अस्तित्वगत पीडाले उत्पन्न वैचारिक तनाव 

पछिल्लो समयमा नेपालमा सामाजिक सम्बन्ध, सामुदायिक अन्तरक्रिया र सार्वजनिक बहसमा डाह, ईर्ष्या, हीनताबोध र शक्तिहीनता जस्ता भाव ज्वलन्त समस्याका रूपमा देखा परेका छन्। यी भावनाले व्यक्तिलाई मात्र नभई राजनीतिक, सामाजिक, सामुदायिक समूहबिच पनि आक्रामकता, नकारात्मक प्रतिस्पर्धा र शत्रुतापूर्ण व्यवहारलाई बढवा दिएका छन्।

यसै सन्दर्भमा, पङ्कज मिश्रको ‘The Age of Anger’ मा प्रस्तुत ‘Ressentiment’ (असन्तुष्टता) को अवधारणाले नेपाली समाजमा देखिएका यी भावनात्मक तथा सामाजिक गतिशीलतालाई विश्लेषण गर्न महत्त्वपूर्ण आधार प्रदान गर्दछ। मिश्रका अनुसार ‘Ressentiment’ (असन्तुष्टता) भन्नाले अरूको अस्तित्वप्रति हुने त्यस प्रकारको रिस हो, जुन ईर्ष्या, हीनताबोध र शक्तिहीनताको मिश्रणबाट उत्पन्न हुन्छ। यस आलेखमा सुरुमा म मिश्रको असन्तुष्टता अवधारणाको संक्षिप्त विश्लेषण गर्नेछु र त्यसपछि नेपाली सामाजिक-सांस्कृतिक सन्दर्भमा डाह, ईर्ष्या, हीनताबोध र शक्तिहीनताबाट उत्पन्न हुने यो प्रतिक्रियाको स्वरूप, कारक र परिणामबारे छलफल गर्नेछु।

‘Ressentiment’ ले मानिसको मनोविज्ञानभित्र लुकेको अस्तित्वगत पीडा र रिसलाई जनाउँछ। मिश्रका अनुसार आधुनिक विश्वमा व्याप्त वैचारिक सङ्कटको मूल कारण नै यही हो। यो भाव औपचारिक समानता र संरचनागत असमानताको द्वन्द्वबाट उत्पन्न हुन्छ। समाजमा कसैलाई कस्तो लाग्छ भने अरू व्यक्ति वा समूहको सफलता देख्दा उसलाई उपेक्षित, अपमानित र शक्तिहीन महसुस हुन्छ। यसको प्रतिक्रिया स्वरूप उसमा ईर्ष्या, डाह र वैमनस्य भाव उत्पन्न हुन्छ, जसले त्यो व्यक्तिलाई आत्म-सुधारभन्दा पनि अरूको निन्दा र शत्रुतापूर्ण प्रतिक्रियातर्फ धकेल्दछ।

यस प्रकारको असन्तुष्टता नेपाली समाजमा स्पष्ट रूपमा देखिन्छ। जस्तै:

  • सीमित आर्थिक अवसरका कारण योग्यता भए पनि सफलता नपाउँदा उत्पन्न निराशा;
  • सामाजिक सञ्जालमा ग्लोबल जीवनशैलीको प्रदर्शन देख्दा आफ्नो अवस्थालाई निकृष्ट ठान्ने प्रवृत्ति; वा
  • कुनै समूहको सामाजिक-राजनीतिक सफलता, उपलब्धि र पहुँचलाई आफ्नो वञ्चितीकरणको प्रमुख कारण मानेर उत्पन्न हुने आक्रोश।

तसर्थ, मिश्रका लागि Ressentiment रिस मात्र नभई आधुनिकतासँगै पूरा नभएका र नगरिएका प्रतिबद्धताबाट सिर्जित हीनताबोध, ईर्ष्या र शक्तिहीनताको विस्फोटक मिश्रण हो, जसले समाजमा भित्रभित्रै असन्तोष र आन्तरिक हिंसा फैलाउँछ।

