दिल्लीमा युवा विद्रोह र वाङ्चुकको अनसन: संसद घेराउदेखि मेदान्ता आईसीयूसम्म

भारतको राजधानी नयाँ दिल्लीमा राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा धाँधली र शिक्षा क्षेत्रको सुधारको मागलाई लिएर भइरहेको आन्दोलनले नयाँ कानुनी र राजनीतिक मोड लिएको छ। जलवायु कार्यकर्ता सोनम वाङ्चुकको आमरण अनसन र युवाहरूको सामाजिक-राजनीतिक संगठन ‘कक्रोच जनता पार्टी’ (सिजेपि) को नेतृत्वमा जारी ‘संसद मार्च’ र प्रदर्शनपछि परिस्थिति थप संवेदनशील बनेको छ।

अनसनका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जुलाई १८ मा दिल्ली प्रहरीले वाङ्चुकलाई जन्तरमन्तरबाट नियन्त्रणमा लिई सफदरजङ अस्पतालमा भर्ना गरेको थियो। तर, उहाँ र उहाँकी पत्नी गीताञ्जली अङ्ग्मोले त्यसलाई “गैरकानुनी हिरासत” र सरकारी निगरानीको रूपमा उल्लेख गर्दै निजी अस्पतालमा स्थानान्तरण गर्न माग गर्नुभएको थियो।

यसै विषयमा परेको याचिकामाथि सुनुवाइ गर्दै दिल्ली उच्च अदालतका प्रधान न्यायाधीश देवेन्द्रकुमार उपाध्याय र न्यायाधीश तेजस कारियाको डिभिजन बेन्चले जुलाई २१ मा वाङ्चुकलाई तत्काल गुरुग्रामस्थित मेदान्ता अस्पतालमा सार्न आदेश दिएको थियो। अदालतको आदेशलगत्तै कडा सुरक्षाका बिच उहाँलाई मेदान्ताको आईसीयूमा भर्ना गरी डा. सुशीला कटारियाको नेतृत्वमा विशेषज्ञ टोलीले स्वास्थ्य अनुगमन गरिरहेको छ।

संसदको मनसुन सत्र सुरु भएकै दिन जुलाई २० मा सिजेपिको आह्वानमा २० हजारभन्दा बढी विद्यार्थी तथा युवाहरू जन्तरमन्तरमा भेला भई संसद भवनतर्फ अघि बढेका थिए। प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास, साउन्ड क्यानन र लाठीचार्ज प्रयोग गर्दा दोहोरो झडप भएको थियो।

झडपमा ११८ भन्दा बढी प्रहरी र ६० भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् भने दर्जनौँ घाइतेको राम मनोहर लोहिया अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरीले जन्तरमन्तरका अस्थायी मञ्च र टेन्ट भत्काए पनि सिजेपि का संस्थापक अभिजीत दिप्केको नेतृत्वमा युवाहरूले पुनः धर्ना स्थल खडा गरी प्रदर्शन जारी राखेका छन्।

आन्दोलन चर्किएपछि केन्द्रीय मन्त्री जे.पी. नड्डा र जितेन्द्र सिंहले अस्पताल पुगेर वाङ्चुकसँग भेटघाट गर्नुका साथै सिजेपि प्रतिनिधिहरूसँग वार्ता गर्नुभएको थियो। आन्दोलनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, निट परीक्षा रद्दका कारण ज्यान गुमाएका परीक्षार्थीका परिवारलाई रु १ करोड क्षतिपूर्ति र लद्दाखको संवैधानिक अधिकारको प्रमुख माग राखेका छन्।

वाङ्चुकले जुलाई २२ मा केन्द्रीय मन्त्रीहरूलाई पत्र लेख्दै, आन्दोलनमा सहभागी युवाहरूविरुद्ध कुनै पनि प्रतिशोधात्मक वा कानुनी कारबाही नगरिने लिखित ग्यारेन्टी र शिक्षा सुधारबारे संसदमा गहन छलफल हुने प्रतिबद्धता आएमा मात्र अनसन समाप्त गर्ने नयाँ सर्त अघि सार्नुभएको छ।

हाल नयाँ दिल्लीका मुख्य सडक, मेट्रो स्टेशन र संसद वरपर कडा सुरक्षा व्यवस्था कायम राखिएको छ भने जन्तरमन्तरमा ‘कक्रोच आन्दोलन’ को विरोध प्रदर्शन निरन्तर जारी छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link