दक्षिण कोरियामा डढेलो निभाउन हेलिकप्टर र सेना परिचालन

दक्षिणपूर्वमा धेरै दिनदेखि जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका दक्षिण कोरियाली अधिकारीहरूले सोमबार दर्जनौँ हेलिकप्टर, हजारौँ अग्निशामक र सैनिकहरू परिचालन गर्ने बताएका छन् ।

डढेलोबाट अहिलेसम्म चार जनाको मृत्यु भएको छ र अधिकारीहरूले उच्च हावा र बढ्दो तापक्रमले आगो निभाउने प्रयासमा बाधा पुर्‍याइरहेको चेतावनी दिएका छन् ।

युसिओङमा करिब सात हजार हेक्टर जमिन प्रभावित भएको र करिब छ सय मानिसलाई खाली गरिएको कोरिया वन सेवाका प्रमुख लिम साङ–सिओपले एक प्रेस ब्रिफिङमा बताउनुभयो ।

“आगो निभाउन कुल ५७ वन अग्निशामक हेलिकप्टर परिचालन गरिनेछन्”, सैनिकहरूसहित दुई हजार छ सयभन्दा बढी अग्नि नियन्त्रणकर्मी ‘आफ्नो सम्पूर्ण शक्तिसँग जवाफ दिन’ परिचालन गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो ।

आगो आंशिक रूपमा नियन्त्रणमा आएको थियो तर सोमबार दिउँसोसम्म पनि जलिरहेको थियो ।

युसिओङमा एएफपी फोटोग्राफरले बाक्लो कालो धुवाँले ढाकिएको सूर्य देखेका थिए भने आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको थियो ।

वन एजेन्सीले उत्तर र दक्षिण ग्योङसाङ प्रान्त, बुसान र डेजियोन लगायत धेरै स्थानमा ‘गम्भीर’ आगोको चेतावनी जारी गरेको छ ।

सियोलको दक्षिणपूर्वमा लगभग दुई सय ५० किलोमिटर टाढा दक्षिण ग्योङसाङ प्रान्तको सानचेओङ काउन्टीमा सप्ताहन्तमा ठूलो वनडढेलोमा चार जनाको ज्यान गएको थियो ।

त्यो आगो पनि सोमबारसम्ममा आंशिक रूपमा नियन्त्रित भएको थियो – तर अझै जलिरहेको थियो ।

सरकारले ‘देशभर एकैसाथ वनडढेलोहरूले पु¥याएको व्यापक क्षतिको’ उल्लेख गर्दै प्रभावित क्षेत्रहरूमा आपत्कालीन अवस्था घोषणा गरेको छ ।

सोमबार कार्यवाहक राष्ट्रपतिका रूपमा पुनःस्थापित भएका प्रधानमन्त्री हान डक–सुले केन्द्रीय विपद् र सुरक्षा प्रतिकार्य मुख्यालयको भ्रमण गरी अधिकारीहरूलाई ‘वन डढेलो पूर्ण रूपमा निभाउन’ मिलेर काम गर्न आग्रह गर्नुभयो ।

“यो साँच्चै हृदयविदारक घटना हो”, सोमबार पछि आगोबाट प्रभावित मानिसहरूसँग भेट गर्ने कुरा गर्दै उहाँले भन्नुभयो ।

मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका नेता ली जे–म्युङले अधिकारीहरूलाई ‘आगो छिटो र सुरक्षित रूपमा निभाउन आफ्ना सबै साधनहरू परिचालन गर्न’ र कुनै पनि थप वनडढेलो रोक्न थप उपायहरू अपनाउन आग्रह गर्नुभयो ।

गर्मी लहर वा भारी वर्षा जस्ता चरम मौसमका केही प्रकार जलवायु परिवर्तनसँग स्थापित सम्बन्ध छ ।

अन्य घटना जस्तै वनडढेलो, सुक्खा, हिमपात र उष्णकटिबन्धीय आँधीहरू जटिल कारकहरूको संयोजनबाट उत्पन्न हुन सक्छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link