बौद्ध धर्म–दर्शनमा देवीदेवताको स्थान

बसन्त महर्जन

बुद्ध र बौद्ध धर्म–दर्शनका बारेमा आधारभूत जानकारी प्राप्त गरिनसकेका मानिसले गौतम बुद्धलाई पनि साक्षात् देवता नै ठान्छन्। यस्तै बौद्ध धर्म–दर्शनको चर्चामा देवतालगायतका प्रसङ्गहरूलाई पचाउन नसक्ने अर्को वर्ग पनि छ।
बौद्ध धर्मदर्शनको पृष्ठभूमिमा टेकेर भन्नुपर्दा देवता भन्ने नै हुँदैन भन्ने मान्यता र अन्य धर्म सम्प्रदायमा रहेका देवीदेवताजस्तै बौद्ध धर्ममा पनि हुन्छन्, समाजमा सर्वोच्च स्थान राख्छन् भन्ने बुझाइ मिथ्या दृष्टि हो। विरोधाभासपूर्ण देखिएको यो कथ्यलाई छिचोल्न नसक्दा झन् अलमलमा परिने जोखिम छ।
बौद्ध धर्म–दर्शनमा षट्–योनिको कुरा आउँछ। समस्त जीवित प्राणी यिनै षट्योनिमध्ये कुनै न कुनै एउटा योनिमा बाँचिरहेका हुन्छन्। एउटा योनि हो– मनुष्य। यो योनिमा जन्मेर जे जति राम्रा–नराम्रा कामहरू गरिन्छन्, त्यसको नतिजा पनि राम्रो–नराम्रो नै हुन्छ र त्यसैअनुसार भोग्नै पर्दछ। यसलाई शास्त्रीय भाषामा पाप पुण्य भनिन्छ। पाप भोग वा पुण्य भोग मुनष्य योनिमा मात्रै नभएर अन्य योनिमा जन्मेर पनि भोग्नुपर्ने हुन्छ। यसलाई कर्म सिद्धान्त पनि भनिन्छ। नराम्रो काम गरेपछि नराम्रै कर्म विपाक भोग्नुपर्ने हुन्छ र त्यसअन्तर्गत प्रेतलगायतका अगतिहरूमा जन्म लिई दु:ख पाउने हुन्छ। राम्रो कर्म गरेबापत देवयोनि र मनुष्य योनि पनि प्राप्त हुन्छ। मुनष्य योनिमा कर्मसिद्धान्तअनुसार नै राम्रो नराम्रो सबै फल भोगिरहेका पनि हुन्छौं। देवयोनिमा पनि अनेक तह हुन्छन्। इन्द्रलोकमा जन्मनेहरू सबै इन्द्र देवता हुन्छन् भने ब्रह्म लोकमा जन्मिनेहरू सबै ब्रह्मा देवता हुन्छन्। यसबाट स्पष्ट हुन्छ, इन्द्र र ब्रह्मा कुनै देवताविशेष नभएर वर्ग विशेष हुन्। त्यसमा पनि तहगत हुन्छन्।
षट्योनिमा बुद्ध पर्दैनन्। जबसम्म प्राणी षट्योनिभित्र रहन्छन्, त्यसलाई सांसारिक भनिन्छ र तिनीहरू दु:खको चक्रमा पिल्सिरहेका हुन्छन्। यसअनुसार मनुष्यलगायत सानातिना कीराफट्याङ्ग्रा र सूक्ष्मातिसूक्ष्म जीवमात्रै नभएर देवीदेवता पनि दु:खकै भुमरीमा फसिरहेका हुन्। बौद्ध धर्म–दर्शनको मुख्य उद्देश्य दु:खबाट मुक्ति हो। मुक्त प्राणी नै बुद्ध हो। यसर्थ बुद्धहरू देव र मनुष्य होइनन्।


विज्ञानले जेजति देखेको छ, त्योभन्दा विस्तृत ज्ञान आजको विज्ञानले हासिल गरेको अवस्था छ। देख्नु र नदेख्नु मान्छेको क्षमतामा पनि भर पर्दछ । आधुनिक विज्ञानले जुन ‘कस्मोलोजी’ देखाएको छ, हिजोका भौतिकवादीहरूलाई यसको पत्तो नै थिएन। ‘बौद्ध कस्मोलोजी’ अझ विस्तृत छ ।


