बहुउपयोगी मरिचका फाइदाहरू

हामीले मसलाका रूपमा तरकारी, अचार, सेलरोटी अनि चिया र अन्य धेरै थरीका परिकारहरूमा समेत नियमित प्रयोग गर्दै आएको मरिच औषधीय गुणले भरिपूर्ण हुन्छ।हजारौँ वर्ष अघिदेखि मरिच परम्परागत आयुर्वेदिक औषधीको एउटा महत्वपूर्ण हिस्सा रहँदै आएको छ।आयुर्वेदले मात्र होइन, यसको औषधीय गुण र यसबाट स्वास्थ्यलाई हुने लाभलाई आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको छ।

मरिच एक सुगन्धित, उत्तेजक र स्फूर्तिदायक पदार्थ हो जसमा ५ देखि ९ प्रतिशत सम्म पिपेरीन, पिपेरिडीन र चैविसीन नामक ऐल्केलायडहरू पाइन्छन्।त्यस्तै एक गेडा मारिचमा सुगन्धित तेलको मात्रा १ देखि २.६ प्रतिशत सम्म, हरिया रङ्गका सुगंधित गंधाशेष र ३० प्रतिशतसम्म स्टार्च लगायतका पाइन्छ।

अस्वस्थ आहारविहार, मद्यपान र धुम्रपानका कारण शरीरमा फ्री रेडिकलहरूको मात्रा बढिरहेको हुन्छ।शरीरमा यस्ता रेडिकलहरूको मात्रा बढ्दै गएपछि यसले कोशिकाहरूलाई क्षति पुर्‍याउनेक, छिट्टै बुढो देखिने र हृदय रोग, क्यान्सर, गठिया, दम र मधुमेह जस्ता जटिल स्वास्थ्य समस्याहरूको खतरा बढ्दै जान्छ।आधुनिक विज्ञानले यस्ता फ्रि रेडिकलहरूलाई नियन्त्रण गर्न मरिचमा पाइने पिपेरिडिन अत्यन्तै उपयोगी रहेको कुरा पुष्टि गरेको छ।

मरिचको औषधीय गुण र यसको सेवनबाट हुने फाइदाहरूलाई यहाँ बुँदागत रूपमा प्रस्तुत गरिएको छ–

– पाँच चम्चा गाईको घिउमा ६–७ गेडा मरिच डढाएर छानेर राख्ने, टाउको दुखेको बेलामा त्यो घिउ कन्चटमा दल्यो भने टाउको दुखेको बेलामा आराम हुन्छ।साधारण पानीमा पिनेर बनाएको लेपले पनि टाउको दुखेको बेलामा राहत हुन्छ।

– रुघाखोकी लागेको खण्डमा १०–१५ दाना मरिच फुराएर पिन्ने र पानीमा फिटेर नियमित सेवन गरेमा एक हप्तामा रुघाखोकी ठीक पार्छ।यसरी लगाउँदा घाँटी सुन्निएको र टन्सिल बढेको समयमा पनि फाइदा पुर्‍याउँछ।

– २५ दाना मुनक्का दाखको गेडामा २५–३० दाना मरिच हालेर पिस्ने र त्यसलाई दुई ग्लास पानीमा मज्जाले पकाउनुहोस्।बिरामीलाई त्यो ख्वाएर सिरकभित्र तातो पारेर सुत्न लगाउने हो भने एक–दुई पटकमा नै पिनास, रुघाखोकी वा टाउको दुखेको रोग ठीक हुन्छ ।

– एक दाना फुराएको मरिच मसिनो गरी पिनेर एक चम्चा सख्खरमा मुछेर स–साना गोली बनाउने र दिनको तीन–चारटा चुसेर खाने गरेमा यसले घाँटीमा जमेको कफ निकाल्छ र खोकी ठीक गराउँछ।

– हिक्क–हिक्क आउने समस्या आएमा मरिच डढाएर त्यसको धुँवा सुँधेमा क्षणभरमै हिक्क आउन बन्द हुन्छ।

– फियो बढेको खण्डमा कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप लगाएमा ठीक हुँदै आउँछ।

– दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा रतन्धो लागेको ठीक गर्दै आउँछ।

– गाईको घिउमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखाका रोगहरू समन हुन्छन्।

– मरिचको धूलो र नीमको पातलाई तेलमा डढाएर पक्षघात भएको अङ्गमा बिहान–बेलुका नियमित मालिस गरेमा बिस्तारै ठीक हुँदै आउँछ।

– मरिचको धूलो, खयर, कपुर बराबर पिँधेर दाँत माझ्ने गरेमा गिजा पाक्ने, दाँत हल्लिने, कीराले खाएको समस्यामा आराम मिल्छ।

– एक गिलास पानीमा फुराएको एक चिम्टी मरिचको धूलो र एक चम्चा मह फिटेर खाने गरेमा अमलपित्तको रोग ठीक हुँदै जान्छ।

– एक डाडु भाङको गेडाको धूलोमा एक चम्चा मरिचको धूलो मिसाउने र बिहान–बेलुकी खाली पेटमा एक चम्चा महसँग फिटेर त्यसलाई सेवन गर्‍यो भने भोक राम्ररी जगाउँछ।

– पेटको समस्याहरूमा पनि मरिच अचूक औषधीका रूपमा प्रयोगमा आउँछ।छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाएर राख्ने।बिहान–बेलुकी खाना खानु अगाडिएक चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दिसा लाग्ने जस्ता पेटका रोगहरू निको हुँदै जान्छन्।पेट फुलेको बेलामा पनि मरिचले औषधीको काम गर्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
बहुउपयोगी मरिचका फाइदाहरू
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link