लागु औषध, अनलाइन ठगी र खनिज: म्यानमार विश्वव्यापी अपराधको राजधानी

हन्ना बिच

पहाडको गाउँ देखि सुरु भएका फूलबारीहरू सडकका दुवैतर्फ फैलिएका छन् । जहाँ सेतो, गुलाबी र बैजनी रङ्गका फूलहरू फुलेका छन् ।

उत्तर पूर्वी म्यानमारस्थित शान राज्यको यस भेगमा फुलेका फूलहरूको सुन्दरताले यस क्षेत्रले गृहयुद्धबाट मुक्ति पाएको लाग्न सक्छ । तर यसको विपरित यी फूलहरू यसै युद्धका लक्षणहरू हुन् । यी खेतहरूमा फुलेका सबै फूलहरू अफिम खेती हो । आजको दिनमा म्यानमार हिरोइन र अफिमहरू बनाउनको लागि चाहिने कच्चा पदार्थको विश्वको सबैभन्दा ठुलो निर्यातकर्ताको रूपमा पहिलो स्थानमा छ । र यो त  सुरुवात मात्र हो।

करिब चार वर्षअघि सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार अहिले अन्तर्राष्ट्रिय अपराधको केन्द्रको रूपमा स्थापित छ । लडाकुहरू,  हतियार व्यापारीहरू, मानव तथा जीवजन्तु तस्करहरू, लागु औषध सिन्डिकेटहरू  र  अन्तर्राष्ट्रिय अदालतहरूबाट पक्राउ पुर्जी जारी भएका सेनाका जनरलहरूका लागि खेल मैदान बनेको छ ।

ग्लोबल अर्गनाइज्ड क्राइम इन्डेक्सका अनुसार- ‘म्यानमार अहिले संसारकै सङ्गठित अपराधको सबैभन्दा ठुलो नेक्सस बनेको छ ।’

म्यानमारमा बढ्दै गएको अपराधले यहाँका ५ करोड ५० लाख जनताको लागि विनाशकारी समय निम्त्याउँदै छ । यसले विश्वभर अपराधको सञ्जाल पनि फैलाइरहेको छ । सन् २०२१ को फेब्रुअरीमा भएको सैनिक विद्रोहले निर्वाचित आङ सान सुकीको सरकारलाई हटाएपछि देशको आधाभन्दा बढी भूभागमा गृहयुद्ध चलिरहेकाले म्यानमार अहिले डरलाग्दो अवस्थामा गुज्रिरहेको छ ।

म्यानमार अहिले विश्वको सबैभन्दा ठुलो अफिम उत्पादक देश हुनुका साथै मेथाम्फेटामाइन, केटामाइन र फेन्टानिल सहित सिंथेटिक लागु औषधहरूको पनि सबैभन्दा ठुलो उत्पादनकर्ता बनेको छ। छिमेकी चीन र भारतबाट आयातित रसायनहरू प्रयोग गरी म्यानमारमा बनाइएका लागु औषधका ट्याब्लेटहरू अस्ट्रेलियासम्म पुग्ने गरेको छ । व्यापक रूपमा फैलिएका लागु औषधका कारखानाहरू र कमजोर अन्तर्राष्ट्रिय कानुन प्रवर्तनका कारण यी लागु औषधहरूको खुद्रा मूल्य धेरै नै सस्ता छन् ।

वर्षौंसम्म,  किसानहरूले केही सरकारी अधिकारीहरूबाट टाढा पहाड र उपत्यकाकोआफ्नो  खेतमा अफिम उब्जाउथे। अब, किसानहरूले आफ्नो गाउँमा खुला रूपमा अफिम फूल खेती गर्छन्।

काँचो अफिम निकाल्नको लागि अफिम खोल्दै

म्यानमारलाई नार्को (लागु औषध) राज्य मात्रै होइन, विश्वभरि स्वच्छ ऊर्जामा प्रयोग हुने केही दुर्लभ खनिज तत्त्वहरूको विश्वको सबैभन्दा ठुलो निर्यातकर्ता पनि मानिन्छ । युद्धबाट प्रभावित क्षेत्रहरू उत्खननका कारण विषाक्त भूमिमा परिणत भएका छन् । तस्करहरूले अवैध खानीहरू खन्दै दुर्लभ खनिजहरूलाई पुराना तस्करी मार्गहरू मार्फत चीन पठाउँछन् । यस दक्षिण पूर्वी एसियाली राष्ट्र सबैभन्दा राम्रो जेड  र रुबी पाइने देश हो, जसलाई लागु पदार्थको लतमा परेका युवाहरूले उत्खनन गरेर निकाल्ने गरेका छन् । तस्करहरूले लोपोन्मुख वन्यजन्तु र महँगो काठको लागि म्यानमारको जङ्गलहरू चहार्ने गर्छन् र प्रायः सबै तस्करीका सामानहरू चीनतर्फ नै निर्यात हुने गर्छ ।

