सिरियाली विद्रोही हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहले सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कसलाई घेरेर आक्रमण केन्द्रित गरिएको बताएका छन् ।
सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदले प्रजातान्त्रिक प्रदर्शनमा दमन गरेसँगै सुरु भएको सिरियाको गृहयुद्ध सुषुप्त अवस्थामा पुगेपछि नोभेम्बर २७ देखि एचटीएस नेतृत्वको गठबन्धनले राष्ट्रपति बशर अल असदको सत्ताका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरेको छ ।
विद्रोही कमाण्डर हसन अब्देल घानीले सरकारविद्धको लडाई सफल भइरहेको दावी गर्दै भन्नुभयो, “हाम्रा सेनाले राजधानी दमास्कसलाई घेर्ने अन्तिम चरण सुरु गरेका छन् ।”
यसअघि उहाँले दमास्कसको ग्रामीण इलाकामा रहेको सासा (सुरक्षा) शाखालाई सेनाले नियन्त्रणमा लिएको बताउनुभएको थियो ।
एचटीएसका नेता अबु मोहम्मद अल–जोलानीको सट्टा आफ्नो वास्तविक नाम अहमद अल–शरा प्रयोग गरी शनिबार टेलिग्राममा विद्रोही लडाकुहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “दमास्कस तपाईंहरूलाई पर्खिरहेको छ ।”
– सेनाद्वारा खण्डन –
असदप्रति वफादार रहेको सिरियाली रक्षा मन्त्रालयले सेना आफ्नो स्थानबाट भागेको अस्वीकार गरेको छ ।
“दमास्कस ग्रामीण क्षेत्रमा रहेका हाम्रा सशस्त्र सेना फिर्ता भएको भन्ने समाचारमा कुनै सत्यता छैन,” विज्ञप्तिमा भनिएको छ ।
सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) ले दमास्कसबाट करिब १० किलोमिटरको दूरीमा रहेको सहरबाट सरकारी सेना फिर्ता हुन लागेको जनाएको छ ।
छिमेकी देश इराकका सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार सिरियाली सेनाका सयौँ सैनिकलाई सीमा पार गर्न अनुमति दिइएको छ ।
राष्ट्रपति बसर अल असदको सेनाका सैनिकहरू ‘लडाईँस्थलबाट भागेर’ अल–कैम सीमा नाका हुँदै इराक प्रवेश गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले बताए ।
दोस्रो स्रोतले अधिकारीहरूसहित करिब दुई हजार सैनिक इराकतर्फ भागेको आँकडा दिएको छ र उनीहरू इराकी अधिकारीहरूको अनुमतिमा इराक प्रवेश गरेका थिए ।
यसैबीच, टर्कीए, इरान र रूसका विदेशमन्त्रीले दोहामा सिरियाली सरकार र वैध विपक्षी समूहबीच राजनीतिक संवाद सुरु गर्न सहमति भएको इरानका उच्च कूटनीतिज्ञ अब्बास अरागचीले जानकारी दिनुभयो ।
सन् २०१७ देखि कजाकिस्तानको अस्तानामा सिरियामा राजनीतिक समाधानका लागि भएको वार्तामा यी तीन देश सहभागी हुँदै आएका छन् ।
रूस र टर्कीएले सिरियाको उत्तरपश्चिमी इदलिब क्षेत्रमा सन् २०२० मा युद्धविरामका लागि मध्यस्थता गरेका थिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प
- सिरियाली विद्रोहीहरूद्वारा सङ्क्रमणकालीन सरकारका प्रमुख नियुक्त
- आयोजना अलपत्र पारेपछि कारणसहित लिखित जवाफ माग
- फिलिपिन्समा ज्वालामुखी विस्फोट, प्रभावित क्षेत्र खाली गरिँदै
- म्याग्दीको मुनामा सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो
- भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै
- इजरायली प्रधानमन्त्रीद्वारा सिरियाको बफर जोन ‘कब्जा’ गर्न सेनालाई आदेश
- प्रजातान्त्रिक आन्दोलनको आरोह अवरोहबीच असदको सत्ताको २५ बर्ष
- स्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती
- देशभरको मौसम मुख्यता सफा रहने