युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यले नाजुक युद्धविराम दोस्रो हप्तामा प्रवेश गरेको बेला आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘सफा’ गर्ने योजनाको हमास र यसको सहयोगी इस्लामिक जिहादले अवज्ञा गर्दै प्रतिक्रिया दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको तत्काल कुनै प्रतिक्रिया आएको थिएन, तर एकजना अति दक्षिणपन्थी मन्त्रीले ट्रम्पको विचारलाई ‘राम्रो’ भन्दै स्वागत गरे ।
यसैबीच सम्झौता अन्तर्गत भएको अन्तिम बन्दी–कैदी आदान–प्रदानसँग जोडिएको विवादका कारण प्यालेस्टिनीहरूको विशाल भीडलाई क्षेत्रको उत्तरमा फर्कनबाट रोकेपछि तटीय सडक अवरुद्ध गरायो ।
सम्झौताले शनिबार चार इजरायली महिला बन्धक, सबै सैनिक र दुई सय प्यालेस्टिनी कैदीलाई हर्षोल्लासपूर्ण दृश्यमा रिहा गरिएको देखियो । यस्तो आदान–प्रदान अहिलेसम्म दोस्रो थियो ।
पन्ध्र महिनाको युद्धपछि ट्रम्पले गाजा ‘विध्वंस स्थल’ बनेको बताउनुभयो । उहाँले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग प्यालेस्टिनीहरूलाई क्षेत्रबाट बाहिर निकाल्ने बारेमा कुरा गरेको बताउनुभयो ।
“म इजिप्टले मानिसहरूलाई लैजाओस् र जोर्डनले मानिसहरूलाई लैजाओस भन्ने चाहन्छु”, ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो । उहाँले आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग कुरा गर्ने अपेक्षा गर्नुभएको छ ।
अधिकांश गाजावासीहरू प्यालेस्टिनी शरणार्थी वा तिनका सन्तानहरू हुन् ।
प्यालेस्टिनीहरूका लागि उनीहरूलाई गाजाबाट सार्ने कुनै पनि प्रयासले अरब विश्वले ‘नकबा’ वा विनाश–७५ वर्ष पहिले इजरायल निर्माणका क्रममा प्यालेस्टिनीहरूको सामूहिक विस्थापनको कालो ऐतिहासिक सम्झनाहरू जगाउनेछ ।
इजिप्टले पहिले गाजाबाट सिनाई मरुभूमिमा प्यालेस्टिनीहरूको कुनै पनि ‘जबरजस्ती विस्थापन’ विरुद्ध चेतावनी दिएको छ । यसलाई राष्ट्रपति सिसीले सन् १९७९ मा इजिप्टले इजरायलसँग हस्ताक्षर गरेको शान्ति सम्झौतालाई जोखिममा पार्न सक्ने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जोर्डनमा २३ लाख दर्ता भएका प्यालेस्टिनी शरणार्थी छन् ।
“तपाईँ सायद १५ लाख मानिसका बारेमा कुरा गर्दै हुनुहुन्छ र हामी त्यो सबै ठाउँलाई सफा गर्नुपर्छ”, ट्रम्पले गाजाको बारेमा भन्नुभयो । गाजाको जनसङ्ख्या लगभग २४ लाख छ ।
“म केही अरब राष्ट्रहरूसँग संलग्न हुन र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु जहाँ तिनीहरू परिवर्तनका लागि शान्तिले बस्न सक्नेछन्”, उहाँले भन्नुभयो । साथै उहाँले गाजाका बासिन्दाहरूलाई ‘अस्थायी वा दीर्घकालीन रूपमा’ सार्न सकिने बताउनुभयो ।
निन्दनीय
हमासको राजनीतिक ब्युरोका सदस्य बसीम नइमले एएफपीलाई जसरी ‘उनीहरूले दशकौँदेखि विस्थापन र वैकल्पिक मातृभूमिहरूका लागि’ यस्तै योजनाहरू गरेका छन्, प्यालेस्टिनीहरूले ‘त्यस्ता परियोजनाहरू विफल पार्ने’ बताउनुभयो ।
“अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित पुनर्निर्माणको ब्यानरमा उनीहरूको स्पष्ट अभिप्राय राम्रो भए तापनि गाजाका मानिसहरूले कुनै पनि प्रस्ताव वा समाधान स्वीकार गर्दैनन्”, उहाँले भन्नुभयो ।
गाजामा हमासको साथमा लडेको इस्लामिक जिहादले ट्रम्पको विचारलाई ‘निन्दनीय’ भनेको छ र यसले ‘हाम्रा जनतालाई आफ्नो भूमि छोड्न बाध्य पार्दै युद्ध अपराध र मानवता विरुद्धको अपराध’ लाई प्रोत्साहित गरेको बताएको छ ।
