सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका थप तीन इजरायली बन्धकलाई शनिबार रिहा गरिएको छ । बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी इजरायली जेलमा राख्दै आएका १८३ कैदीलाई रिहा गरेको छ ।
शनिबार रिहा भएका तीन इजरायली बन्धकहरू ५६ वर्षीय ओहाद बेन अमी, ५२ बर्षीय एली शाराबी र ३४ बर्षीय या लेवीलाई शनिबार नै उनीहरूको परिवार र आफन्तको जिम्मा लगाइएको छ ।
हमासले रिहा गरिएका बन्धकलाई गाजाको देइर अल–बलाह शहरको तोकिएको हस्तान्तरण स्थलबाट अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को जिम्मा लगाएको हो ।
कमजोर र थकित देखिएका तीनै जना बन्धकहरूलाई मञ्चबाट आफ्ना अनुभव र रिहाइबारे बोल्नका लागि हमासले निर्देशन दिएपछि उनीहरूले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले आईसीआरसीलाई सुम्पेको थियो ।
हमासले बन्धक बनाएका तीन जना इजरायली बन्धकलाई मध्य गाजाबाट आइसीआरसीको टोलीले इजरायली सीमामा तैनाथ इजरायली रक्षा बल (आइडीएफ)समक्ष स्थानान्तरण गरिएको थियो ।
इजिप्ट र कतारको मध्यस्थता र संयुक्त राज्य अमेरिकाको समन्वयमा हमास र इजरायलबीच युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत बन्धक–कैदी अदलाबदलीको यो पाँचौँ समूह हो ।
यसैबीच, इजरायलले शनिबारदेखि नै थप इजरायली जेलबाट थप १८३ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।
गाजा युद्धविराम सम्झौताअन्तर्गत इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको हो ।
प्यालेस्टाइनी प्रिजनर्स क्लबका प्रमुख अब्दुल्लाह अल–जाघारीका अनुसार रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिको बसबाट रामल्लाह ल्याइएको छ । टिभी फुटेजमा रिहा भएका प्यालेस्टिनीहरूलाई शहरको एक चोकमा ठूलो भीडले स्वागत गरेको देखाइएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आजदेखि शुक्र अस्त: के गर्नुहुन्छ, के गर्नु हुँदैन ?
- मुआब्जाको सहमतिपछि पुनःसञ्चालनमा जलविद्युत् आयोजना
- अन्तत: नौ महिनापछि अन्तरिक्षबाट फर्किए सुनिता र बुच
- दुई सय ३६ ह्याचरी उद्योग बन्द
- अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
- आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
- आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव
- अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प
- जुनमा हुने जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाका प्रधानमन्त्री कार्नीको निमन्त्रणा
- सोलुखुम्बुमा हावाहुरीको वितण्डा