केही राम्रो पुण्य आर्जन गरेको बलमा देवलोक प्राप्त गर्ने देवताहरू धर्म उपदेश सुनेर पुण्य लाभ गर्न बुद्धसमक्ष धाउँथे। गौतम बुद्धकी आमा मायादेवीको मृत्यु शिशु जन्मको सातौं दिनमा भएको थियो। मृत्युपछि उनको पुनर्जन्म त्रायंतीश नामको देवलोकमा एक देवपुत्रका रूपमा भएको थियो। गौतम बुद्धले इ.पू. ५२८ मा बुद्धत्व प्राप्त गरेको केही वर्षपछि तीन महिना त्रायंतीश देवलोक पुगी ती देवपुत्र (पूर्व जन्ममा मायादेवी) लगायत अन्य देवतालाई धर्म उपदेश दिएका थिए। ती धर्म उपदेशहरूको संकलन नै ‘त्रिपिटक’ को एक अर्थात् ‘अभिधम्मपिटक’ मानिन्छ।
झट्ट हेर्दा देवलोकको प्राप्तिपछि देवताको दर्जा पाउनु ठूलै उपलब्धिजस्तो लाग्ने हुन्छ तर यसको अभिलासा नराख्नमा बुद्ध जोड दिन्थे। देवलोक प्राप्त गरी देवता बने पनि पुण्य संचय क्षीण हुँदै गएपछि त्यसबाट निश्चित रूपमा पतन (च्यूत) हुन्छन् नै। एवम् रीतले दु:खको भुमरीमा परिरहेकै हुन्छन्। देवलोकमा बसेर पुण्य आर्जन गर्ने अवसर थोरै मात्र हुन्छ। जतिसक्दो छिटो क्लेश क्षय गरेर यही जन्ममा निर्वाण प्राप्तिमा जोड दिनुको खास कारण पनि यही हो।
कथंकदाचित यस जन्ममा निर्वाण प्राप्त गर्न नसके पनि पुण्य सञ्चयको आधारमा मनुष्य योनिमै जन्म लिई थप पुण्य सञ्चय वा साधना गर्न पाइन्छ। यसअनुसार मनुष्य जन्मलाई उत्तम मानिएको हो। मनुष्य योनि दुर्लभ हो तर कुशल कर्म गर्नेहरूलाई त्यही पुण्यको बलमा यो बारम्बार प्राप्त भइरहेको हुन्छ पनि।
देवता होइनन् तर व्यवहारिक रूपमा देवीदेवता भनिएका बौद्ध पात्रहरूका सम्बन्धमा अब सङ्क्षिप्त छलफल गरौं। सामान्यत: देवता भनेर चिनाइने पात्रहरू मूलत: देवता नै नभएर बोसिधसत्व वा निश्चित विद्या वा ज्ञानलाई चित्रण गर्नका लागि सिर्जना गरिएका प्रतीकहरू हुन्। ती प्रतीकप्रति पनि अपार श्रद्धा भक्ति हुनुको खास कारण ज्ञानको महत्त्व हो।
बुद्धत्वलाई नै विशेष प्रकारले बुझाउन पञ्च बुद्धको अवधारणा ल्याइएको छ। यो अवधारणा मूलत: बज्रयानी बौद्ध सम्प्रदायको हो। उनीहरूका शक्ति भनेर स्त्री पात्रहरूको पनि सिर्जना गरिएका छन्। यसरी नै प्रत्येक पञ्चध्यानी बुद्धका पुत्रको रूपमा बोधिसत्वहरूको कल्पना गरियो। यसप्रकार पञ्चध्यानी बुद्धहरू क्रमश: अक्षोभ्य, वैरोचन, रत्नसंभव, अमिताभ र अमोघसिद्धिको कुल बनेको छ। यी कुलहरूका अनेक पात्रहरू बुद्ध र बोधिसत्व हुन् तर व्यवहारमा देवी देवता भन्ने गरेको पाइन्छ। जो देवीदेवता नै होइनन्, बुद्ध र बोधिसत्व हुन्, उनीहरूलाई स्वयं बौद्धहरूले नै पनि किन देवी देवता भनेका हुन् भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। अन्य समाजमा देवीदेवताको अवधारणा रहेको र उच्च सम्मान दिनुपर्छ भन्ने बुझाइ पनि रहेकाले व्यवहारमा सहजताका लागि चलनचल्तीको भाषा नै टिपेर देवीदेवता भनिएको हो। दु:खबाट मुक्त भइसकेकालाई बुद्ध भनिएजस्तै बुद्ध हुनका लागि प्रयत्नशील साधक साधिकाहरू बोेधिसत्व हुन्।
