उनले भने ।
थामेको शिरमा रहेका ताल विस्फोट भएर तल्लो तटीय क्षेत्र खण्डहर हुनुमा जल तथा मौमम विज्ञान विभागले दुईवटा कारण औँल्याएको छ । हिमताल दुईभन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह (ग्राउन्ड सर्फेस) मा आएको भूक्षय, भूपरिवर्तन (कम्पाउन्ड क्यासकेडिङ इफेक्ट) ले हिमताल विस्फोट भई तटीय क्षेत्र खण्डहर तुल्याएको विभागका वरिष्ठ जलवायुविज्ञ सुनील पोखरेलले उल्लेख गरे ।
विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलसहित जलवायुविज्ञहरू निराकार थापा, मौसम भण्डारी, जोसन महर्जन र सुमित अधिकारीले उक्त घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका छन् । पछिल्ला दिनमा हिमाल पग्लिने क्रम सुरु भएसँगै हिमतालको आकार र सङ्ख्या वृद्धि भइरहेको अनुसन्धानले देखाएको उनको भनाइ छ ।
“हिमतालको पानी निकास गर्न ठूलो धनराशि जुटाउनुपर्ने हुन्छ । हिन्दू–कुश हिमालय क्षेत्रमा जोखिममा रहेका ४७ हिमतालमध्ये २१ वटा नेपालमा छन् । सन् २०१६ मा सगरमाथा क्षेत्रको पाँच हजार मिटरको उचाइमा अवस्थित इम्जा हिमतालमा पानीको सतह घटाउन सात दशमलव दुई मिलियन अमेरिकी डलर खर्च भएको थियो । राष्ट्रसङ्घीय वातावरण कोषको सहयोगमा पानी घटाइएको इम्जा हिमतालको जोखिम अहिले पनि छ”, जलवायुविज्ञ पोखरेलले भने ।
वैज्ञानिकहरूले जोखिममा रहेका भनिएका नेपालका २१ हिमतालमध्ये ठुलागी, होङ्गु, तल्लो बरुण र लुम्दिङ छोको पानी तत्कालै निकास गर्नुपर्ने बताएका छन् । पानी तत्कालै निकास गर्न ठूलो धनराशिको आवश्यक पर्ने बताउँदै जोखिम कम नगरे त्यसले निम्त्याउने असर विकराल हुने आङ्कलन गरिएको जल तथा मौमम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलले बताए ।
खुम्बु क्षेत्रमा गत साउन २५ गतेदेखि दैनिक औसत तापक्रम वृद्धि भएर ९.७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको थियो । साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियसम्म पुगेको थियो भने त्यहाँका हिमतालको आकार बढ्दै गएको थियो ।
खुम्बु क्षेत्रको हिमतालबारे अध्ययनमा समेत संलग्न जलवायु परिवर्तन विज्ञ सुमन ठकुरीका अनुसार एक दशकअघिको अध्ययनअनुसार सगरमाथा क्षेत्रमा साना–ठूला गरी छ सय २६ वटा हिमताल थिए । अहिले हिमतालको सङ्ख्या बढ्दो क्रममा रहेको पछिल्लो अध्ययनहरुले देखाएको छ ।
बस्ती बीचबाट बग्ने थामे खोलाले साउन ३२ गते भने आफ्नो आकार परिवर्तन गरी सुन्दर बस्तीमा क्षति गरेको जलवायु परिवर्तन विज्ञ ठकुरीको भनाइ छ । “सन् १९८५ अगस्ट ४ (२०४२ साउन २० गते) डिग्चो क्षेत्रबाट आएको बाढीले थामे खोलाको जलविद्युत् आयोजना बगाएको थियो । त्यतिबेला ३० घर, १४ पुल बगाउनाका साथै धेरै खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो”, उनले भने ।
सङ्घीय सरकारका सिनियर डिभिजन इञ्जिनियरसमेत रहनुभएका वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदीले थामेमा ३९ वर्ष अघिकोभन्दा गत साउनमा आएको बाढी ठूलो भएको बताए । “त्यस क्षेत्र आसपासमा रहेको स्याङ्गबोचे विमानस्थलमा विगत १५ दिनमा करिब एक सय ४८ मिलिमिटर वर्षा भएको तथ्याङ्क छ”, उनले भने ।
जलवायु परिवर्तनको तिब्र असरले गर्दा अहिले हिमाली भेगमा अत्याधिक पानी पर्न थालेको भूगर्भविद् द्विवेदीले जानकारी दिए । “बरफ जमेर बसेको ठाउँमा माटो पनि कमलो हुने, भिरमा जमेर रहेको बरफसहित माटोको ढिस्काले हिमपोखरी फुट्ने जोखिम बढेको हो”, उनले भने।
हिमाली क्षेत्रमा हुने बाढीपहिरोका घटना भविष्यमा पनि हुनसक्ने भएकाले सरकारले रोकथामको उपाय अपनाउनुपर्नेमा सरोकार भएकाले जोड दिएका छन् । विगतमा मनाङ, कागबेनी, मेलम्चीलगायत स्थानमा अस्वाभाविक बाढी आउँदा ठूलो क्षति भएका उदाहरण रहेका भन्दै प्राकृतिक विपद्को क्षति नियन्त्रण गर्न सरकारले गम्भीरपूर्वक योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा भूर्गभविद्ले जोड दिएका हुन् ।
थामेमा आएको बाढीबारे थप अनुसन्धान गरी दीर्घकालीन समाधानका उपाय निकाल्न सांसदहरुले माग गरेका छन् । यही भदौ २ गतेको राष्ट्रियसभाको बैठकको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले आवश्यक अनुसन्धान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न सङ्घीय सरकारसँग माग गरेका हुन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने
- नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक
- राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
- पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
- दमननाथ ढुङ्गानाको निधन