प्रतिकात्मक हिंसा: नेपाली समाजको गहिरो रोग

नेपाली समाजमा महिलामाथि हुने हिंसाको गहन विश्लेषण गर्न फ्रान्सेली समाजशास्त्री पियरे बुर्दिउको ‘प्रतिकात्मक हिंसा (Symbolic Violence)’ को अवधारणा अत्यन्त प्रासङ्गिक देखिन्छ। प्रतिकात्मक हिंसा भनेको शारीरिक बल प्रयोग नगरी संस्कृति, भाषा, शिक्षा र सामाजिक संरचनामार्फत गरिने सूक्ष्म दमन हो। यसले वर्चस्वशाली समूहको आधिपत्यलाई ‘स्वाभाविक’ र ‘वैध’ देखाउँछ, जसका कारण उत्पीडित वर्गले आफ्नो अधीनस्थतालाई आन्तरिक रूपमा स्वीकार गर्न बाध्य हुन्छन्। नेपाली सन्दर्भमा यसको अभिव्यक्ति विभिन्न रूपमा देख्न सकिन्छ। उदाहरणका लागि, जातीय विभेदमा दलितलाई ‘छुवाछुत’ को मान्यताद्वारा सार्वजनिक स्थान र संस्कारबाट बहिष्कृत गर्ने प्रथालाई ‘परम्परा’ भनेर स्वाभाविकीकरण गर्नु प्रतिकात्मक हिंसाको एक सशक्त उदाहरण हो। त्यस्तै, महिलालाई ‘कोमल’ वा ‘घरायसी’ जस्ता सीमित भूमिकामा मात्र योग्य ठान्ने र निर्णय प्रक्रियाबाट बाहिर राख्ने सामाजिक मान्यताले महिलाको अधीनस्थता कायम राख्छ। यस हिंसाको सबैभन्दा गम्भीर पक्ष के हो भने पीडित आफैँले आफ्नो स्थितिलाई ‘भाग्य’, ‘कर्म’ वा ‘योग्यताको कमी’ मानेर स्विकार्छन्। परिणामस्वरूप, उनीहरू वर्चस्वको संरचनामाथि प्रश्न गर्न असमर्थ हुन्छन्। नेपाली समाजमा महिलामाथि हुने हिंसा यसैको प्रत्यक्ष अभिव्यक्ति हो। यो एउटा संस्थागत, संरचनात्मक र ऐतिहासिक निरन्तरतामा निर्मित सामाजिक यथार्थ हो।

इटालियन मार्क्सवादी विचारक एन्टोनियो ग्राम्सीको ‘हेजेमोनी (Hegemony)’ को सिद्धान्तले व्याख्या गरेझैँ कुनै पनि वर्चस्व बल प्रयोगमार्फत मात्रै कायम रहँदैन। बरु यो “सहमति” मार्फत स्थापित हुन्छ। नेपाली समाजको पितृसत्तात्मक व्यवस्था पनि यस्तै सांस्कृतिक हेजेमोनी मार्फत सञ्चालित छ। जब हामी “घरायसी काम महिलाको भाग हो” भन्ने मान्यतालाई “सहमति”ले सहजै स्वीकार गर्छौँ, अनि हामी वास्तवमा यस वर्चस्वको पुनरुत्पादनमा स्वतः संलग्न भइरहेका हुन्छौँ। लैङ्गिक सामाजिकीकरणको प्रक्रियामा “छोरालाई घरका काम सिकाउने होइन, छोरीलाई सिकाउने हो” भन्ने प्रथा समाजमा सजिलै स्विकारिएको हुन्छ। यो ज्ञानमीमांसीय हिंसा (Epistemological Violence) हो। यसले बाल चेतनामा नै लैङ्गिक हिंसालाई स्विकार्ने संरचनाको छाप बस्ने गर्दछ, जसले पछि जीवनभर उनीहरूको सामाजिक व्यवहार, अपेक्षा र सम्बन्धलाई निर्धारण गर्छ।

