उमेरले आठ दशकमा लागेका म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका लिलबहादुुर पुनको दैनिकी बाख्रासँगै जङ्गल र गोठ गरेर बित्ने गरेको छ । असी वर्षीय लिलबहादुरको बाल्य र युवा अवस्था पनि भेडाबाख्रासँगै घुम्ति गोठ लिएर लेक बेशी गरेरै बितेको थियो ।
“बुवा आमाले भनेअनुसार मेरो जन्मपनि गोठमै भएको थियो, जीवन पनि गोठमै बित्यो,” उहाँले भन्नुभयो “बाबु बाजेका पालादेखि गर्दै आएको भेडाबाख्रा पाल्ने पेशालाई मैलेसम्म धानेको छु ।” गत कात्तिकमा ढोरपाटनको बुकीबाट मुनाको झारवाङमा गोठ झारेका लिलबहादुरले हिउँद त्यही बिताउनुभयो ।
दुई सयभन्दा बढी घरपरिवारको बसोबास रहेको मुना गाउँमा अहिले लिलबहादुरले मात्रै घुम्ति गोठमा बाख्रा पाल्नुभएको छ । आठ दश वर्षअघिसम्म ४०÷५० बाख्रा नहुने घर थिएन् । चार÷पाँच घर मिलेर एक जना गोठाला राखेर चरन क्षेत्रमा गोठ लैजाने चलन थियो ।
पाँच वर्षअघिसम्म एक हजार भेडाबाख्रा पालेका लीलबहादुरले अहिले भेडा सबै बेचिसक्नुभयो । स्थानीय खरि जातका एक सय बाख्रालाई दुई वर्षअघि रु छ लाखमा बेचेका लीलबहादुर हाल भएका बाखा बेच्नका लागि पनि ग्राहक खोजेपनि पाउनुभएको छैन् ।
“गाउँका सबै बाख्रा गोठ मासिए, मैले पनि एक सय ५० मा झारेको छुु,” लिलबहादुरले भन्नुुभयो “छोरानातीले यो पेशा अगालेनन् । विदेशतिर लागे । बाख्रा बेच्न ग्राहक खोजेको छु । पाएको छैन् ।” भेडाबाख्रा पालेर लीलबहादुरका दम्पत्तीले १० जना छोराछोरी हुर्काएको र घरब्यवहार चलाएको बताउनुभयो ।
उहाँले कान्छा छोरा रासबहादुर पुनलाई अस्ट्रेलीया पठाउनुभएको छ । तीन जना घरमै छन् । घरमा भएकामध्य साहिला छोरा पक्षघातका बिरामी छन् । छ जना छोरीको बिहेबारी भइसकेको छ । जवान हुँदा गाउँगाउँमा आएर भारतीय र गोर्खा सैनिकमा भर्ति गराउने चलन रहेपनि भेडागोठमै रमाएका लीलबहादुरलाई लाहुुरे सपना देख्नुभएन् ।
उहाँले वार्षिक १५÷२० वटा खसीबोका र १०÷१५ वटा माउ बाख्रा बेच्नुहुन्छ । चारदेखि पाँच वर्ष पालेको बोका र खसीलाई रु ३० हजारसम्ममा बिक्री गर्नुहुन्छ । खसी मासु र बोका बली चढाउन बिक्री हुुन्छ । माउ बाख्रा भने घरमा पाल्नेहरुले किन्छन् ।
हिउँदमा बेसी झरेको समयमा घरपरिवार र आफन्तसँग भेटघाट भएपनि जेठदेखि असोजसम्म हिमाल फेदीका बुकीको घुम्ति गोठको बसाई कष्टप्रद हुने उहाँले सुनाउनुभयो । हप्तौसम्म झरि पर्दा, भेडाबाख्रा हराउँदा, जङ्गली जनावरले दुःख दिँदा, घर परिवारसँग भेटघाट नहुँदा न्यास्रो लाग्ने गरेको उहाँको अनुभव छ । लेक जाँदा बर्खा यामलाई पुग्ने खाद्यान्न पनि लैजानुपर्छ ।
रेडियोमा गित, समाचार सुुनेर मनोरञ्जन लिने उहाँलाई पछिल्लो समय मोवाइल फोनको सुविधा भएपछि साँझ, बिहान घरपरिवार, आफन्तसँग हालखबर सोध्न र गफिन सजिलो भएको छ । गोठाला बस्दा हिमालको फेदीमा सुन्दर दृष्य अवलोकन गर्न पाउँदा रमाइलो मान्ने उहाँले चितुवा र ब्याँसोले भेडाबाख्रालाई आक्रमण गर्ने र मारेर क्षति पु¥याउने क्रम बढेको बताउनुभयो । बाख्रालाई जङ्गली जनावरबाट बचाउन र आफ्नो सुरक्षाका लागि लीलबहादुरले भोटे कुुकुर पनि पाल्नुभएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- प्रतिनिधिसभा बैठकः यस्तो छ आजको सम्भावित कार्यसूची
- मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
- युक्रेन-अमेरिकाबीच समझदारी: अस्थायी युद्धविरामको सहमति
- युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू
- सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला
- सिरियामा सर्वसाधारणको हत्या तुरुन्तै बन्द हुनुपर्छ : संयुक्त राष्ट्रसङ्घ
- सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु
- जसलाई महिला दिवसले छोएन…
- अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर अन्धकारमा