बेइजिङले गर्ने गरेको कानुनी कारबाही र म्यानमारको युद्धका कारण चिनियाँ आपराधिक सिन्डिकेटहरूको पहुँच विस्तार भइरहेको छ,  जसले  यस क्षेत्रमा दण्डहीनता र एकाधिकारका साथ गैर कानुनी काम गरिरहेका छन् । चिनियाँ हतियारहरू म्यानमारका सैनिक सरकार (जुन्टा) र  उनीहरूको विरुद्ध लडिरहेका विरोधी समूह दुवैतिर भेटिन्छन् ।

म्यानमारको सिमानामा चिनियाँ आपराधिक गिरोहहरूले स्थानीय स्तरमा रहेका जातीय विद्रोहीहरूसँग मिलेर विभिन्न देशका मानिसहरूलाई अपहरण गरी अनलाइन मार्फत ठगी गर्न बाध्य पारिरहेका छन् । यी अनलाइन ठगीद्वारा अमेरिका, चीन, युरोप र अन्य देशका रिटायर, वृद्ध तथा एकल मानिसहरूबाट अर्बौँ डलर लुटेको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनहरू बताउँछन् ।

दक्षिण पूर्वी एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घको लागु औषध तथा अपराध कार्यालय (यूएनओडीसी) का क्षेत्रीय प्रतिनिधि मसूद करिमिपौर भन्छन् – “सङ्गठित अपराधहरूको लागि द्वन्द्व जारी रहनुमा निहित स्वार्थ छ किनभने यस्तै युद्धको वातावरणमा अपराध फस्टाउँछ । जति धेरै समय द्वन्द्व भइरहन्छ, त्यति नै धेरै क्षेत्रहरू यस्ता सङ्गठित आपराधिक समूहहरूको  नियन्त्रण वा प्रभावमा पर्छन्।”

उनी भन्छन्- ” यसबाट हुने नाफा, वास्तवमै डरलाग्दो चीजहरूबाट प्राप्त हुन्छ जसले म्यानमार र अन्य धेरै देशहरूमा जीवन बरबाद गरिरहेको छ ।”

म्यानमारको सैन्य सरकार र यससँग गठबन्धनमा रहेका जातीय लडाकुहरू यस अवैध अर्थतन्त्र चलाउने सबैभन्दा ठुलो गिरोह हुन् । सेनाको डरलाग्दो मानवअधिकार हननका रेकर्डको कारणले कु पछि  अन्तर्राष्ट्रिय नाकाबन्दी भएसँगै जुन्टाको नाफामा कटौती भएको छ । तर लोकतन्त्र र क्षेत्रीय स्वायत्तताको पक्षमा लड्नेहरूलाई पनि थाहा छ कि गैर कानुनी आम्दानी जुन्टाले लडिरहेको युद्धलाई आर्थिक रूपमा सहयोग पुर्‍याउने सबैभन्दा सजिलो तरिका हो ।

न्यु योर्क टाइम्सले गरेको रिपोर्टिंगहरुले म्यानमारमा केही वर्ष देखि चलेको गृह युद्धले देशलाई असफल राज्यको रूपमा परिणत गरी अरू द्वन्द्व निम्त्याइरहेको छ । साथै यस महाद्वीपमा दुःख, परनिर्भर र भ्रष्टाचारका घटनाहरू अत्यधिक रूपमा बढी रहेको खुलासा गरेका छन् ।

यी हुन् म्यानमारको सैन्य-औद्योगिक अपराध सङ्गठन सबैभन्दा ठुलो पाटाहरू:

