नेपालबाट सङ्गठित रूपमा अमेरिकामा सङ्गठित मानव तस्करी हुने गरेको छ । नेपालका विभिन्न स्थानबाट काठमाडौँमा मानिसहरू जम्मा गर्ने र प्रतिव्यक्ति ३० देखि ५० लाखसम्म लिएर मानव तस्करी हुने गरेको घटना समय समयमा बाहिर आइनै रहेको छ । नेपालबाट मानव तस्करले अमेरिकासम्म पुर्याउन विभिन्न रुट प्रयोग गर्ने गरेको विषय सार्वजनिक हुँदै आएको छ ।
यस्तै मानव तस्करीमा परि विभिन्न सङ्घर्ष गर्दै लामो लडाई पछि आफू र परिवारलाई तस्करको जालबाट निकाल्न सफल भई अमेरिकामै स्थापित हुन सफल भएका व्यक्ति हुन् भारतीय मूलका अमेरिकी नागरिक ह्यारोल्ड डिसुजा । पछिल्लो समय नेपालबाट भइरहेको मानव तस्करीको विषयमा अवगत रहेका डिसुजाले यस विषयमा जनचेतना फैलाउन र आफ्नो संस्था स्थापना गर्ने उद्धेश्यले नेपाल आएका थिए । उनै डिसुजाले मानव तस्करको चङ्गुलमा परी भोगेका यातना, सङ्घर्ष र स्वतन्त्रताको लागि गरेको दशक लामो लडाइँबारेको कुराकानीको सारंश:
जब ह्यारोल्ड डिसुजा आइएनएस न्युजको कार्यालयमा आइपुगे हाम्रो टिम उनको कथा सुन्नलाई उत्सुकतापूर्वक पर्खिरहेको थियो । जति कुरा सुनाए ती सबै दुःखदायी र प्रेरणादायक थियो। उनले आफूलाई आकर्षक जागिरको आश्वासनमा अमेरिका पुगेर पाएको अकल्पनीय कठिनाइहरूको विस्तार सुनाएका थिए ।
भारतमा ह्यारोल्ड एउटा निर्माण कम्पनीमा प्रबन्धको रूपमा जागिरे थिए । सोही समयमा एक दिन उनलाई अमेरिकामा काम गर्ने एउटा प्रस्ताव आयो । ह्यारोल्डसँग स्नातक पास हुँदासम्म राहदानी समेत थिएन। अमेरिका जाने सपनासमेत नदेखेका ह्यारोल्डले भारतको एउटा सानो सहरबाट अमेरिकामा जागिर पाउनु सपना जस्तो भएको बताए ।
मूल रूपमा दक्षिण भारतको म्याङ्गलोरका ह्यारोल्डको जन्म र हुर्काइ दुवै उत्तर भारतको बडोदरामा भयो । उनी सुरुवातबाट नै नम्र स्वभावका थिए । उनका बुबा रेल कन्डक्टरको रूपमा काम गर्ने भए पनि परिवारका आर्थिक कठिनाइहरू भने उत्तिकै थियो । यस्तो दुःख हुँदाहुँदै पनि ह्यारोल्डले सङ्कल्पका साथ आफ्नो शिक्षालाई अगाडि बढाए ।
सुरुवातमा स्कुलमा नै टेलिफोन अपरेटरको रूपमा काम गरेका ह्यारोल्डले पछि मार्केटिङ व्यवस्थापनमा र मानव संसाधन विकासमा डिप्लोमाका साथै र कानुनमा विषयमा विशेषज्ञता हासिल गरे । ह्यारोल्डले अमेरिकामा काम गर्ने अवसरलाई आफ्नो परिवारको उत्थान र उज्ज्वल भविष्य सुनिश्चित गर्ने अवसरको रूपमा हेरे ।
अमेरिकी जागिरको आश्वासनमा विश्वस्त भएर ह्यारोल्ड आफ्नी श्रीमतीका साथै सात र चार वर्षका दुई साना छोराहरू लिएर सन् २००३ मा अमेरिका उडे । यद्यपि त्यो सपना चाँडै नै दुःखदायी एउटा बिपनामा परिणत भयो । आफूले पाएको विश्वासघातलाई प्रतिबिम्बित गर्दै उनले भने – “ मलाई झुक्याईयो, छल गरियो र फसाइयो ” ।