यसरी मिश्रले विश्वव्यापी आधुनिकता, वैश्वीकरण, व्यक्तिगत स्वतन्त्रता र समताको अपेक्षाबिच देखा परेका सामाजिक असमानता, निरुत्साह तथा विभाजनलाई ‘असन्तुष्टता’ (Ressentiment) का रूपमा व्याख्या गरेका छन्। उनको तर्क अनुसार औपचारिक समानता (‘सम-अधिकार’) र संरचनागत असमानताको द्वन्द्वले Ressentiment को आधार तयार गर्छ। अर्थात्, जब मानिसले आधुनिक प्रगति र आर्थिक अवसरबाट अपेक्षा गरे अनुसारको प्राप्ति गर्न सक्दैनन्, अनि उनीहरू हीनताबोध र असन्तुष्टिको भावनामा डुब्छन्। यस भावनात्मक अवस्थामा व्यक्ति वा समूहले आफूलाई ‘अरूबाट अलग्गै छुट्टाइएको’ वा ‘पछाडि पारिएको’ महसुस गर्छन् र त्यसको प्रतिक्रिया स्वरूप अर्को समूहप्रति आक्रामक बन्न थाल्छन्। मिश्रले यो अवस्था व्यक्तिगत तहमा मात्र नभई असन्तुष्ट जनताले आन्दोलन वा सामूहिक प्रतिक्रियाको माध्यमबाट राज्य वा सरकार विरुद्ध व्यक्त गर्न सक्छन् भनेर व्याख्या गरेका छन्।

नेपाल आधुनिकीकरण, शिक्षा, यातायात, सञ्चार, सूचना प्रवाह र वैश्वीकरणका प्रक्रियाबिच रहेको छ। तर यसै क्रममा धेरै मानिस वा समूहले ‘आधुनिकताको लाभ’ पूर्णरुपमा प्राप्त गर्न नसकेको वा अपेक्षाभन्दा कम प्राप्त गरेको महसुस गरेका छन्। यही सन्दर्भमा मिश्रको विचारलाई आधार मान्दै हेर्दा यस प्रकारका गतिशीलताहरू स्पष्ट देख्न सकिन्छ:

जस्तै, नेपालमा जातीय, क्षेत्रीय, लैङ्गिक र आर्थिक संरचनागत असमानताको अनुभव आज पनि व्यापक छ। जब राज्यले ‘पढ, मेहनत गर, अवसर पाउँछौ’ भन्ने सन्देश दिएपछि लेखपढ गरेको अब्बलले पनि अवसरबाट वञ्चित हुन बाध्य हुन्छ वा बनाइन्छ, अनि उसले “म किन सफल भइनँ?” भन्ने प्रश्न गर्न थाल्छ। यहीँ मिश्रका अनुसार Ressentiment को बि#उ रोपिन्छ। सहर र गाउँ, उच्च र कम आय वर्ग, पहाडी र तराई विभाजनले ‘म पछाडि पारिएको’ भन्ने महसुस गराउँछ र त्यसले हीनता तथा डाहलाई उत्प्रेरित गर्छ।

यसका अतिरिक्त, सूचना-प्रविधि-सञ्चारको विकासले मानिसहरूलाई सजिलै ‘अरू’सँग आफ्नो अवस्था तुलना गर्न सहज बनाएको छ। विवाह, शिक्षा, सामाजिक सञ्जाल, विदेशमा रोजगार गरेका साथी वा व्यवसायी छिमेकी आदि माध्यमबाट ‘म यस्तो हुनुपर्ने  तर बन्न सकेको/सकेकी छैन’ भन्ने मनोविज्ञान बलियो बन्दै जान्छ। यसरी मिश्रले आधुनिक डिजिटल माध्यमलाई Ressentiment लाई संवेदनशील बनाउने अर्को कारक मान्छन्। नेपालमा पनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यमका कारण “अरूले यस्तो घर बनायो, विदेश गए, कार किने” जस्ता दृश्यको सामना दैनिक हुने भएकाले, अपेक्षा र वास्तविकता बिचको अन्तरले डाह र हीनताबोधलाई अझ तीव्र रूपमा उत्पन्न गरेको देखिन्छ।