खुल्लमखुल्ला अफिम खेती

म्यानमारको शान राज्यका पहाडी क्षेत्रमा अफिमको फूललाई “शान्तिको फूल” भनिन्छ । यो नाम नै विडम्बना हो: दशकौँदेखि शान राज्यमा शान्ति छैन । वर्षौँदेखि एक दर्जन भन्दा बढी जातीय छापामार समूहहरूले म्यानमारको सेनासँग मात्र नभई एक-अर्कासँग पनि भूभाग नियन्त्रण देखि लागूपदार्थ व्यापारको प्रभुत्वको  लागि लडाई गर्दै आएका छन् ।

शान राज्यको पेकोन नगरमा अफिम खेतीका कारण यहाँको समाज अहिले समस्याग्रस्त अवस्थामा पुगेको छ। पहिले किसानहरूले अफिम खेती गर्दा सरकारद्वारा बाली कटान वा खेतहरू नष्ट गर्ने जस्ता कारबाहीबाट बच्न बस्तीबाट टाढा पहाड र उपत्यकाहरूमा अफिम उब्जाउने गर्थे ।

आज  यी नै किसानहरू आफ्नै गाउँमा खुला रूपमा अफिमको खेती गर्छन् । चर्चहरू,  मन्दिरहरू,  प्रहरी चौकीहरू र टाउन हलहरूको छेउमा आधुनिक  सिँचाइ प्रणालीद्वारा पोषित खेतहरूमा  अफिमका फूलहरू फुल्छन् । अहिले कुनै डर बिना नै कृषकहरू अफिम खेती गर्छन् ।

पेकोन टाउनशिपमा अफिम फार्ममा काम गर्दै म्यानमारको गृहयुद्धबाट विस्थापित कामदारहरू।

खेतहरूमा जटिल सिंचाई प्रणालीद्वारा पानी लगाइदैँ ।

एक कृषक खेतमा अफिमको हेरचाह गरेर फर्केपछि भन्छिन्- “अब यहाँ कुनै सरकार छैन,  सेना छैन,  त्यसैले हामी लुक्नु पर्दैन। यो अफिम खेतीको लागि सबैभन्दा राम्रो समय हो।”

विद्रोह हुनु अघि निर्वाचित अधिकारीहरू र विदेशी कूटनीतिज्ञ तथा नोकर शाहहरूले शानका अफिम किसानहरूलाई परम्परागत अफिम खेती त्यागेर एभोकाडो, कफी र मकै जस्ता विकल्पहरू उब्जाउ गर भन्दै मनाउन प्रयास गरे। तर यी बालीका लागि बजार न्यून रहेको यहाँका गरिब किसानहरू बताउँछन् ।

साथै यहाँ पुस्तौँ पुस्ता देखि औषधिको रूपमा थोरै मात्रामा प्रयोग हुँदै आएको अफिम खेती अहिले बढी आकर्षक छ । नोभेम्बरदेखि फेब्रुअरीसम्म फुल्ने यो अफिमको प्रशोधित मूल्य प्रति पाउन्ड चार सय तीस अमेरिकी डलर पुगिसकेको छ,  जुन केही वर्ष पहिलेको भन्दा तीन गुणा बढी हो।

अफिम खेती गरिरहेका कृषक को हेटिन लिन भन्छन्- “जीवन अप्रत्याशित छ,  यो अवसरमा हामीलाई पैसा कमाउन जरुरी छ ।”

यूएनओडीसीको अनुमान अनुसार- ‘यस वर्ष म्यानमारबाट १.२६  बिलियन डलर बराबरको हेरोइन निकासी भएको छ, जसमा सबैभन्दा धेरै अफिम शान राज्यमा उत्पादन भएको हो । पेकोनका धेरै अफिम किसानहरू लडाइँबाट विस्थापित भएका थिए जसले पहिला दिनको मात्र दुई  डलर कमाउँथे ।

जुन्टा हवाई आक्रमणबाट बाँच्न आफ्नो परिवारसँगै जन्मस्थानबाट भागेका एक किसान को पा लाए भन्छन् – “म बाँच्नुपर्छ,” ।

एक वर्ष पहिलेको जवाफी आक्रमणमा दर्जनौँ सहरहरूबाट सेनालाई बाहिर लखेट्न सफल भएपछि सैन्य सरकार विरोधी समूहका साथ भएको जातीय सशस्त्र  समूहले  यी  अफिम खेतहरूलाई आफ्नो नियन्त्रणमा ल्यायो ।

