प्रिमियर लिग र इटालियन सिरी ए उपाधि छिनोफानो अन्तिम चरणमा

युरोपियन फुटबलका दुई प्रमुख लिग इंग्ल्याण्डको प्रिमियर लिग र इटालियन सिरी एके उपाधिको छिनोफानो आगामी आइतवार हुने अन्तिम चरणका खेलहरूले गर्नेछन्।प्रिमियर लिगको उपाधि होडमा रहेका दुई टिम म्यानचेस्टर सिटी अनि लिभरपुल र सिरी ए उपाधिका दावेदार मिलानका दुई टोली एसी मिलान र इन्टर मिलान आ–आफ्ना प्रतिद्वन्द्वीसँग आइतवार राति निर्णायक प्रतिश्पर्धा गर्दैछन्।

इंग्लिस प्रिमियर लिगको स्थितिः

प्रिमियर लिगमा एउटा टोलीले ३८ खेल खेल्नुपर्ने हुन्छ। पछिल्ला दुई–तीन सिजन झैँ यसपटक पनि केबल दुई टोलीले मात्र लिग उपाधि जित्नका लागि खेलेको देखिएको छ। म्यानचेस्टर सिटी र लिभरपुललाई छाड्ने हो भने बाँकी बचेका १८ टोलीहरू केबल च्याम्पियन्स लिग र युरोपा लिगमा स्थान बनाउन अनि रेलिगेसनबाट जोगिनका लागिमात्र खेलिरहेँझैँ देखिएको छ।

लिगको ३६औँ चरणसम्म बलियो स्थितिमा देखिएको शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई उसले ३७औँ चरणमा वेस्टह्याम विरुद्ध खेलेको बराबरी महँगो पर्नसक्ने देखिन्छ। प्रिमियर लिगमा अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा सिटीको ९० अङ्क छ भने लिभरपुलको ८९ अङ्क, त्यसैले उपाधि आफ्नो पक्षमा पार्ने हो भने अन्तिम खेलमा दुवै टोलीसामु जितको विकल्प छैन। मे २२ मा सिटीले घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्नेछ भने लिभरपुलले एनफिल्डमा उल्भस्को आतिथ्यता गर्नेछ।

सिटी र लिभरपुलले आ–आफ्नो खेल हारेमा वा बराबरी मात्र खेले पनि उपाधि सिटीको पोल्टामा जानेछ तर लिभरपुललाई उपाधि जित्न निश्चित जीत आवश्यक छ। त्यसैले प्रिमियर लिग २०२२ को अन्तिम दिन रोमाञ्चले भरिएको हुने अपेक्षा गरिएको छ, चर्चित २०११ को अन्तिम चरणजस्तो, जुनबेला सिटीले इन्जुरी समयको अन्तिम सेकेन्डमा म्यानचेस्टरको घाँटीबाटै प्रिमियर लिग उपाधि खोसेको थियो।

अहिलेसम्मको प्रदर्शनलाई हेर्ने हो भने पनि दुवै टोली एकदमै सन्तुलित देखिएका छन्। दुवै टोलीमा गोल गर्ने खेलाडीको कुनै कमी छैन भने मध्यपङ्क्ति र रक्षापङ्क्तिमा पनि दुबै टोली बलिया देखिएका छन्। अङ्क तालिकामा सिटी बलियो देखिए पनि लिभरपुलले यो सिजन उत्कृष्ट फुटबल खेल्दै कारबाओ कप र एफए कपको उपाधि जितिसकेको छ भने ऊ युरोपियन च्याम्पियन्स लिगको फाइनलमा समेत पुगेको छ।प्रिमियर लिगको उपाधि होडमा पनि जीवितै रहेको लिभरपुलको एकै सिजन चार ट्रफी उचालेर किर्तिमान बनाउने सम्भावना जीवितै छ। त्यसैले केही बलियो स्थितिमा देखिए पनि सिटीले लिभरपुललाई हल्का रूपमा लिने भूल अवश्य गर्नेछैन।