” अमेरिकामा काम गर्ने प्रस्ताव पाउँदा म एकदमै खुसी भएँ,” ह्यारोल्डले त्यो दिन सम्झना गरे । प्रति वर्ष ७५ हजार अमेरिकी डलर तलब दिने वाचा गरेका थिए । सन् २००३ मा त्यो तलब अति राम्रो थियो । ‘एचवानवी’ भिसाको साथ ह्यारोल्ड आफ्नो नयाँ जीवन अँगाल्न तयार थिए । उनको श्रीमती र छोराहरू ‘एचफो’ भिसाका साथ अमेरिकाको यात्रामा सामेल भए । अमेरिकी भिसा नियमहरूसँग अपरिचित ह्यारोल्ड डिपेन्डेन्ट भिसामा आउनेहरूलाई काम गर्न निषेध भएको नियम बारे अनजान थिए ।
अमेरिकी सपना पछ्याउँदै आशा र उत्साहले भरिएका ह्यारोल्ड अमेरिकाको सिनसिनाटीमा पुगे । तथापि उनीहरू सिनसिनाटीमा अवतरण गर्दा उनीहरूको उत्साह निराशामा परिणत भयो । ह्यारोल्डले विश्वास गरेका तस्करले उनीहरूलाई अमेरिकामा नगद र कागजातहरू असुरक्षित भएको दाबी गर्दै एयरपोर्टमा नै उनीहरूसँग मागे र ह्यारोल्डले दिए । उनीहरूलाई शोषण गर्न गरिएको योजनाको यो पहिलो पाइला हो भन्ने उनलाई थाहा थिएन।
परिवारलाई रेस्टुरेन्ट नजिकैको एक कोठाको अपार्टमेन्टमा लगियो । जब ह्यारोल्डले साँघुरो कोठाको बारेमा प्रश्न गरे, तस्करले उनलाई यो अस्थायी प्रबन्ध हो भनेर आश्वासन दिए । वास्तवमा त्यो परिवारलाई नियन्त्रण गर्न र श्रममा जबरजस्ती गर्न सकिन्छ भनेर सुनियोजित योजना अन्तर्गत नै थियो।
पहिलो दिनदेखि नै ह्यारोल्ड र उनकी पत्नीलाई रेस्टुरेन्टमा १८ घण्टासम्म कठिन परिस्थितिहरूमा काम गर्न लगाइयो । तस्करले उनीहरूको पारिश्रमिक पनि रोक्दै अमानवीय व्यवहार गरिरह्यो । तुच्छ बोली र मानसिक दुर्व्यवहार बिच कोठा भएर पनि केही सामाग्री नहुँदा उनीहरू भुईँमा नै सुत्न बाध्य भए । ह्यारोल्डले आफूलाई पूर्णतया असहाय महसुस गरे । “मैले मेरा सबै कागजातहरू तस्करलाई दिएँ, उनलाई आफ्नै दाइको रूपमा विश्वास गरेको थिए । हामीसँग केही थिएन – न कुनै कागजात, न नगद, न त कुनै मद्दत, ” उनले भने ।
डिसुजा कानुनी रूपमा अमेरिका पुगेका थिए यद्यपि उनको परिस्थिति चाँडै अवैधको रूपमा परिणत भयो । डिपेन्डेन्ट भिसा प्रतिबन्धको बाबजुद उनको श्रीमतीलाई काम गर्न बाध्य पारियो । ह्यारोल्डलाई आफ्ना कागजातहरूमा पहुँच थिएन जसले गर्दा उनलाई सहयोग खोज्न असमर्थ भई असहाय बनायो ।
स्थिति तब बिग्रियो जब उनको रोजगारदाताले उनलाई केही कागजातमा हस्ताक्षर गर्न भनी बैङ्क जान बाध्य पारे । योजना थाहा नभएका ह्यारोल्डले आफ्नो नाममा पाँच-अङ्कको चेक पाए । त्यसपछि तस्करले उसलाई आफ्नो आलिसान घरमा लगे र रक्सी दिँदै भने –“ चियर्स ! तिमी धनी मानिस हौ !” ह्यारोल्डले त्यो क्षणलाई बुझ्नु अघि तस्करले एउटा पर्चा निकाल्यो र भन्यो – “तिमीले मलाई ४० हजार अमेरिकी डलर तिर्नुपर्छ !”
