बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।
सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो । निर्माणमा संलग्न निर्माण व्यवसायीले बीचमे काम छाडेका छन् । यसबाट स्थानीय तथा पर्यटकलाई समस्या भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सुचना अधिकारी नवीन विष्टले भन्नुभयो, “पहिरो रोकथामको काम जटिल रहेको कारण देखाउँदै काम बन्द गरिएको छ ।”
भौगोलिक बनावट कठिन हुँदा काम गर्दा माथिको डाँडा नै खस्न सक्ने अवस्था छ । यसअघि निर्माण गरिएको सडकमाथिको संरचना पनि भत्किएको छ । सडकको हालसम्म जम्मा ३२ प्रतिशतमात्र प्रगति भएको सुचना अधिकारी विष्टले बताउनुभयो । उक्त खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्ने देखिन्छ । अझै ८० मिटर सडक ढलान गर्न बाँकी रहेको छ । सो काम सम्पन्न भएपछि पहिरो रोकथाम हुने सूचना अधिकारी विष्टको भनाइ छ ।
पहिरो रोकथाम नहुँदा सो सडक भएर यात्रा गर्न जोखिम भएको बेँसीसहर नगरपालिका–६ का कृष्णबहादुर आलेले बताउनुभयो । “यात्रा गर्दा कतिबेला माथिबाट ढुङ्गामाटो तथा पहिरो खस्ने हो भन्ने डर रहन्छ । सडकबाट चिप्लए सिधैँ मस्र्याङ्दी नदीमा पुग्ने खतरा छ”, उहाँले भन्नुभयो ।
विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने उक्त ठाउँको पहिरो हुँदै पर्यटक आवतजावत गर्छन् । बेँसीसहर–६ वडाध्यक्ष प्रकाश थापाले भन्नुभयो, “यहाँ हिँड्दाहिँड्दै पहिरो खस्छ, जोखिम छ, धेरै गाह्रो छ । अझ बर्खायाममा बढी समस्या तथा जोखिम हुने गरेको छ ।” पहिरोभन्दा माथि २४–२५ परिवार रहेको फाँटगाउँ छ । पहिरोले बस्ती भेट्न करिब पाँच सय मिटर मात्र बाँकी छ ।
कार्यालयका अनुसार खरखरेभिरका लागि बोलपत्र आह्वान गरेर रु २० करोड लागत अनुमान गरिएकामा रु १६ करोड ४८ लाखमा निर्माण सम्पन्न गर्नेगरी खरीढुङ्गा गोल्मेस्वर जेभीले कामको जिम्मा लिएको थियो । सम्झौताअनुसार २०८० मङ्सिरभित्र काम सम्पन्न हुनुपर्ने हो । तर काम सम्पन्न हुन नसक्दा २०८२ मङ्सिरसम्मका लागि म्याद थप गरिएको कार्यालयले जनाएको छ ।
मनाङ जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुसार २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली, तनहुँले निर्माण सुरु गरेको थियो । विसं २०५७ देखि नेपाली सेनाले सो सडक बनाउने जिम्मा पाएको थियो । सेनाले २०६९ सालमा सडक निर्माण पूरा गरी डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । पैसठ्ठी किलोमिटर रहेको उक्त सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । यो सडक खरखरे भिरको पहिरोको कारण अवरुद्ध हुँदैआएको छ । सो स्थानमा करिब सात वर्षदेखि पहिरो जान थालेको हो ।
–––
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आजदेखि शुक्र अस्त: के गर्नुहुन्छ, के गर्नु हुँदैन ?
- मुआब्जाको सहमतिपछि पुनःसञ्चालनमा जलविद्युत् आयोजना
- अन्तत: नौ महिनापछि अन्तरिक्षबाट फर्किए सुनिता र बुच
- दुई सय ३६ ह्याचरी उद्योग बन्द
- अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
- आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
- आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव
- अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प
- जुनमा हुने जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाका प्रधानमन्त्री कार्नीको निमन्त्रणा
- सोलुखुम्बुमा हावाहुरीको वितण्डा