सोही समयमा हवाई आक्रमण र ड्रोन हमलाहरूद्वारा नागरिकहरूलाई आतङ्कित बनाउने म्यानमारको सैन्य सरकार र सेनासँग सम्बन्ध भएको अन्य सशस्त्र समूहहरूले नै यहाँ उब्जाइएको अधिकांश अफिम किनिरहेका स्थानीयहरू बताउँछन् । सेनासँग लडिरहेका केही विद्रोही समूहहरू अफिम व्यापारमा संलग्न भए पनि अन्य सशस्त्र समूहहरूले लागु पदार्थको तस्करीलाई पूर्ण  रूपमा त्यागेका छन् ।

कच्चा अफिम।

शान राज्यमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको लागि एउटा शिविर जुन सैन्य हवाई आक्रमणबाट क्षतिग्रस्त भएको थियो।

पेकोनका अफिम किसान को म्यो लेले भने – “हामीले पैसा तिर्ने जो कोहीलाई बेच्छौँ । किन्नेहरू को हुन् भनेर मैले कहिल्यै सोधिन।”

जङ्गलभरि लागु औषध प्रयोगशाला

म्यानमारमा एक बोतल बियरको मूल्य करिब एक डलर पर्छ । तर मेथाम्फेटामाइन र क्याफिनको शक्तिशाली संयोजन भएको लागु औषध याबा भनेर चिनिने सानो गुलाबी चक्की भने पच्चीस सेन्टभन्दा कममा पाइन्छ।

गत वर्ष  पूर्वी र दक्षिण पूर्वी एसियाका सरकारहरूले अहिलेसम्मकै सबैभन्दा बढी रेकर्ड १९० टन मेथाम्फेटामाइन जफत गरेको तथ्याङ्क यूएनओडीसीले सार्वजनिक गरेको थियो ।  तर पनि शान राज्यका जङ्गलमा खुलेका प्रशस्त प्रयोगशालाहरूबाट उत्पादनमा अत्यधिक वृद्धि भएसँगै यो चक्कीको खुद्रा मूल्य घटेको हो ।

सन् २०१९ मा उत्तरी शान राज्यको लासियोमा याबा चक्कीको व्यापार

लागुऔषध सेवन गर्दै ।

म्यानमारमा सिंथेटिक ड्रग्सको निर्माण सैन्य कु र त्यसपछिको गृहयुद्ध भन्दा अघिदेखि सुरु भएको हो ।  शान राज्यका केही स्वशासित क्षेत्रहरूमा सेना र सेनाका सहयोगीहरूलाई नाफामा साझेदार बनाएर लडाकु समूहहरूले लामो समयदेखि लागु औषधको अर्थतन्त्र चलाउँदै आएका  छन् । वायुसेनाका हेलिकप्टरहरूले लागु औषध चक्कीका प्याकेटहरू र क्रिस्टल मेथाम्फेटामाइनका टुक्राहरू विदेशमा वितरणको लागि सहर र बन्दरगाहहरूसम्म उडाएर पुर्‍याउने गरेको पूर्व पाइलटहरू बत्ताउँछन् ।

चीनमा हुने गरेको लागु औषध उत्पादन माथि सरकारले कारबाही गरेपछि म्यानमारको उत्पादनमा धेरै वृद्धि भएको छ । सरकारको कारबाही पछि चिनियाँ लागु औषधका तस्करहरूले चीनको सट्टा म्यानमारमा लागु औषध उत्पादन गर्ने नयाँ अवसर फेला पारे । साथै चिनियाँ प्रयोगशालाका प्राविधिकहरूले म्यानमारका स्थानीयहरूलाई बरफ भनिने क्रिस्टल मेथाम्फेटामाइन  कसरी बनाउने भनेर शान राज्यको जङ्गलमा रहेको प्रयोगशालामा लैजाँदै सिकाउन थाले । यी चिनियाँ लागु औषधका  तस्करहरूले याबा बनाउन आवश्यक पर्ने पिल प्रेस (ट्याब्लेट बनाउन प्रयोग गरिने औजार) पनि चीनबाट म्यानमारमा ल्याए ।

जातीय सशस्त्र समूहको नियन्त्रणमा रहेको उत्तरी शान राज्यको कोनेमोनको गाउँमा  सन् २०१९ मा  द टाइम्सले गरेको भ्रमणले स्थानीय अर्थतन्त्रमा मेथाम्फेटामाइन उत्पादनले कति प्रभुत्व जमाएको छ भन्ने देखाएको थियो । त्यस गाउँका तीन घर बाहेक सबै घर याबा बनाउने काममा संलग्न रहेको स्थानीयले बताएका थिए । रातिको समयमा जेनरेटरको आवाजले  शान पहाडको शान्त वातावरण भङ्ग हुने गरेको थियो । लागु औषध बनाउन प्रयोग हुने एसिडले वरपरका हावामा अमिलो गन्ध भरेको थियो ।

