खेल महोत्सवले सितली बजार खचाखच

जिल्लाको माई नगरपालिका–२ स्थित सितली बजार यतिबेला खेल पर्यटकले खचाखच भरिएको छ। आइतबार १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएपछि खेल पर्यटकको चहलपहल बढ्नुका साथै सितलीमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ।

प्रतियोगिता सुरु भएपछि प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, व्यवस्थापक, प्रशिक्षक तथा प्रतियोगिता अवलोकन गर्न आएका खेल पर्यटकले सितली बजारको होटल तथा घर भरिएका छन्। शनिबारदेखि नै जिल्लाका १० वटै पालिकाबाट खेलाडी सितली आउन थालेका थिए। यहाँका सबै होटल तथा घर भरिभराउ छ।

खेल पर्यटकले सितली बजार इतिहासमा पहिलोपटक भरिभराउ भएको होटल व्यवसायी राधाकृष्ण अधिकारीले बताउनुभयो। “यहाँ करिब १५–१६ वटा होटल छन्, ती सबै खेल पर्यटकले भरिभराउ छ”, उहाँले भन्नुभयो, “यहाँ नअटेका खेल पर्यटकलाई छिमेकी स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ।” खेलकुद महोत्सवका रूपमा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बेला बजारका विभिन्न घरमा समेत राख्ने गरिएको उहाँले बताउनुभयो।

अहिले एक हजार दुई सय बढी खेल पर्यटक सितलीमा भेला भएको होटल व्यवसायी कमल आचार्यले बताउनुभयो। “यहाँ प्रतियोगितामा सहभागी आठ सय ८५ जना खेलाडीसहित, व्यवस्थापक, प्रशिक्षक, जनप्रतिनिधि, कर्मचारी र आमन्त्रित अतिथि गरी करिब एक हजार दुई सय जनाको उपस्थिति छ”, उहाँले भन्नुभयो, “होटलमा अटाउन नसकेपछि छिमेकीको घरमा समेत राखिएको छ।”

यहाँ खेलकुद महोत्सवकै रूपमा आयोजना गरिएको प्रतियोगिताले आर्थिक कारोबार पनि वृद्धि भएको व्यवसायी चन्द्रमाया राईले बताउनुभयो। “विगतमा यहाँ दैनिक १५–२० जनाको मात्र उपस्थिति हुने गर्दथ्यो तर अहिले हजार बढीको उपस्थिति छ”, उहाँले भन्नुभयो, “यस्तै प्रतियोगिता आयोजना भइरहने होभने अर्थतन्त्र गज्जबले चलायमान हुनेरहेछ।”

स्थानीय होटलमा नअट्ने भएपछि नगरपालिकाले माई नगर अस्पतालको नवनिर्मित भवनमा बस्ने व्यवस्थापन गरेको माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बूले बताउनुभयो। खेल महोत्सवकै रूपमा सञ्चालित प्रतियोगिताले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पु¥याएको उहाँले बताउनुभयो। “यहाँ आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीयको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याएको छ”, नगरप्रमुख लिम्बूले भन्नुभयो, “यहाँको अर्थतन्त्र चलायमान बनाउन यस्ता विभिन्न कार्यक्रम नियमित आयोजना हुनुपर्नेरहेछ।ज्ञद प्रतियोगितामा रु ५० लाख बढीको कारोबार हुने उहाँले बताउनुभयो।

प्रतियोगितामा माईसहित इलाम, सूर्योदय, देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ, फाकफोकथुम, सन्दकपुरा, माईजोगमाई र रोङ गाउँपालिकाका खेलाडी र दर्शकको भीड लागेको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा र माई नगरपालिकाको व्यवस्थापनमा सितली खेलमैदानमा जारी प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन्। छ विधाअन्तर्गत ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २०२ पदकका लागि छात्रछात्राबीच प्रतिस्पर्धा भइरहेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो।

विद्यालयस्तरबाट नै खेलाडीको उत्पादन गर्ने र उनीहरूको प्रतिभालाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यका साथ आयोजिता प्रतियोगिताबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा सम्पूर्ण खेलको नतिजा एकीकृत गरी पालिकाहरू विजेता र उपविजेता घोषित हुनेछन्। विजेता टिम एवं खेलाडीले शिल्ड र नगद पुरस्कार तथा उपविजेता टिम एवं खेलाडीले ट्रफी र नगद पुरस्कार पाउनेछन्।

विगतमा इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता विसं २०७९ देखि सदरमुकाम बाहिर सञ्चालन गर्न थालिएको हो। विसं २०७९ मा फाकफोकथुम गाउँपालिका र अघिल्लो वर्ष माङसेबुङ गाउँपालिकामा प्रतियोगिता सञ्चालन भएको थियो। यस वर्ष माई नगरपालिकामा प्रतियोगितामा सञ्चालन गर्नका लागि अघिल्लो वर्ष माङसेबुङ गाउँपालिकाबाट माई नगरपालिकाले प्रतियोगिताको झण्डा बुझेको थियो।

सदरमुकाममा केन्द्रित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रसम्म विकेन्द्रित गरेसँगै प्रतियोगिता, प्रतियोगितामा सीमित नभई महोत्सवका रुपमा परिवर्तन हुन थालेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष बाँस्तोलाले बताउनुभयो। महोत्सवका रुपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन थालेपछि खेलप्रति आकर्षण बढ्दै गएको र जिल्लाको खेलकुद प्रवर्द्धनमा टेवा पुगेको बाँस्तोलाको भनाइ छ।

“पछिल्लो समय जिल्लास्तरीय राष्ट्रपति रिङ शिल्ड प्रतियोगिता सदरमुकामबाट बाहिर पालिकामा सञ्चालन हुँदा खेलाडी उत्पादन र युवा विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढेको पाइएको छ”, उहाँले भन्नुभयो, “प्रतियोगिता प्रत्येक वर्ष फरक–फरक पालिकामा सञ्चालन गर्ने सहमति भएको छ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link