पाल्पाको फोक्सिङकोट र रिमिघा लेकमा बहुमूल्य जडीबुटी यार्सागुम्बा फेला परेको छ। ललितपुरको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणले उक्त वस्तु यार्सागुम्बा भएको पुष्टि गरेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए।
गत साता रिमिघा लेकमा झाडी सफाइ र सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्दा यार्सागुम्बासदृश वस्तु भेटिएको थियो। उक्त वस्तुको पहिचानका लागि प्रयोगशालामा पठाइएको थियो। फेला परेको क्षेत्रमा गाउँपालिकाले प्रवेश निषेध गरेको छ र सूचना जारी गरी सर्वसाधारणलाई उक्त क्षेत्रमा जान रोक लगाएको छ।
प्रयोगशालाको प्रतिवेदनपछि जिल्ला सुरक्षा समितिको बैठकले यार्सा फेला परेको क्षेत्रमा केही दिन प्रवेश निषेध कायम राख्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले रिमिघा लेकमा यार्सा भएको पुष्टि भएको तर यसको प्रजाति र औषधीय महत्वबारे थप अध्ययन आवश्यक रहेको बताए। १,८०० मिटर उचाइमा यार्सा फेला परेपछि स्थानीयवासी उत्साहित छन्।
यार्सागुम्बा हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने विश्वकै बहुमूल्य औषधीय जडीबुटी हो। नेपाल यसको आपूर्तिमा चीनपछि दोस्रो स्थानमा छ। यसमा शक्तिवद्र्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सो, मिर्गौला, कलेजो र मुटु रोगको औषधि बनाउने गुण हुन्छ। सामान्यतया ३,५०० देखि ५,५०० मिटर उचाइमा पाइने यार्सागुम्बा च्याउ र पुतलीको लार्भाको संयुक्त रूप हो, जसलाई आयुर्वेदमा उच्च औषधीय महत्वको मानिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तीन महिनाका लागि यारी भन्सार कार्यालय ठप्प
- तीन पुस्तादेखि टमाटर खेती
- हिउँदयामको चिसोमा मुस्ताङका पूर्वाधार काम पूर्ण रूपमा ठप्प
- सिड्नीबाट एक महिनामा युवाहरूको दश शव नेपाल पठाइयो !
- भार्सेका पाखा किबीले ढाक्यो
- इरानको आन्दोलन : राजतन्त्र र युवराज रेजा पहलभी
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- गुर्जा सडक सञ्जालमा जोडिँदै
- पर्व अनुसार फरक आकारको ढिक्री बनाउँदै थारू महिलाहरू
- नेपालमा विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै