‘हिट डोम’ को चपेटामा युरोप: फ्रान्स र जर्मनीमा उच्च सतर्कता, मृत्यु हुनेको संख्या बढ्दो

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखका अनुसार युरोपमा हालै सुरु भएको अभूतपूर्व गर्मीका कारण सयौँ मानिसको अकालमा ज्यान गएको छ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जुन २१ देखि युरोपमा उच्च तापक्रमका कारण १,३०० भन्दा बढी अतिरिक्त मानिसको मृत्यु भइसकेको जानकारी दिएका छन्। गर्मीको यो कडा लहर पूर्वतर्फ सर्दै जाँदा आइतबार जर्मनी, पोल्यान्ड र चेक गणतन्त्र लगायतका देशहरूमा तापक्रमका पुराना ऐतिहासिक रेकर्डहरू तोडिएका छन्।

डब्लुएचओका प्रमुख टेड्रोसले ‘हिट स्ट्रेस’ (अत्यधिक गर्मीका कारण शरीरमा पर्ने तनाव) लाई ‘साइलेन्ट किलर’ (मौन हत्यारा) को संज्ञा दिँदै युरोपेली घर, कार्यस्थल र विद्यालयहरू यस्तो कडा गर्मी सहन सक्ने संरचनामा नबनाइएको बताएका छन्। उनले युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश भएको र यो विश्वव्यापी औसतभन्दा दोब्बर गतिमा तातिरहेको चेतावनी समेत दिएका छन्।

चलिरहेको अत्यधिक गर्मीको समयमा मानिसहरू बर्लिन क्याथेड्रल अगाडिको फोहोरामा जिउ चिसो बनाउँदै।

चरम गर्मीका कारण विभिन्न देशहरूमा जनजीवन अस्तव्यस्त बनेको छ र आकस्मिक प्रतिबन्धहरू लागू गरिएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बुधबारदेखि यता सामान्य अवस्थामा भन्दा करिब १,००० बढी मानिसको मृत्यु भइसकेको छ, जसमा ६५ वर्षमाथिका वृद्ध वृद्धाहरूको सङ्ख्या उल्लेख्य छ र घरमै ज्यान गुमाउनेको दर ४० प्रतिशतले बढेको छ।

यसैबिच जर्मनीको पूर्वी क्षेत्रमा लगातार तेस्रो दिन तापक्रमले नयाँ रेकर्ड कायम गर्दै ४१.७ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै चेक गणतन्त्रको डोक्सानीमा ४१.१ डिग्री र पोल्यान्डको स्ल्युबिसमा ४०.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।

जलवायु परिवर्तनका कारण पहिले ‘पुस्तामा एक पटक’ मात्र आउने यस्तो भयङ्कर गर्मीको लहर अहिले लगभग हरेक वर्ष देखिन थालेको डब्लुएचओका प्रमुखले उल्लेख गरेका छन्।

गर्मीबाट बच्न मानिसहरू नदी र तालहरूमा जाँदा फ्रान्समा कम्तीमा ७४ जनाको डुबेर मृत्यु भइसकेको त्यहाँका गृहमन्त्रीले बताएका छन्। गर्मीकै कारण नेदरल्याण्ड्सको एउटा ठुलो सङ्गीत महोत्सव रद्द गरिएको छ भने पेरिसमा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न रोक लगाउँदै ‘प्राइड मार्च’ समेत स्थगित गरिएको छ।

मौसमविद्हरूका अनुसार वायुमण्डलको हावा तल थिचिएर कम्प्रेस (खाँदिने) हुने र बादल बन्न नदिई जमिनलाई अत्यधिक तताउने ‘हिट डोम’भनिने मौसमी चक्रका कारण यस्तो चरम गर्मी भएको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link