घरेलु हिंसालाई विश्लेषण गर्न दोस्रो लहरकी नारीवादी सिद्धान्तकार केट मिलेटले प्रतिपादन गरेको “व्यक्तिगत मामला भन्नु नै राजनीतिक हो (The Personal is Political)” भन्ने अवधारणाले खास अर्थपूर्ण महत्त्व राख्छ। “लोग्ने हो। कहिलेकाहीँ स्वास्नीलाई एक-दुई थप्पड हान्दा के ठुलो कुरो भयो र!” “अर्काको घरको कुरो हो, मेरो घरमा म जेसुकै गरूँ, हाम्रो व्यक्तिगत मामला!” जस्ता कथनले घरेलु हिंसालाई निजी, व्यक्तिगत र सामान्य घटनाको रूपमा प्रस्तुत गर्छन्। तर समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा यो “राजनीतिक” कार्य हो। यो कार्य “शक्ति सम्बन्धको अभिव्यक्ति र पितृसत्तात्मक नियन्त्रणको माध्यम” हो। अनि यसैको सहजै स्वीकारोक्ति र सामान्यीकरण नै हिंसाको सबैभन्दा प्रभावकारी स्वरूप हो। जब हिंसा ‘सामान्य’ बन्छ, यो अदृश्य हुन्छ। जब यो अदृश्य हुन्छ, यो प्रश्नविहीन हुन्छ। र जब यो प्रश्नविहीन हुन्छ, यो संस्थागत हुन्छ। यही संस्थागतीकरणले घरेलु हिंसालाई पारिवारिक संरचनाको स्वीकृत भागको रूपमा स्थापित गर्दछ। हाम्रो घरपरिवार र समाजमा यही भइरहेको छ।

बहु-सांस्कृतिक विविधता भएको हाम्रो समाजमा महिला हिंसाका जटिलतालाई बुझ्न किम्बर्ले क्रेनशोको ‘बहु-आयामिकता (Intersectionality)’ को अवधारणा पनि विशेष प्रासङ्गिक छ। महिलाले अनुभव गर्ने हिंसा लैङ्गिक पहिचानमा मात्र आधारित नभएर, जाति, वर्ग, धर्म, भूगोल र सामुदायिक पहिचानको बहु-आयामिक थुप्रोमा निर्मित हुन्छ। मधेसी र मुस्लिम समुदायका महिलाले अनुभव गर्ने बहुविवाह, बालविवाह, दाइजो प्रथा, घुम्टोको संस्कृति आदि यी सबै बहु-आयामिक उत्पीडन (Intersectional Oppression) का उदाहरण हुन्। अथवा बहु आयामिक उत्पीडन भन्नाले एउटै व्यक्तिले लिङ्ग, जात, वर्ग, अपाङ्गता, भूगोल वा धर्म जस्ता विभिन्न पहिचानका कारण उत्पन्न हुने बहु–प्रकारका अन्यायको अनुभव गर्नु हो। नेपालमा कुनै पनि महिला ‘महिला’ मात्र भएको कारणले मात्र पनि हिंसाको सिकार बन्दिनन्। उनी दलित, गरिब, अपाङ्गता भएकी, ग्रामीण दुर्गम क्षेत्रकी वा एकल महिलाको रूपमा बाँचिरहेकी हुन्छिन्। अनि यी सबै पहिचान एक-आपसमा जोडिन्छन् र हिंसाको जोखिम, गम्भीरता र असरलाई थप बढाउँछन्। पहिचानका धेरै तह यसरी जोडिएर उत्पन्न हुने दमनलाई नै बहु आयामिक उत्पीडन भनिन्छ। जब हामी “मधेसी समुदायका महिला पहाडी महिलाभन्दा बढी प्रताडित छन्” भन्छौँ, हामी तथ्य प्रस्तुत गरिरहेका हुँदैनौँ, बरु बहुल सीमान्तीकरणको जटिल यथार्थलाई औँल्याइरहेका हुन्छौँ। यी महिला एकैसाथ लैङ्गिक, सामुदायिक र आर्थिक उत्पीडनको सिकार हुन्छन्। यस सन्दर्भमा घुम्टो कपडाको टुक्रा नभएर, यो सामाजिक नियन्त्रणको भौतिक प्रतीक हो, स्वतन्त्रताको निषेध हो र अधीनताको संयन्त्र हो।

