उत्कृष्ट एघार खेलाडी : जो विश्वकप २०२२ मा देखिने छैनन्

विश्वकप फुटबल शुरू हुन आठ महिना पनि बाँकी छैन।यसै वर्षको नोभेम्वर–डिसेम्वरमा कतारमा आयोजना हुने यस प्रतियोगितामा भाग लिने ३२ मध्ये २९ टोलीको टुङ्गो समेत लागिसकेको छ।अन्तरमहादेशीय प्लेअफबाट दुई र युरोपियन प्लेअफबाट एक गरी तीन टोलीको निर्णय हुन बाँकी नै छ।

संसारभर फुटबलको यो महाकुम्भको पारा चढ्न थालिसकेको छ।छनौट हुन सफल राष्ट्रहरू यसको तयारीमा लागिसकेका छन् भने फुटबलका पारखीहरू पनि त्यो दिनको व्यग्र पर्खाइमा छन्।तर यसपटकको विश्वकपमा समर्थकहरूले त्यस्ता केही ठूला खेलाडीहरूलाई देख्न पाउने छैनन् जो अहिले विश्व फुटबलमा तहल्का पिटिरहेका छन्।

बेलायतको दि सन स्पोर्टसले हालै उत्कृष्ठ एघारको टिम सार्वजनिक गरेको छ जसले यो वर्ष कतारमा हुने विश्वकप फुटबल गुमाउने छन्।२–३–२–३ को फर्मेसनमा तयार पारिएको यो टोलीको अग्रपंक्तिमा फरवार्डद्वय एर्लिङ एर्लिङ हालान्ड र मोहमद सलाहको नाम छ।

बोरूसिया डर्टमन्डका लागि उत्कृष्ठ खेल खेल्दै यो सिजन बुन्डेसलिगामा १६ गोल गरिसकेका ‘गोल मेसिन’ हालान्डले आफ्नो देश नर्वेलाई भने विश्वकपमा छनौट गराउन सकेनन्।युरोपियन क्वालिफायरको समूह जीमा नेदरल्याण्डस् र टर्कीभन्दा पछाडि रहँदै नर्वे विश्वकपको छनौट चरणबाटै बाहिरिएपछि २१ वर्षका हालान्डको विश्वकप खेल्ने सपना यसपटकलाई अधूरै रहन पुग्यो।

२०१८ को संस्करणको अन्तिम खेलमा पेनाल्टीमा गोल गर्दै आफ्नो देशलाई विश्वकपमा छनौट गराएका मोहमद सलाहले यसपटक भने त्यसो गर्न सकेनन्।प्रिमियर लिगका ‘टप स्कोरर’ र ‘अस्सिस्ट प्रोभाइडर’ समेत रहेका मोहमद सलाह नै पेनाल्टीमा चुकेपछि इजिप्ट विश्वकप छनौटको अन्तिम खेलमा सेनेगलसँग टाईब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

आर्सनलबाट खेल्ने नर्वेर्जियन खेलाडी मार्टिन ओडेगाडले टिमको सेन्टर मिडफिल्ड पनि सम्हाल्नेछन्।ओडेगार्डलाई दायाँबाट लिभरपुलका अर्का खेलाडी लुईस डियाजले साथ दिनेछन् भने बाँयाबाट म्यानचेस्टर सिटीका मिडफिल्डर रियाद महरेजले।

साउथ अमेरिकन प्लेअफमा पेरूद्वारा पराजित हुँदै कोलम्बिया छनौट चरणबाट बाहिरिएको थियो भने अफ्रिकन छनौटको निर्णायक खेलमा रियाद महरेजको अल्जेरिया क्यामरूनको हातबाट नाटकीय पराजयको शिकार हुनुपरेको थियो।

मालीका वाई बिसौमा र इटालीका जोर्गिन्होले पछाडिबाट मिडफिल्डलाई साथ दिनेछन्।ट्युनिसियासँग पराजित हुँदै माली प्रतियोगिताबाट बाहिरिएपछि ब्राइटनका मिडफिल्डर बिसौमाले यस वर्षको विश्वकप घरमै बसेर हेर्नुपर्ने भएको छ ।युरोपियन च्याम्पियन इटाली भने युरोपियन प्लेअफ सेमिफाइनलमा नर्थ मेसोडोनियासँग हारेपछि लगातार दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित हुनुपरेको हो।

टोलीको रक्षापंक्तिको केन्द्रमा अर्का इटालियन लेजेन्ड डिफेन्डर  जर्जियाे केलिनी रहनेछन् भने लेफ्टब्याकमा उनकै राष्ट्रिय टोलीका सहकर्मी लियोनार्दो स्पिनाजोलाले उनलाई साथ दिनेछन्।डिफेन्सको राइटतर्फ स्वीडेनका कप्तान भिक्टर लिन्डेलोभ रहनेछन्।स्वीडेन प्लेअफको सेमिफाइनलमा पोल्याण्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए पछि म्यानचेस्टर युनाइटेडका यी डिफेन्डरको विश्वकप सपना अधूरै रहेको हो।

सन स्पोर्टसले यो टोलीको गोलपोस्टको जिम्मेवारी स्पेनिस क्लब एट्लेटिको मेड्रिडका गोलकिपर जान ओब्ल्याकलाई सुम्पिएको छ जसले क्लब फुटबलमा त उच्चस्तरको खेल प्रदर्शन गरिरहेका छन् तर विशवकप छनौटमा उनको टोली स्लोभानिया भने यसपटक प्रतिश्पर्धामा समेत आउन सकेको थिएन।यो टोलीको यो टोलीको कप्तानमा नर्वेका मार्टिन ओडेगाड चुनिएका छन् भने म्यानेजरमा इटालीका प्रशिक्षक रोवर्टो मान्चिनीलाई घोषित गरिएको छ।

अन्य केही खेल विशेषज्ञहरूले भने उत्कृष्ट–११ को गोलकिपरमा यूरोकप विजेता टोलीका जियानलुइगी डोनारुम्मालाई रोजेका छन्।स्वीडेनका ज्लाटन अब्रामोबिच, गाबोनका पिएरे–एम्रिक आबुमोयाङ, आइभरीकोस्टका वेल्फ्रेड जाहा (क्रिस्टल प्यालेसका विंगर) र फ्रान्क किसे, एसी मिलानका नाइजेरियन फरवार्ड भिक्टर ओसिमेन, नाइजेरियाकै अल्फ्रेड एनडिडि,  गिनीका नबी किएटा (लिभरपुल), रियल म्याड्रिडबाट खेल्ने अष्ट्रियाका डेविड अलाबा, चेक रिपब्लिकका प्याट्रिक सिक, इटालीका मार्को भेराटी र फेडेरिको चिएसालाई पनि यसपटक विश्वकपमा देख्न पाइने छैन।

कोलम्बियाका जेम्स रोड्रिग्वेज, चिलीका एलेक्सिस सान्चेज र र अर्टुरो भिडाल अन्य केही चर्चित नाम हुन् जो यो सूचीमा पर्न पुगेका छन्।त्यस्तै स्कटल्याण्ड, वेल्स र युक्रेनले प्लेअफ खेल खेल्न बाँकी नै रहेका कारण यो सूचीमा थपिन सक्ने अर्को महत्वपूर्ण नाम गेराथ बेल रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
उत्कृष्ट एघार खेलाडी : जो विश्वकप २०२२ मा देखिने छैनन्
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link