स्तब्ध ह्यारोल्ड नि:शब्द भए । तब तस्करले मुस्कुराउँदै थप्यो – ” वास्तवमा ह्यारोल्ड तिमीले मलाई त्यो भन्दा धेरै तिर्नुपर्ने छ ।” त्यो क्षण थियो जब ह्यारोल्डले आफू ऋणको बन्धनमा फसेका र पूर्णतया तस्करको नियन्त्रणमा परेको महसुस गरे । त्यो क्षणमा डिसूजाको सपना चकनाचुर भयो, केही सेकेन्डमा आफ्नो आवाज, साहस, आशा र स्वतन्त्रता पूरै हराएको महसुस गरे ।
त्यसको भोलिपल्टै डिसुजाले बैङ्कबाट आफ्ना छोराहरूको पढाइका लागि बचत गरेको पैसाको साथै ऋणको पुरा रकम गायब भएको सूचना पाए । त्यो सबै उनको तस्करले निकालेको थियो । ह्यारोल्ड र उनकी श्रीमतीले काम गरे बापत १८ महिनासम्म उनीहरूलाई एक पैसा पनि दिइएको थिएन।
तर शोषण भने रोकिएन । तस्करले गाली शब्द प्रयोग गर्दै उनीहरूलाई “हे अवैध, हे अवैध” भनी दुर्व्यवहार गर्थ्यो र उसको श्रीमतीमाथि यौन दुर्व्यवहार पनि गर्थ्यो । तस्करले छोराछोरीलाई उनीहरूकै अगाडि दुर्व्यवहार गर्नेसम्म पनि पुगे । ह्यारोल्डलाई तस्करले जे पनि गर्न सक्छ भन्ने डर भइरह्यो ।
“म एक अभिभावक, प्रदायक, संरक्षक र एक व्यक्तिको रूपमा असफल भए,” डिसुजाले भने ।
झन्डै दुई वर्षको शोषणपछि ह्यारोल्डको श्रीमतीले तस्करको सामना गर्ने साहस जुटाइन् । जब उनले उनीहरूको तलबको माग गरिन् , उनलाई चिसो जवाफ दिइयो – “तिमीहरू यहाँ अवैध छौ । यो भिसामा काम गर्न मिल्दैन ।” उनीहरूको अमेरिका आइपुग्दा लिएको नगद फिर्ताको उनको अनुरोधलाई नकार्दै तस्करले गिरफ्तार र निर्वासनको धम्की दियो ।
त्यो क्षणमा ह्यारोल्डको सपना पुनः एक पटक चकनाचुर भयो । आफ्नो जीवनमा एक समय ईश्वरीय व्यक्तित्व जस्तो देखिएका तस्करको वास्तविक रङ्ग बाहिर आएको थियो । केही घण्टा भित्रनै तस्करको वकिलले ह्यारोल्डलाई धम्की दिँदै चेतावनी दिए – “ भनेको मान नत्र तिमीहरूको गिरफ्तारी हुनेछ ”।
एक दिन, त्यसै रेस्टुरेन्टका अर्का तस्करीको सिकार भएका सेफले डिसुजालाई एकान्तमा सुझाव दिँदै भन्यो – “तिमी यहाँबाट भाग्नु पर्छ, नत्र तिमी र तिम्री श्रीमती यहीँ मर्नेछौ ।” यो डिसुजाको भाग्ने समय थियो । लगत्तै उनीहरूको यो मुद्दा प्रहरीको ध्यानाकर्षणमा पर्यो । अब यो स्वतन्त्रता र न्याय तर्फको एक लामो र खतरनाक यात्राको सुरुवात थियो ।
जब डिसुजाले शोषणको विरुद्ध लड्न थाले, उनको तस्करले उनलाई मार्न समेत कसैलाई पैसा दिएका थिए । ह्यारोल्डलाई अस्पतालमा भर्ना गरिएको थियो, डाक्टरहरूले पहिले नै उनको बाँच्ने आस कम छ भनेका थिए । उनको ज्यान जोगाउन आठ युनिट रगत दिइएको थियो । मात्र ४० किलोग्राम तौल भएका डिसुजा मृत्युको मुखमा मुस्किलले झुण्डिरहेका थिए । यो पीडासँगै तस्करले आफ्नो क्रूरता फेरी बढायो । तिनीहरूले ह्यारोल्डका छोराछोरीलाई अपहरण गर्ने प्रयास गरे र उनकी पत्नी लगातार दुर्व्यवहारको सिकार भइन् । ह्यारोल्डले आफ्नो परिवारले अकल्पनीय यातना पाएका कारण कहाँ फर्कने वा के गर्ने थाहा नभएर आफूलाई लाचार महसुस गरे।
