भारतको अहमदाबादमा एयर इन्डिया विमान दुर्घटना

अहमदाबाद लन्डनका लागि उडेको विमान दुर्घटनाग्रस्त

भारतको अहमदाबादबाट लन्डनको ग्याटविक विमानस्थलतर्फ उडेको एयर इन्डियाको विमान (उडान नं. एआइ १७१)  टेकअफ गरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ। यो विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको मेघानी नगर क्षेत्रमा रहेको एक बस्तीमा खसेको थियो, जसका कारण ठुलो क्षेत्रमा आगलागी भएको छ। यो दुर्घटना आज दिउँसो लगभग १:३८ बजे भएको  भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

हाल प्राप्त जानकारीअनुसार विमानमा २४२ यात्रु र चालक दलका सदस्यहरू सवार थिए। दुर्घटना दिउँसो १ देखि २ बजेबिच भएको बताइएको छ। प्रारम्भिक जानकारीले विमान टेकअफको ५ देखि १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको सङ्केत गरेको छ। दुर्घटना भएको क्षेत्रमा धुवाँको ठुलो मुस्लो देखिएको छ र उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको खबर बाहिर आएको  छ।

एयर इन्डियाले यो घटनाको पुष्टि गर्दै एक विज्ञप्ति जारी गरेको छ, जसमा उनीहरूले हाल विवरणहरू सङ्कलन गरिरहेको र प्रभावितहरूलाई सहयोग गर्न हर सम्भव प्रयास गरिरहेको बताएका छन्। गुजरातका मुख्यमन्त्रीले पनि उद्धार कार्यमा सहयोग गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। यद्यपि, हताहतको सटीक सङ्ख्या हालसम्म स्पष्ट भएको छैन।

सामाजिक सञ्जाल र समाचार स्रोतहरूका अनुसार, यो विमान बोइङ ७८७ ड्रीमलाइनर भएको बताइएको छ। दुर्घटनाको कारणबारे हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन, तर प्रारम्भिक अनुमानहरूले प्राविधिक खराबी वा अन्य अप्रत्याशित परिस्थितिलाई सङ्केत गरेका छन्। भारतीय उड्डयन प्राधिकरण र सम्बन्धित निकायहरूले घटनाको छानबिन सुरु गरिसकेका छन्।

स्थानीय बासिन्दा र उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा तत्काल सहायता प्रदान गरिरहेका छन्। मेघानी नगरको बस्तीमा भएको यो दुर्घटनाले स्थानीय समुदायमा पनि ठुलो असर पारेको छ। सडकहरू बन्द गरिएको छ र आपतकालीन सेवाहरू पूर्ण रूपमा परिचालित छन्।

 एयर इन्डियाले यात्रुका परिवारहरूलाई सम्पर्क गर्न हटलाइन नम्बरहरू उपलब्ध गराउने तयारी गरिरहेको छ।

थप जानकारी आउन बाँकी………

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link