शान्ति अध्ययनका विद्वान् जोहान गाल्टुङको हिंसाको त्रिकोणीय (प्रत्यक्ष, संरचनात्मक र सांस्कृतिक) हिंसा मोडेल नेपाली सन्दर्भमा सबै तीनै स्तरमा स्पष्ट देखिन्छ। प्रत्यक्ष हिंसा (कुटपिट, बलात्कार, बोक्सीको आरोपमा हत्या) दृश्य र भौतिक हुन्छ तर यो हिंसाको शिखर (Tip of the iceberg) मात्र हो, पूर्ण यथार्थ होइन। संरचनात्मक हिंसा (बालविवाह, दाइजो प्रथा, शैक्षिक असमानता, आर्थिक निर्भरता) सामाजिक संरचनामा निर्मित हुन्छ र यो कुनै व्यक्तिद्वारा नभई व्यवस्थाद्वारा सञ्चालित हुन्छ। यस्ता संरचना सामाजिक संस्थामा गहिरो गरी जरा हालेर बसेका छन्। सांस्कृतिक वा प्रतिकात्मक हिंसा (“महिला घरकी लक्ष्मी हुन्”, “पति परमेश्वर हो”, “सीता र सावित्री जस्ता बन”) जस्ता भाषिक र सांस्कृतिक निर्माणले प्रत्यक्ष र संरचनात्मक हिंसालाई वैधानिकता प्रदान गर्छन्। यिनले चेतनामा नै हिंसाको बीउ रोप्ने हुनाले यी सबैभन्दा शक्तिशाली हुन्छन्।

बुर्दिउको अर्को अवधारणा ‘ह्याबिटस (Habitus)’ले दीर्घकालीन सामाजीकरण मार्फत निर्मित स्वभावजन्य प्रवृत्तिले हिंसा कसरी पुस्तादरपुस्ता पुनरुत्पादित हुन्छ भन्ने व्याख्या गर्छ। जब महिला आफैँले आफ्ना छोरीलाई “घरको काम सिकाउन” बाध्य महसुस गर्छन् वा सासूले बुहारीलाई उत्पीडन गर्छन्, यो ह्याबिटसको कार्य हो। यसरी पीडित पनि अनजानमा उत्पीडकको भूमिकामा रूपान्तरित हुन्छन्, जसले गर्दा हिंसाको चक्र निरन्तर चल्छ।

गायत्री चक्रवर्ती स्पिभाकले उठाएको “अधीनस्थ बोल्न सक्छ त? (Can the subaltern speak)?” भन्ने प्रश्न यहाँ अत्यन्त प्रासङ्गिक छ। नेपाली महिला, विशेष गरी सीमान्तकृत समुदायका महिला ज्ञानात्मक अन्याय (Epistemic Injustice) को सिकार बनेका छन्। उनीहरूको अनुभव, ज्ञान र आवाजलाई संस्थागत रूपमा बेवास्ता गरिन्छ वा विकृत गरिन्छ। जब कुनै महिला हिंसाको विरुद्ध बोल्छिन्, उनलाई “नाटक गरिरहेकी”, “परिवार तोड्न खोजिरहेकी” वा “पश्चिमी संस्कृतिबाट प्रभावित” वा डलरे, क्रिस्चियन धर्म प्रचारक आदि भनेर लाञ्छना लगाइन्छ। यो ज्ञानात्मक हिंसा (Epistemic Violence)

यसैले सी. राइट मिल्सको ‘समाजशास्त्रीय कल्पना (Sociological Imagination)’ को अवधारणा यहाँ सान्दर्भिक हुन्छ: व्यक्तिगत समस्यालाई सामाजिक मुद्दाको रूपमा हेर्ने क्षमता। जब एक जना महिलाले घरेलु हिंसा अनुभव गर्छिन्, यो उनको व्यक्तिगत समस्या होइन, यो सामाजिक संरचनाको समस्या हो। जब हजारौँ महिला बालविवाहमा परिरहेका छन्, यो व्यक्तिगत छनौट नभएर संस्थागत हिंसा हो। “व्यक्तिगत समस्यालाई सामाजिक मुद्दाको रूपमा हेर्ने क्षमता” को दृष्टिकोणले हामीलाई पीडितलाई दोष दिने प्रवृत्ति (Victim-blaming) बाट मुक्त गराउँछ र संरचनागत परिवर्तनको आवश्यकतामाथि ध्यान केन्द्रित गराउँछ।

