डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो ।
त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको मन्त्रालयलका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा डेङ्गु सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । पोखरा महानगरपालिकामा मात्रै हालसम्म छ हजार चार सय ५२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
गत जनवरीमा जम्मा ७० जनामा डेङ्गु देखिएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे १२ हजारभन्दा माथि पुगेको हो । अधिकृत शर्माले गत जुलाईयता डेङ्गुको सङ्क्रमण दर बढ्दै गएको बताउनुभयो । जुलाईमा सात सय २८, अगष्टमा चार हजार ८३, र सेप्टेम्बरमा छ हजार सात सय २० जनामा डेङ्गु देखिएको उहाँले जानकारी दिनुभयो ।
तथ्याङ्क अनुसार सबैभन्दा बढी कास्कीमा छ हजार पाँच सय ४८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो । तनहुँमा २८ सय ६१, पर्वतमा एक हजार एक सय ४६, गोरखामा छ सय ६४, बागलुङमा पाँच सय ३९, स्याङ्जामा चार सय ४३, म्याग्दीमा दुई सय १३, नवलपुरमा एक सय ८१, लमजुङमा एक सय २० र मुस्ताङमा नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
असारदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गुबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेङ्गुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने सुझाव दिइएको छ ।
डेङ्गु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