त्यस्तै, नेपालमा धेरै युवा ग्रामीण क्षेत्रबाट सहर वा विदेशतिर काम खोज्न जान्छन् तर उनीहरू परिणामविहीन वा न्यून प्रतिफलको अवस्थामा फर्किन्छन्। यति बेला उनीहरूलाई सामाजिक रूपमा आफू ‘बेकार’ भएको अनुभूति उत्पन्न हुन्छ। मिश्रले यी व्यक्तिलाई ‘आधुनिक हुँदै गएको’ समाजका “आधुनिकताको भोजमा निम्तो नपाएका पाहुना” को रूपमा व्याख्या गर्छन्। यसले उनीहरूमा आक्रामक प्रवृत्ति जन्माउन सक्छ र Ressentiment को भावनात्मक अवस्थाबाट अगाडि बढेर नेपाली समाजमा ‘अरू’ को विरोध, तिरस्कार, अपमान वा आक्रमण गर्ने प्रवृत्ति देखिन्छ। यी सबै Ressentiment को राजनीतिक/सामाजिक परिणति हुन्, जहाँ व्यक्ति वा समूहले आफ्नो विफलता वा हीनताबोधलाई ‘ठुलो शत्रु’ प्रतिक्रोध र प्रतिकारको रूपमा रूपान्तरण गर्छ।

रिस र ईर्ष्याको मूलभूत तहमा शक्तिहीनताको अनुभव हुन्छ। आफूले संसारमा अर्थपूर्ण प्रभाव छोड्न नसकेको, सामाजिक क्रियाशीलता सीमित भएको वा अवसरबाट वञ्चित भएको यो अनुभवले व्यक्तिलाई निष्क्रिय बनाउँदैन; बरु आजित, विद्रोही पक्षमा धकेल्दछ।

समाजशास्त्रीय हिसाबले हेर्दा हाल नेपालमा ‘डाह, ईर्ष्या, हीनताबोध र शक्तिहीनताको लघुताभास’ को समस्या एउटा गम्भीर सामाजिक चुनौती बनिसकेको छ। यसलाई व्यक्तिको दोष वा कमजोरी मात्र मान्नु हुँदैन। यसको जरा आधुनिकता, सामाजिक अपेक्षा, असमान अवसर, तथा डिजिटल सञ्चारले सहज तुल्याएको सामाजिक तुलनाको वातावरणमा छ। मिश्रले सुझाएको ‘Ressentiment’ को अवधारणाले यो समस्या बुझ्न र विश्लेषण गर्न महत्त्वपूर्ण आधार दिन्छ। हामीले यसलाई बुझेर मात्र होइन, सक्रिय सामाजिक नीति, समावेशी कार्यक्रम र व्यक्तिगत-सामाजिक जागरूकताका माध्यमबाट समाधानतर्फ लैजान सक्दछौँ। नेपालले यस्तो सामाजिक गतिशीलता (जहाँ सबैले आफूलाई सहभागी, समलाभी र सम्मानित महसुस गर्छन्) सृजना गर्न सकेमा मात्र सामाजिक स्थिरता, सहकार्य र साझा विकास सम्भव हुनेछ।

नेपालजस्तो विविध रूपमा असमान समाजमा मेरिटोक्रेसीमा आधारित लोकतन्त्र अपनाउँदा राज्यले सार्वजनिक प्रशासन र रोजगारीमा स्पष्ट तथा औपचारिक प्रतिस्पर्धात्मक परीक्षा प्रणाली र पेसागत मापदण्ड लागू गरी नियुक्ति प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउनु अपरिहार्य छ; यसले क्षमतावान् युवालाई अवसर प्रदान गर्छ र समग्र संस्थागत क्षमतामा सुधार ल्याउँछ। यही कुरा राज्यका अन्य संस्था र राजनीतिक दलहरूमा पनि लागू हुन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link