दसैँको नवदुर्गामा नेपालगञ्जका टोल–टोलमा स्थापना गरिने दुर्गा भवानीका मुर्ति स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् । कुनैबेला भारतीय सीमावर्ती क्षेत्रबाट खरिद गरेर ल्याइने मुर्ति अहिले यहीँका कालीगढले प्रशस्त बनाउने गरेका छन् । दुर्गाभवानीका आकर्षक मुर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छोटुले बताउनुभयो ।
नेपालगञ्जमै तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ । यसबाहेक जानकी गाउँपालिकामा पनि मूर्ति बनाउने गरिएको छ । दसैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूर्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा दसैको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवानका मूृर्तिमा पूजा गर्ने चलन छ ।
बाँकेको जानकी–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिन रात उहाँ माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ । सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरीभराउ छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आउनुभएका राजकुमारको यो पुख्र्यौली पेसा हो ।
“पहिला घरमा सानो–सानो मूर्ति बनाउथ्यौँ पछि ठूलो बनाउन लागे, दुर्गा मातालगायत सबै प्रकारको मूर्ति बनाउने गरेको छु”, राजकुमारले भन्नुभयो, “नवरात्रको बेला ‘सिजन’ हो, पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ, मेहनत धेरै छ ।”
उहाँका अनुसार रु २० देखि २५ हजारको एउटा मूर्ति बिक्री गर्दा रु चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ । राजकुमारले आफु जस्तै अन्य छ जनालाई रोजगारीसमेत दिनुभएको छ । उनीहरुले रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् । “सबैले आ–आफ्नै तरिकाले मूर्ति बिक्री गर्ने गरेका छौंँ, चिनेजानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ”, मूर्तिकार राजकुमारले भन्नुभयो, “धेरैजसो ‘रेगुलर’ ग्राहक छन्, तर चिनेको आधारमा एक जनालाई छुट गर्दा धेरै जनासँग घाटा खानुपरेको छ ।”
बाँकेमा माटोबाट भगवानको मूर्ति बनाउने मूर्तिकार सङ्गठित हुन सकेका छैनन् । त्यसका कारण मूर्तिको दरमा पनि एकरुपता छैन । बाँकेको सदरमुकाम नेपालगञ्जसहित कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दसैँको भोलीपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूर्तिको माग बढ्दै गएको पाइएको छ । दसैँको नवरात्रमा दुर्गाभवानीको मूर्ति राखेर पूजाआजा गर्ने परम्परा संस्कृतिको रुपमा विकास हुँदै गएको नेपालगञ्जका अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर निर्धारण
- बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई हेर्दा
- इरान-इजरायलबिच तनाव कायमै
- सातै प्रदेशका बजेट २०८२/८३: कुल आकार, प्राथमिकता र मुख्य लक्ष्यहरू
- अमेरिका इरान-इजरायल युद्धमा संलग्न हुन्छ सक्ने
- सात प्रदेशले आगामी आव २०८२/८३ को बजेट आज प्रस्तुत गर्दै
- इजरायल-इरान तनाव: लामो युद्धको लागि तयार रहेको इरानको दाबी
- कमी हुँदै भिरमह उत्पादन
- इरानले इजरायलमाथि गर्यो जवाफी आक्रमण
- समय थप्दापनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
