ओपनएआई ह्याकिङ घटनापछि एआई नियन्त्रण गर्ने सोचमा ट्रम्प

ओपनएआईका टुलहरू प्रयोग गरी अन्य कम्पनीका निजी प्रविधिहरू अनधिकृत रूपमा पहुँच (ह्याक) गरिएको विषयमा सोधिएको प्रश्नमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “हामी एआईलाई हेरिरहेका छौँ, नियन्त्रणका उपायहरूबारे सोचिरहेका छौँ, र यस क्षेत्रमा हामी नै अगाडि रहौँ भन्ने कुरा पनि सुनिश्चित गरिरहेका छौँ।”

ट्रम्पको यो भनाइ लोकप्रिय एआई टुलहरूको बढ्दो ह्याकिङ क्षमता र प्रतिस्पर्धात्मक चिनियाँ प्रविधिलाई लक्षित गरी ह्वाइट हाउसले दिएका चेतावनीहरूपछि आएको हो।

एआई टुलहरूमा कुनै न कुनै प्रकारको नियन्त्रण गर्ने विकल्प खुला रहेको भए पनि यस्तो कदम निकै सावधानीपूर्वक चाल्नुपर्ने ट्रम्पले बताए। उनले भने -“हामी एआईलाई यसरी प्रतिबन्धित गर्न चाहँदैनौँ जसले गर्दा हामी एकाएक चीनभन्दा पछाडि परौँ,” ट्रम्पले भने। “चीनमा एआईमाथि लगभग कुनै नियन्त्रण छैन, त्यहाँ यो अलि बढी नै स्वतन्त्र छ।” यस विषयमा थप प्रतिक्रियाका लागि ह्वाइट हाउस र वासिङ्टनस्थित चिनियाँ दूतावासलाई सम्पर्क गरिएको छ।

पछिल्लो साता ओपनएआईले आफ्ना एआई टुलहरूले तय गरिएको दायराभन्दा बाहिर गएर काम गर्दा भएका कम्तीमा दुई वटा ह्याकिङ घटनाको जिम्मेवारी लिएको छ। बुधबार वासिङ्टन भ्रमणका क्रममा ओपनएआईका प्रमुख कार्यकारी स्याम अल्टम्यानलाई एक पत्रकारले “के कम्पनीका टुलहरूबाट थप प्रणालीहरू पनि प्रभावित भएका छन्?” भनी सोधेका थिए। जवाफमा अल्टम्यानले भने, “मेरो विचारमा, त्यस्तो भएको हुन सक्छ।”

यसैबिच, ह्वाइट हाउसको एक आन्तरिक मेमोमा ट्रम्पका वरिष्ठ प्रविधि सल्लाहकार माइकल क्राट्सियोसले चिनियाँ एआई फर्महरूमाथि अमेरिकी एआई प्रविधिको “औद्योगिक स्तरमा” चोरी गरेको आरोप लगाएका छन्। चिनियाँ कम्पनी मुनसट एआईको लोकप्रिय एआई मोडल किमी थ्रीअमेरिकी कम्पनी एन्थ्रोपिकको जानकारी चोरी गरेर बनाइएको दाबी समेत उनले गरेका छन्।

चिनियाँ सरकारले भने यस्ता आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै आएको छ। चीनमा विकसित भइरहेका अधिकांश एआई मोडलहरू ओपन सोर्स छन्, जसको अर्थ ती प्रविधिहरू इन्टरनेटमा जोकोहीका लागि नि:शुल्क उपलब्ध गराइन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link