डिसुजाले हार मानेनन् । उनले तस्करले गरेको दुर्व्यवहार र क्षतिको विवरण सहितको एक हजार पृष्ठको हस्तलिखित प्रतिवेदन लेखे र क्षतिपूर्तिसहित ३ मिलियन अमेरिकी डलर माग गर्दै मुद्दा दायर गरे । हरेक महिना उनी अदालतको सत्रमा उपस्थित हुन्थे । एक पटक तस्करले ह्यारोल्डलाई मुद्दा फिर्ता लिन आग्रह गरे, तर ह्यारोल्ड अडिग रहे । अन्ततः तस्करले दिवालियापनको लागि निवेदन दायर गर्यो र मुद्दा बन्द भयो। तर ह्यारोल्डको लडाइ सकिएको थिएन ।
यी कठिन समयमा ह्यारोल्डले साँच्चै आफूहरूको साथमा को-को उभिएको छन् भन्ने थाहा पाएँ । भारतमा आफ्नो घरका मानिसहरूले परिवारको इज्जतमा दाग ल्याएको भन्दै गर्दा अमेरिकाको स्थानीय समुदायले बिना कुनै हिचकिचाहट उनीहरूको समर्थन गरे । समुदायको चर्चबाट एउटी महिला र १० अन्य परिवारहरूले मिलेर भाडा र भिसा आवेदनहरूमा मद्दत गर्न अगाडी आए । लस भेगासको यात्रामा जाने योजना बनाएका एक परिवारले डिसुजालाई आफ्नो पैसा दिँदै भने -“ क्यासिनोमा जुवा खेल्न पैसा अब म तिमि लाई दिन्छु र म तिमीलाई सहयोग गर्न चाहन्छु !”
महिनौँ पछि तिनीहरूको मामला मानव बेचबिखनको रूपमा स्थापित भयो र एफविआईले अनुसन्धान सुरु गर्यो। तस्करले अनुसन्धानको बारेमा सुनेपछि, उसले ह्यारोल्डका छोराछोरीहरूलाई अपहरण गर्ने धम्की दियो र एफविआईले उनको परिवारलाई लागि सुरक्षा दियो ।
ह्यारोल्डको लडाइँले तब रङ्ग ल्यायो जब जब उनले गैर-आप्रवासी अपराध पीडित (NCP) भिसा प्राप्त गरे र सिनसिनाटी बाल अस्पतालमा जागिर पाए । उनी त्यहाँ काम गर्न सक्षम भएकोमा उत्साहित थिए र यस पटक काम गरेको हरेक घण्टाको पैसा पाए । उनले १६ घण्टा सिफ्टमा काम गरे, बिदाहरूका दिनमा पनि काम गर्दै र बचत गर्ने प्रयास गरे । तीन वर्षको अवधिमा ह्यारोल्ड र उनको परिवारले बिस्तारै आफ्नो जीवनको पुनर्निर्माण गरे । सन् २०११ सम्म उनीहरूले आफ्नै घर किन्न सक्ने पर्याप्त बचत गरेका थिए जुन उनीहरूसँग पहिलो आठ वर्षसम्म थिएन । जीवनमा पहिलो पटक उनीहरूको आफ्नो घर भन्ने ठाउँ पाए । जुन दिन उनीहरूको गृह प्रवेश भयो, आफूहरूले भोगेका सबै कुराको भावनात्मक भारले उनीहरूलाई झस्कायो । उनीहरूलाई थाहा थियो कि उनीहरूले अन्ततः स्थिरता र आफ्नो स्वतन्त्रता प्राप्त गरेका थिए । सुरुमा उनीहरूसँग फर्निचर वा ओछ्यान नभए पनि घाम पानी छेक्ने छत भएकोमा उनीहरूले आराम र आनन्द महसुस गरे ।