म्यानमारमा सेनाले सत्ता कब्जा गरेपछि सिंथेटिक ड्रग्स उत्पादन गर्ने कारखानाहरूको तीव्रता नयाँ उचाइमा पुगेको लागु पदार्थ व्यापार अनुगमनकर्ताहरू र कानुन प्रवर्तनकर्ताहरू बताउँछन् । शान राज्यका जातीय सशस्त्र समूहहरूले “ह्याप्पी वाटर” र केटामाइन, एमडीएमए र मेथाम्फेटामाइन समावेश भएको ककटेलमा बनेका ललिपप जस्ता नयाँ क्लब ड्रगहरू उत्पादन गर्न थालेका छन् ।

कुख्यात ‘गोल्डेन ट्रयाङ्गल’ पुन सुचारु भएको अनुभूति गराउँदै सिंथेटिक ड्रगहरू म्यानमारको शान राज्यबाट लाओस् र थाइल्यान्डमा पुगिरहेका छन्  । जुन्टासँग लडिरहेको एउटा र व्यापार गरिरहेको अर्को जातीय विद्रोही समूहहरूद्वारा यी लागु औषध  बङ्गलादेश र भारतसम्म तस्करी हुने गरेको छ ।

याबा चक्कीहरू कहिलेकाहीँ खरबुजाको बाकसमा राखेर तस्करी हुने गर्छ ।

जनावरहरू कहिलेकाहीं जङ्गलको मार्ग हुदैँ लागूपदार्थ सहित सामानहरू ढुवानी गर्न प्रयोग गरिन्छ ।

म्यानमारको  दोस्रो सबैभन्दा ठुलो सहर म्याण्डलेमा राइफलसहित ४०  जना  सैनिकहरू जनताको रक्षक भन्दै सैन्य सरकारको कमान्डमा आफ्नो दिन बिताउँछन् । कहिलेकाहीँ ती सेनाहरूले प्रजातन्त्र समर्थकलाई डराउने र सैन्य सरकार विरोधी आन्दोलनलाई समर्थन गर्ने उद्यमीहरू तथा व्यापारीहरूलाई धम्की दिन्छन् । प्रायजसो  ती सेनाहरूले समुद्र र जमिनको बाटो हुँदै विदेश निर्यात हुनु अघि विद्रोही-नियन्त्रित क्षेत्रहरूबाट जुन्टा-नियन्त्रित क्षेत्रमा सिंथेटिक ड्रग्सको आवागमनलाई व्यवस्थित गर्छन्।

यस सेना समूहको सदस्य मध्ये एक को येले भने -“हामीलाई जनताको लडाकु भनिन्छ तर हामी विरलै लडाइँमा संलग्न हुन्छौँ । हामी लागु औषधको व्यापारमा संलग्न छौँ ।”

विश्वभर पहुँच पुगेको ठगी केन्द्र

थाइल्यान्डसँगको म्यानमारको सीमामा, जहाँ कुनै समय घना जङ्गल थियो,  त्यहाँको एक भवनको तेस्रो तल्लामा रहेको झ्यालविहीन कोठामा काम गरेकोको क्याव हतेले सम्झिए । १२ घण्टाको सिफ्टमा उनी र अन्य ४० जना प्लास्टिकको टेबलमा बसेर विश्वभरका मानिसहरूसँग अनलाइन वार्तालापमा  गर्थे । चीन, मेक्सिको, जापान, इटाली, भारत र संयुक्त राज्य अमेरिका ।

को क्याव हतेको ठगी गर्ने क्षेत्र फ्रान्स थियो  र उनले फ्रान्सेलीहरूसँग सम्बन्ध बनाउन गुगल  अनुवाद सेवाको प्रयोग गर्थे । उनले लामो कपाल भएको एसियाली महिलाको तस्बिर प्रोफाइल फोटो राखेर प्रेमको लागि आतुर एकल फ्रान्सेली वृद्ध पुरुषहरूलाई आकर्षित गर्ने गर्थे ।