बौद्ध धर्म होइन, बौद्ध दर्शन भन्नुपर्छ भन्ने मान्यता राख्नेहरूलाई देवीदेवताका कुरा पाच्य हुँदैन। देवीदेवताको कुरा धर्ममा मात्रै हुन्छ, बुद्धले धर्म नभएर दर्शन सिकाएका हुन्, तसर्थ बौद्ध धर्म–दर्शनमा देवीदेवताको कुरा मिलेन, बौद्धहरूले बिगार्यो भन्ने आग्रह उनीहरूमा पाइन्छ। वास्तविकता त के हो भने बौद्ध अध्ययनको सन्दर्भमा दर्शन, शिक्षा, धर्म, बुद्धवचन सबै पर्यायवाची शब्द हुन्, जसलाई जुन शब्द मन पर्छ त्यही प्रयोग गर्दा हुन्छ। बुद्धले कोरा ज्ञान मात्रै सिकाएका छैनन्, अभ्यासमा पनि जोड दिएका छन् र बौद्धहरू त्यसलाई व्यवहारिक जीवनमा अपनाउँछन् पनि। यस क्रममा बौद्ध संस्कृतिको विकास भयो। संस्कृति भन्ने कुरा भूगोल र स्थानियताअनुसार पनि विकास हुने भएका कारण त्यसमा विविधता आउने गर्दछ।
मनुष्य र पशु योनिबाहेक अन्य प्रेत, असुर, देव योनिहरू भौतिक आँखाले प्रत्यक्ष देख्न सकिन्न। देख्न नसकिने भएर यी कुराहरू वैज्ञानिक भएन भनेर यसलाई उपेक्षा गर्नेहरू पनि हुन्छन्, जसलाई भौतिकवादी दृष्टिकोण भनिन्छ। भौतिकवादीहरूको चाहना बुद्धबाट पूर्ति हुँदैन किनभने बुद्ध र बौद्ध धर्मदर्शन भौतिकवादी हुँदै होइन। भोतिकवादीहरू प्रमाणको रूपमा प्रत्यक्षलाई मात्र मान्छन् भने बुद्ध र बौद्ध धर्मदर्शनले प्रत्यक्षका साथै अनुमानलाई पनि मान्छन्। भौतिकवादीहरू जेजति प्रत्यक्ष देख्छन् वा अनुभव गर्न सक्छन् त्यतिलाई मात्र जगत मान्छन्। यसैलाई वैज्ञानिक दृष्टिकोण ठान्छन् तर विज्ञान यति सोचविचारमा मात्र सीमित हुँदैन। यो अत्यन्तै जिज्ञासु हुन्छ र खोजखबर गरिरहन्छ। हिजोको विज्ञानले जेजति देखेको छ, त्योभन्दा विस्तृत ज्ञान आजको विज्ञानले हासिल गरेको अवस्था छ। देख्नु र नदेख्नु मान्छेको क्षमतामा पनि भर पर्दछ। आधुनिक विज्ञानले जुन ‘कस्मोलोजी’ देखाएको छ, हिजोका भौतिकवादीहरूलाई यसको पत्तो नै थिएन। ‘बौद्ध कस्मोलोजी’ अझ विस्तृत छ। ‘बौद्ध कस्मोलोजी’ले अनेक लोकहरूको मान्यता राख्छ र त्यसमा प्रेत, असुर, देव आदि पनि पर्दछन्। देवलोक नै भए पनि इन्द्रलोक र ब्रह्मलोक बेग्लै हो। इन्द्रलोकमा जन्मेकाहरू सबै इन्द्र देवता हुन् भने ब्रह्मलोकमा जन्मेकाहरू सबै ब्रह्मा देवता हुन्। देवलोक पनि अनेक तह र नामका छन्। बुद्धलाई ‘लोकविदू’ पनि भनिन्छ। यसको तात्पर्य यी जम्मै लोकका बारेमा ज्ञाता भनिएको हो। ध्यानको बलले बुद्धका प्रमुख शिष्यमध्येका एक भिक्षु मौद्गल्यायन यी देवलोकहरूको भ्रमण गरी फर्केका वर्णन पनि पाइन्छ। सबै लोकको भ्रमण गरी फर्केका उनलाई आफ्नो अनुभव विहारको भित्तामा चित्र कोरेर सबैले बुफ्ने गरी व्यक्त गर्न बुद्धले भनेअनुसार भवचक्रको चित्र तयार पारेका थिए। त्यही बेलादेखि बौद्ध विहार तथा गुम्बाको भित्तामा भवचक्रको चित्र कोर्ने चलन सुरु भएको थियो।
बौद्ध मान्यताअनुसार केही पुण्यको बलमा प्राणीहरू देवलोकमा जन्म लिई देवता हुन्छन्। यद्यपि यो पनि स्थायी होइन। तसर्थ बुद्धलाई देवता मान्नु गल्ती हो। स्वयं बुद्ध बन्छु भनेर साधना गरिरहेका बोधिसत्वहरूको पहिचान बोधिसत्व नै हो र उनीहरूलाई देवता भन्नु पनि गल्ती हो। बोधिसत्वहरू बोधिचर्याका क्रममा मनुष्यबाहेक अन्य योनिहरू धारण गर्ने क्रममा देवयोनिमा पनि जन्म लिएको पाइन्छ तर देवताको बेग्लै पहिचान हुन्छ। नराम्रो नगर्ने भएका कारण आदरसम्मान नै गरिन्छन् तर पूजाआजा गरेर प्राधान्यता दिने चलन भने पाइँदैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

बसन्त महर्जन का अन्य पोस्टहरु:
बौद्ध धर्म–दर्शनमा देवीदेवताको स्थान
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link