गृह प्रवेशको अवसरमा ह्यारोल्डले वर्षौँदेखि उनीहरूलाई समर्थन र सहयोग गरेका सबै परिवारहरूलाई रात्रि भोजमा निम्तो दिए । उनीहरूले परम्परागत भारतीय परिकार कुखुराको मासु र पुलाउ पकाएका थिए र पाहुनाहरू सबैले धेरै मन पराए । ह्यारोल्डलाई मद्दत गर्नेहरूका साथ आफ्नो नयाँ घरको खुसी बाँड्दाको आनन्द अतुलनीय थियो ।
बिस्तारै र समयसँगै एक पछि अर्को खुड्किला चढ्दै उनीहरूले आफ्नो जीवन पुनर्निर्माण गरे । तर तस्करमाथि कहिल्यै कारबाही भएन ।
त्यसपछि डिसुजाले मानव बेचबिखन सम्बन्धी सचेतना जगाउन आफ्नो कथा बताउँदै यात्रा गर्न थाले । उनले भने “यो प्रायः तपाईँको आफ्नै मान्छे हो जसले तपाईँलाई मानव तस्कर गर्छ । मलाई एक भारतीयले तस्करी गरेको थियो जसरी नेपालीहरूलाई प्रायः नेपालीहरूले नै धोका दिन्छन् ”।
अचानक एक दिन, उनलाई अमेरिकी ह्वाइट हाउसबाट अप्रत्याशित फोन आयो । लाइनको अर्को तर्फबाट बोलेको उनले शब्दहरू सुने: “ह्यारोल्ड, तपाईँलाई राष्ट्रपति ओबामाको एक सल्लाहकारको रूपमा नियुक्त गरिएको छ।”
ह्यारोल्डले आँसु थाम्न सकेनन्। उनले सन् २०२० सम्म आठ वर्ष ह्वाइट हाउसमा काम गरे।
उनको असाधारण योगदानको लागि संयुक्त राष्ट्र सङ्घले सन् २०२३ मा न्यूयोर्कको मुख्यालयमा उनलाई प्रतिष्ठित मानव अधिकार हिरो पुरस्कारले सम्मान गरेको थियो । सामाजिक कार्यकर्ताको रूपमा उनको मिसनको लागि यसअघि उनलाई वर्ल्ड बुक अफ स्टार रेकर्डका सदस्यहरूद्वारा राष्ट्र प्रेरणा पुरस्कार २०२१ बाट सम्मानित गरिएको थियो । सन् २०२२ मा उनले लस एन्जलसमा विशिष्ट हार्ट अफ द फादर अवार्ड प्राप्त गरेका थिए ।
अहिले एक गैर सरकारी संस्था आइज ओपन इन्टरनेशनलको सह-संस्थापकको रूपमा डिसुजा मानव तस्कर रोक्नका लागि अनुसन्धान मार्फत रोकथाम प्रयासहरू विकास गर्न समर्पित छन् ।
ह्यारोल्ड डिसुजाद्वारा स्थापित आइज ओपन इन्टरनेशनल विश्वभर १५ भन्दा बढी देशहरूमा काम गर्दछ । सन् २०२४ अगस्ट १ बाट आधिकारिक रूपमा यस संस्थाले नेपालमा आफ्नो पहल सुरु गर्यो।
“न्यायमा ढिला होला तर पक्कै पाइन्छ” ह्यारोल्डले भने ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायल र लेबनानबीच युद्धविरामको सहमति
- कालीगण्डकीमा बन्द भयो जलयात्रा
- विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुन्छ : संयुक्त राष्ट्रसङ्घ
- सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढे
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?