राम्रो कमाई भएको महिनामा क्याव हतेले पीडितहरूबाट असी हजार युरोसम्म लुटे । क्याव हतेले यस कामको लागि महिनामा चार सय पैँतालीस डलर तलब पाएका थिए, जुन म्यानमारमा कु भए पछिको अवस्थामा राम्रो तलब थियो । उनीसँगको काम गर्ने कोठामा चार अफ्रिकी, सात भारतीय र पाँच चिनियाँ पनि थिए । उनी चिनियाँ अपराध सिन्डिकेटद्वारा सिमानामा सञ्चालित ठगी केन्द्रमा स्वेच्छाले आएका थिए।

संयुक्त राष्ट्र सङ्घको गत वर्षको अनुमान अनुसार कम्तीमा एक लाख बिस हजार विदेशीहरूलाई म्यानमारमा साइबर अपराध र अनलाइन जुवा उद्योगहरूमा जबरजस्ती संलग्न गराइएको थियो ।  दक्षिण पूर्व एसियामा क्लर्क, प्राविधिक वा ग्राहक सेवामा जागिरहरू दिने झुटा विज्ञापनहरूद्वारा धेरैलाई ठगिएको थियो । गत वर्ष इन्टरपोलको एक अपरेसनले म्यानमारका साइबर अपराध केन्द्रहरूमा २२ देशका नागरिकहरू काम गर्न बाध्य पारिएको फेला पारेको थियो । अन्यलाई चीनको सडकबाट अपहरण गरेर बन्दुकको  डरमा जातीय लडाकुहरू र चिनियाँ अपराध गिरोहहरूद्वारा सञ्चालित ठगी केन्द्रमा लागिएको यस्तो आपराधिक दलदलबाट भागेर बाच्न सफल एकले भने ।

सन् २०२३ मा याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिकम र इन्टरनेट ठगीको आरोपमा पक्राउ परेका पाँच जनासँग प्रहरी अधिकारीहरू।

सेनासँगको मेलमिलापमा जातीय लडाकुका कमान्डरहरूले लामो समयदेखि शान राज्य र केरेन राज्यका केही भागहरूमा दण्डहीनताका साथ यी ठगीको बजार सञ्चालन गर्दै आएका छन् । यस्ता सिन्डिकेटमा,  साइबर क्राइम र क्यासिनोमा काम गरेका एक दर्जनभन्दा बढी व्यक्तिहरूका अनुसार  यसमा प्राय: म्यान्डरिन भाषा बोलिन्छ ।

गत वर्ष म्यानमारमा ठगीको आरोपमा चालिस हजारभन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरी चीन फिर्ता पठाइएको थियो । केही चिनियाँ अपराधी समूहका मुखिया पनि पक्राउ परेका थिए ।  म्यानमारको सीमास्थित ठगी गर्नेहरूले प्रयोग गर्ने गरेको एउटा कम्पाउन्डमा भएको गोली हानाहानमा चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ र म्यानमारको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका थिए ।

यस्ता ठगी  केन्द्रहरूमा काम गरेका म्यानमारका नागरिकहरूका अनुसार चिनियाँ सरकारको  कारबाहीका कारण  चिनियाँ नागरिकलाई ठगी गर्न छोडेर यी गिरोहहरूले अमेरिका र युरोपका नागिरकहरूलाई लक्षित गर्न थाले । साथै यी गिरोहहरूले पीडितहरूबाट  पैसा ठगी गर्नको लागि डीपफेक तस्बिरहरू र कम्प्युटर भाइरस (रान्समवेर) पनि प्रयोग गरिरहेका यी कामदारहरू बताउँछन् ।

यूएनओडीसीका करिमिपौर भन्छन् – “यी ठगी केन्द्रहरू धेरै नै डरलाग्दा ठाउँहरू हुन् ” ।

थाई सरकारले नदी सिमानामा रहेका यस्ता फ्याक्ट्रीहरू, अनलाइन जुवा खेल्ने  र ठगी गर्ने ठाउँका बिजुली र इन्टरनेट काटेको छ । तर यस सिमानाका केन्द्रलाई निशाना बनाइए पनि चाँडै अर्को नयाँ केन्द्रले यसको ठाउँ लिनेछ ।