तर गाजा सम्झौता विरोधी अतिवादी दक्षिणपन्थी इजरायली वित्तमन्त्री बेजलेल स्मोट्रिचले ट्रम्पको सुझावलाई ‘उनीहरूलाई अर्को राम्रो जीवन सुरु गर्न मद्दत गर्ने’ राम्रो विचार भन्दै स्वागत गर्नुभयो ।
“केवल नयाँ समाधानसहितको सोच–विचारले शान्ति र सुरक्षाको समाधान ल्याउन सक्छ”, उहाँले भन्नुभयो ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि सुरु भएको युद्धबाट लगभग सबै गाजाबासी विस्थापित भएका छन् ।
राष्ट्रसङ्घले क्षेत्रका करिब ७० प्रतिशत भवन क्षतिग्रस्त वा नष्ट भएको बताएको छ ।
प्रवेश गर्न कुर्दै
आइतबार सामानले भरिएका गाडा र ठेलाहरूले इजरायलले अवरुद्ध गरेको नेटजारिम कोरिडोर नजिकैको सडकमा भीड जम्मा भएपछि उत्तरी गाजामा लाखौँ मानिसको अपेक्षित फर्कने बाटो रोकेको छ ।
गाजाको नागरिक सुरक्षा एजेन्सीले ‘दशौँ हजार’ उत्तरतिर जानका लागि त्यस क्षेत्रमा पर्खिरहेका थिए भनी हवाई फुटेजमा तीन दिशामा सयौँ मिटरसम्म फैलिएको भीड देखाएको छ ।
इजरायलले शनिबार ‘रिहा हुने भनिएको नागरिक महिला बन्धक अर्बेल येहुदको रिहाइ नभएसम्म’ प्यालेस्टिनीहरूलाई उत्तर जान नदिइने घोषणा गरेको थियो ।
आइतबार नेतान्याहुको कार्यालयले शनिबार उनलाई रिहा नगर्ने हामासले युद्धविराम उल्लङ्घन गरेको बताएको छ । उनीहरूले ‘सबै बन्धकको स्थितिको विस्तृत सूची’ प्रदान नगरी सम्झौता उल्लङ्घन गरेको पनि कार्यालयले जनाएको छ ।
हमासले पछि उत्तर फर्कने बाटो रोक्नु पनि सम्झौता उल्लंघन हो र उनीहरूले येहुदको मुक्तिका लागि ‘सबै आवश्यक प्रत्याभूतिहरू’ प्रदान गरेको बताएको थियो ।
इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाहसँग पनि युद्धविराम गरेको छ । त्यहाँ स्वास्थ्य मन्त्रालय र सेनाले आइतबार इजरायली सेनाले तीन स्थानीय बासिन्दा र एक लेबनानी सैनिकको हत्या गरेको र सयौँ मानिसहरूले आफ्नो घर फर्कने प्रयास गरेको बताएको छ ।
गाजा सम्झौताको पहिलो चरणमा छ हप्तामा चरणबद्ध तरिकाले ३३ बन्दी मुक्त हुनुपर्छ भने त्यसको बदलामा इजरायली जेलमा रहेका करिब एक हजार नौ सय प्यालेस्टिनी बन्दी मुक्त हुनेछन् ।
यो युद्धविरामले भग्नावशेषले ढाकिएको गाजामा खाद्यान्न, इन्धन औषधि र अन्य सहायताको वृद्धि ल्याएको छ तर संयुक्त राष्ट्रसङ्घले ‘मानवीय अवस्था गम्भीर रहेको’ बताएको छ ।
हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा कब्जा गरिएका २५१ बन्धकमध्ये ८७ जना गाजामा रहेका छन् । तिनमा ३४ जनाको मृत्यु भएको सेनाले बताएको छ ।
एएफपीको आधिकारिक इजरायली आँकडामा आधारित गणनाअनुसार हमासको हमलाले अधिकांश नागरिकसहित एक हजार दुई सय १० मानिसको मृत्यु भएको थियो ।
संयुक्त राष्ट्रसङ्घले भरपर्दो ठानेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलको जवाबी आक्रमणले गाजामा कम्तीमा ४७ हजार दुई सय ८३ जनाको ज्यान लिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- यस्तो छ संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयक
- रुखमा बसेका चमेरा
- काँकेरबिहार संरक्षित क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार
- ल्हुरी गाउँ
- ‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’
- पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर
- अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको मूल्य बढ्यो कुनको घट्यो ?
- तरकारी र फलफूलको आजको यस्तो छ मूल्य
- दक्षिण कोरियाली राष्ट्रपतिमाथि ‘विद्रोहको नेतृत्वकर्ता’ का रूपमा अभियोजन
- पुरातत्व विभागद्वारा महोत्तरीको पाटु रातमाटा क्षेत्रमा थप अन्वेषण सुरु