सबैभन्दा महत्त्वपूर्ण अर्को के कुरा भने पश्चिमी नारीवादी सिद्धान्तहरू महत्त्वपूर्ण भए पनि नेपाली सन्दर्भमा यिनको अन्धानुकरण पर्याप्त हुँदैन। हामीलाई यहाँको विशिष्ट ऐतिहासिक, सांस्कृतिक र संरचनात्मक यथार्थलाई सम्बोधन गर्न सक्ने सन्दर्भगत बुझाइ (Contextualized Understanding) चाहिन्छ। बोक्सीको आरोप, देवरानी-जेठानीको सम्बन्ध, सासू बुहारीका नाताबाट चलेका बुहार्तन संस्कृतिजस्ता नेपाली विशिष्ट संरचनाका लागि स्वदेशी समाजशास्त्रीय विश्लेषण अपरिहार्य छ। लैङ्गिक पहिचान र सम्बन्ध सामाजिक रूपमा निर्मित छन् भने तिनलाई पुनर् निर्मित पनि गर्न सकिन्छ।

महिलाहरू संरचनाको उत्पादन होइनन्, उनीहरूसँग कर्तृत्व (Agency) छ। समाजशास्त्रमा कर्तृत्व (Agency) ले सामाजिक संरचनाले निर्धारण गरेका नियम, भूमिका र सीमाभित्र रहेर पनि व्यक्तिले स्वतन्त्र रूपमा सोच्ने, निर्णय गर्ने र परिवर्तनकारी कदम चाल्न सक्ने क्षमतालाई जनाउँछ। यसको अर्थ के हो भने समाजका संरचनाले मानिसलाई ढाल्छन् तर मानिस स्वयम् पनि ती संरचनालाई चुनौती दिन, परिवर्तन गर्न वा नयाँ विकल्प सिर्जना गर्न सक्षम हुन्छन्। नेपालमा योगमाया नेउपानेदेखि आजका अधिकारकर्मीसम्मको महिला आन्दोलनले यही कर्तृत्वको सशक्त उदाहरण प्रस्तुत गर्छ जहाँ महिलाले दमनकारी व्यवस्थालाई स्वीकार नगरी प्रतिरोध, वैचारिक चेतना र सामूहिक कार्यमार्फत सामाजिक रूपान्तरणको जग बसालिरहेका छन्। तर कर्तृत्व व्यक्तिगत साहसको विषय मात्र होइन। यो संरचनाको पुनर्संरचना गर्ने सामूहिक क्षमता पनि हो। त्यसैले व्यक्तिगत प्रतिरोधले परिवर्तनको द्वार खोले पनि दीर्घकालीन न्याय र समानताका लागि संरचनागत रूपान्तरण अपरिहार्य हुन्छ। महिला हिंसा अन्त्य गर्न कानुन बनाउनु वा सचेतना अभिवृद्धि गर्नु मात्र पर्याप्त छैन। यसका लागि शिक्षा, न्याय, स्वास्थ्य र अर्थतन्त्र आदि सबै क्षेत्रमा लैङ्गिक न्यायलाई मूलप्रवाहीकरण (Mainstreaming) गर्न आवश्यक छ।

अन्तमा, नेपाली समाजमा महिला हिंसालाई सम्बोधन गर्न हामीलाई बहु-आयामिक दमनको विश्लेषण र संरचनागत रूपान्तरणको आवश्यकता छ। महिला हिंसा विरुद्धको सङ्घर्ष महिलाको मात्र नभई सम्पूर्ण समाजको मानवीकरण र न्यायीकरणको सङ्घर्ष हो। जबसम्म हामी यो संरचनागत हिंसालाई चुनौती दिँदैनौँ, तबसम्म हामी वास्तविक समतामूलक समाज निर्माण गर्न सक्दैनौँ। किनभने म्याक्स वेबरले भनेझैँ समाज भनेको सामाजिक क्रियाहरूको जाल हो र जबसम्म यो जालमा हिंसा बुनिएको हुन्छ, समाज रोगग्रस्त रहन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

डिकेन्द्र ढकाल का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link