आठ महिना काम गरेपछि  क्याव हतेले फ्रान्सेली सेवा निवृत्तहरूलाई ठगी गर्न आफूलाई सहज नभएको बताए । जुन बुढी महिलालाई उनले क्रिप्टो समर्थित रियल  स्टेटको लगानी गर्दा फाइदा हुने झुटो आश्वासन देखाएका थिए,  क्याव हतेले पहिलो पटक व्हाट्सएप मार्फत उनलाई सम्पर्क गरेका थिए। उक्त महिलाले सो योजनाको लागि आफ्नो बचत, लगभग पन्ध्र हजार  युरो, पुरै हस्तान्तरण गरेकी थिइन्। उनले यो सबै गुमाइन् ।

उक्त ठगी केन्द्रबाट भागेपछि क्याव हतेले द टाइम्ससँगको कुराकानीमा भने – “म माथिको उनको विश्वास र उनको आशावादले अझै पनि मलाई सताएको छ । मैले गरेको काममा अहिले म धरै नै पछुताउँछु।”

दुर्लभ खनिजका अनियमित उत्खनन

सैन्य विद्रोह हुनुभन्दा तीन महिनाअघि म्यानमारको उत्तरी भागमा पर्ने काचिन राज्यको पाङ्गवा वरपरका पाइन रुखका जङ्गलमा १५ वटा दुर्लभ धातुका खानीहरू थिए। विद्रोहको तीन महिना पछि त्यहाँ पाँच गुणा बढी खानी सुरु भएको स्थानीय बासिन्दाहरूले बताए।

गत वर्ष म्यानमारलाई विद्युतीय सवारीसाधन र हवाई टर्बाइन जस्ता वस्तुहरूमा प्रयोग हुने डिस्प्रोसियम र टर्बियमलगायत केही दुर्लभ खनिजहरूको विश्वको सबैभन्दा ठुलो निर्यातकर्ता मानिएको थियो। (यद्यपि म्यानमारको खानी उत्पादनको लागि कुनै आधिकारिक तथ्याङ्कहरू नभए तापनि पर्यावरणीय निगरानी गर्ने संस्था ग्लोबल विटनेसले फेला परेको सन् २०२३ को  चिनियाँ भन्सार डेटा अनुसार चीनको आफ्नै घरेलु खानी कोटा भन्दा म्यानमारबाट आयात कोटाहरू धेरै बढी थियो।)

म्यानमारको काचिन राज्यको पाङ्वाको एउटा पहाडमा खनिएको खनिज खानी ।

म्यानमारको करेन राज्यमा मे महिनामा विद्रोहीहरूले कब्जा गरेको सुन खानी

 

चीनले  दुर्लभ धातुको प्रशोधन गर्ने उद्योगमा एकाधिकार जमाएको छ । विद्रोह हुनुअघि म्यानमारको निर्वाचित सरकारले खानीबाट हुने पर्यावरणीय क्षतिको चिन्ताको कारण निर्यातलाई नियन्त्रण वा प्रतिबन्ध लगाउने प्रयास गरेको थियो । तर पश्चिमा सरकारहरूले म्यानमारको सेनामाथि प्रतिबन्ध लगाएपछि बेइजिङले समर्थन गरेका सैन्य जनरलहरूलाई पैसाको नयाँ स्रोतको आवश्यक थियो।

म्यानमारको  दुर्लभ खनिज उत्खनन कार्य जुन्टासँग सम्बन्ध रहेको काचिन लडाकुहरूको हातमा थियो । पर्यावरणीय र श्रमिक सुरक्षाको कुनै पनि कानुनी आधार नभएपछि चीनसँगको  सीमामा रहेको पाङ्गवामा तीव्रताको साथ खानी उत्खनन भएको स्थानीयले बताएका छन् ।

माटोबाट दुर्लभ धातुलाई अलग गर्नमा निपुण भएका चिनियाँ प्राविधिकहरू र चिनियाँ खानीका मालिकहरू म्यानमार आउन थाले । स्थानीयका अनुसार केही महिनाभित्रै स्थानीय लडाकु नेताका हजुरबा हजुरआमालाई गाडिएको चिहानमा भएको रूखहरूको केही भाग बाहेक पाङ्गवाका लगभग सबै पाइन रुखका बनहरू खनिज उत्खननका लागि उखेलिएको थियो ।