यो सिजन प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने अन्तिम टोलीको छिनोफानो पनि लिगको अन्तिम दिन नै हुनेछ। वाटफोर्ड र नर्विच सिटी यस अघि नै रेलिगेसनमा परिसकेका अवस्थामा एभरर्टन, बर्नली र लिड्स युनाइटेड प्रिमियर लिगमा आफ्नो अस्तित्वका लागि भिड्दैछन्। दुई–दुई खेल खेल्न बाँकी एभरटनको ३६ र बर्नलीको ३४ अंक छ, तर एक खेलमात्र खेल्न बाँकी लिड्स युनाइटेडको ३५ अङ्क छ। गणितीय आधारमा यी तीनै टोलीको रेलिगेसनमा पर्ने सम्भावना रहे पनि विभिन्न बेटिङ साइटहरूका अनुसार लिड्स युनाइटेडको सम्भावना ज्यादा देखिएको छ। अन्तिम चरण अघि शुक्रवार खेलिने बर्नली र एस्टन भिल्ला बिचको खेल र एभर्टन र क्रिस्टल प्यालेस बिचको खेल पनि रेलिगेसनको भिडन्तमा निर्णायक साबित हुन सक्नेछन् ।

सिरी ए उपाधि होडमा मिलानका दुई टोलीः

इटालीमा यो वर्ष सिरी ए उपाधि जित्ने टोलीको मात्र होइन रेलिगेसनमा पर्ने बाँकी तीन टोलीको निर्णय पनि अन्तिम चरणका खेलहरूले नै गर्नेछ। प्रिमियर लिगमा जस्तै सिरी एमा पनि मिलानका दुई टोली इन्टर र एसी मिलान मात्र उपाधि होडमा बाँकी छन्। ३७ खेलको समाप्तिसँगै एसी मिलान ८३ अङ्क लिएर पहिलो स्थानमा छ भने इन्टर ८१ अङ्कसहित दोस्रो स्थानमा।

मे २२ का दिन इन्टरले आफ्नो घरेलू मैदानमा साम्पाडोरियाको सामना गर्दैछ भने एसी मिलानले सासुओलोको भ्रमण गर्नेछ। अन्तिम पटक २०११ सिजनको लिग उपाधि जितेको एसी मिलान सासुओलो विरुद्ध यस सिजनको आफ्नो अन्तिम लिग खेल जित्दै एक दशकभन्दा लामो अवधिपछि सिरी एको उपाधि चुम्न चाहन्छ, यद्यपि लिग उपाधि जित्नका लागि उसलाई अन्तिम खेलमा बराबरी नै पर्याप्त छ।

यता सिरी एमा युभेन्टसको एक दशक लामो दबदबाको अन्त्य गर्दै २०२१ को लिग उपाधि जितेको इन्टरलाई उपाधि हात पार्न निश्चित जितका साथसाथै भाग्यको पनि उत्तिकै दह्रो साथ चाहिन्छ। यदि एसी मिलानले आफ्नो अन्तिम खेल बराबरी खेलेको अवस्थामा इन्टरलाई लिग उपाधि हात पार्न कम्तीमा १५ गोलको अन्तरले खेल जित्नुपर्ने हुन्छ।

सिरी एमा यसपटक उपाधिको होड जतिको रोचक छ, त्यो भन्दा पनि रोमाञ्चक प्रतिष्पर्धा रेलिगेसनबाट जोगिने टोलीहरूका बिच चलिरहेको छ। लिग तालिकाको पुछारबाट अन्तिम तीन स्थानमा रहेका टोली भेनेजिया, जेनोआ र काग्लियरी आफूलाई रेलिगेसनबाट बचाउन संघर्षरत छन्।

अन्तिम चरणको खेलमा भेनेजिया र काग्लियरी आमनेसामने हुँदैछन्। भेनेजियाका सामु सिरी एमा आफ्नो अस्तित्वलाई कायम राख्न जितको विकल्प छैन भने काग्लिअरीलाई बराबरी नै पर्याप्त छ। भेनेजियाले काग्लिअरीलाई हराएको खण्डमा जेनोआले रेलिगेसन जोगाउन आफ्नो अन्तिम खेलमा बोलोग्नालाई हराउनै पर्ने हुन्छ ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
प्रिमियर लिग र इटालियन सिरी ए उपाधि छिनोफानो अन्तिम चरणमा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link