अन्य खनिज खानी भएका दुई सहरहरू जस्तै पङ्गवा पनि  ध्वस्त भएको बासिन्दाहरू भन्दछन् । यु सान ह्यालिंगले खानीहरूमा काम गर्दा एसिडको असरबाट खाली हातहरूमा फोका उठेको र छाला जलेको थियो । हावाभरि धुलो मिसिएको कारण उसलाई लगातार हुने खोकीको रोग लाग्यो । यु सान ह्यालिंगले दिनभरि खनिज उत्खननमा काम गर्न अधिकांश खानीमा काम गर्ने कामदारहरूले  जस्तै लागु औषध याबाको सहारा लिन्थे।

उनले भने – “यो नराम्रो चक्र हो किनभने हामीले कमाएको अधिकांश पैसा लागु औषध किन्नमा जान्छ जसले हाम्रो स्वास्थ्यलाई असर गर्छ र  जीवनलाई समाप्त पार्छ ।”

विषादी युक्त रसायनहरू माटोमा मिलिसकेको वातावरणविद्हरू भन्छन् । स्थानीयवासी पानी पिउन पनि डराउँछन् । काचिन राज्यका खानी र अन्य  खानीहरूमा पहिरो खस्न सक्ने खतरा छ ।  साथै जेडको अवैध उत्खनन‌मा हरेक वर्ष धेरै मानिसहरू मर्छन् ।

२०२० मा काचिन राज्यमा पहिरोमा परेर १२० भन्दा बढी जेड खानी कामदारको मृत्यु भएपछि शव निकाल्दै कामदारहरू। म्यानमारका खानीहरूमा पहिरोहरू निरन्तर खतरा हुन्।

सन् २०१९ मा म्यान्डलेको उत्तरको मोगोकमा रहेको रुबी खानीमा प्रवेश गर्दै।

गएको अक्टोबरमा विद्रोही गठबन्धनको सदस्य रहेको काचिन स्वतन्त्र लडाकुहरूको समूहले जुन्टालाई यस क्षेत्रबाट हटाउने लक्ष्य राख्दै पाङ्गवा कब्जा गर्‍यो । जुन्टा विरोधी लडाकुहरूले अहिले सम्पूर्ण चीन-काचिन सीमालाई नियन्त्रणमा लिएका छन्, जसबाट दुर्लभ खनिज, काठ, जेड र अन्य खजाना तस्करी गरिन्छ ।

पाङ्गवाका बासिन्दाहरूले विद्रोही समूहको यस जितपछि केही हप्तासम्म दुर्लभ खनिज उत्खनन बन्द भएको बताए । चिनियाँ कामदार घर फर्किएका छन् । तर काचिन प्रतिरोध समूहको नियन्त्रणमा रहेका अन्य क्षेत्रहरूमा दुर्लभ खनिज खानीको उत्खनन बढेको त्यहाँका बासिन्दाहरू बताउँछन् । स्याटलाइट इमेजरीले पनि यस भूमिको खनन‌को पुरा तस्बिर देखाउँछ ।

काचिन स्वतन्त्रता संस्थाका प्रवक्ता कर्नल ना बुले भन्छन् – “हामी अहिले एउटा प्रयोग गरिरहेका छौँ । यदि हामीले यस प्रवृत्तिलाई आफ्नो व्यापारिक उद्देश्यका लागि पछ्याउने निर्णय गर्छौँ भने हामी नागरिक स्वास्थ्यमा असर नपर्ने कुरा सुनिश्चित गर्नेछौँ ।”

कर्नेल ना बुलेको अनुसार- चिनियाँ व्यवसायीहरूसँग दुर्लभ खनिज उत्खननका सम्बन्धमा नियमित वार्ता भइरहेको तर कुनै पनि आधिकारिक अनुमति भने दिएको छैन । यसै महिना काचिन प्रतिनिधिमण्डल सोही वार्ताका लागि चीन गएको थियो ।

गत महिनाको अन्त्यसम्ममा केही खानी सुचारु भइसकेको पाङ्गवावासीहरूले बताए । ठुलो मानवीय लगानीमा उत्खनन भएको म्यानमारको दुर्लभ खनिज हरित क्रान्ति चलाउन फेरि विश्वव्यापी आपूर्ति शृङ्खलामा प्रवेश गर्दै छ।

हन्ना बिच बैङ्ककमा बसेर न्युयोर्क टाइम्सलाई  रिपोर्टिङ गर्ने संवाददाता हुन् । उनले २५ वर्ष भन्दा बढी समयदेखि एसिया क्षेत्रको समाचार सङ्कलन गरिरहेकी छिन्।

स्रोत: द न्यु योर्क टाइम्स्

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link