पश्चिम एसियाको सुन्दर र सानो देश लेबनान लामो समयदेखि चौतर्फी सङ्कटमा अल्झिएको छ। सन् २०२० को बेरुत बन्दरगाह विस्फोट, ध्वस्त बैङ्किङ प्रणाली, चरम मुद्रास्फीति र राजनीतिक गतिरोधले देशलाई जर्जर बनाएको थियो। यसका साथै, राज्य संयन्त्रभन्दा बलियो बनेर उभिएको सिया मिलिसिया ‘हिजबुल्लाह’ ले लेबनानलाई आफ्नो रणनीतिक स्वार्थका लागि प्रयोग गर्दै आएको छ।
तर, हालैका क्षेत्रीय सैन्य द्वन्द्व विशेष गरी इजरायलसँगको भिडन्त र इरानको क्षेत्रीय प्रभावमा आएको फेरबदलपछि हिजबुल्लाहको सैन्य र राजनीतिक सामर्थ्य इतिहासकै कमजोर मोडमा पुगेको छ।
यसले लेबनानलाई वर्षौँपछि पहिलो पटक आफ्नो गुमेको सार्वभौमसत्ता फिर्ता ल्याउने एउटा अभूतपूर्व “ऐतिहासिक अवसर” प्रदान गरेको छ।
कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशमा हातहतियारको नियन्त्रण केवल राज्यको आधिकारिक सेनासँग हुनुपर्छ। तर लेबनानमा हिजबुल्लाहले सरकारी सेनाभन्दा शक्तिशाली समानान्तर सेना चलाउँदै आएको थियो।
हिजबुल्लाह अहिले रक्षात्मक स्थितिमा पुगेकाले, लेबनानी सेनाले देशका सबै भूभाग, विशेष गरी दक्षिण लेबनानमा, आफ्नो पूर्ण नियन्त्रण कायम गर्ने र हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्ने हिम्मत देखाउनुपर्छ।
लेबनानमा धार्मिक साम्प्रदायिक भागबन्डामा आधारित राजनीतिक प्रणालीका कारण वर्षौँसम्म ‘राजनीतिक शून्यता’ कायम रह्यो।
लेबनानको साम्प्रदायिक भागबन्डामा आधारित राजनीतिक प्रणाली जसलाई अङ्ग्रेजीमा कन्फेश्नालिज्म वा कन्फेसनल पावर सेयरिङ भनिन्छ। एउटा यस्तो शासन व्यवस्था हो, जहाँ राज्यका प्रमुख राजनीतिक पदहरू, संसद्का सिटहरू र सरकारी सेवाहरू देशका विभिन्न धार्मिक/साम्प्रदायिक समूहहरूबिच पूर्व-निर्धारित अनुपातमा बाँडफाँट गरिन्छ।
यो प्रणाली लेबनानलाई गृहयुद्धबाट जोगाउन र सबै समुदायलाई शासनमा प्रतिनिधित्व दिन बनाइएको थियो, तर समय क्रममा यही व्यवस्था देशको राजनीतिक अस्थिरता र भ्रष्टाचारको मुख्य कारक बन्यो।
अहिलेका राष्ट्रपति जोसेफ आउन र नेतृत्व वर्गले साम्प्रदायिक स्वार्थभन्दा माथि उठेर, विदेशी हस्तक्षेपमुक्त र जनउत्तरदायी सरकार गठन गर्ने ऐतिहासिक मौका अहिले पाएका छन्।
अहिलेका राष्ट्रपति र नेतृत्वका लागि यो “अहिले नगरे कहिल्यै हुँदैन” को स्थिति हो।
विगत ३० वर्षमा पहिलो पटक हिजबुल्लाह र साम्प्रदायिक संरचना यति धेरै रक्षात्मक अवस्थामा पुगेका छन्। यदि राष्ट्रपतिले साहसिक राजनीतिक कदम चालेर सेना, अन्तर्राष्ट्रिय समुदाय र आम जनताको साथ लिन सके भने लेबनानलाई साम्प्रदायिक दलदलबाट निकालेर एउटा आधुनिक, सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउन सकिन्छ।
तर, यदि राजनीतिक डर वा ढुलमुल नीतिका कारण यो मौका पनि गुमाएमा, लेबनान एउटा असफल राष्ट्र को रूपमा पूर्ण रूपमा धराशायी हुनेछ।
लेबनानको बैङ्किङ क्षेत्र टाट पल्टिएको छ र आम नागरिकको बचत डुबेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कका सर्तहरू पालना गर्दै वित्तीय क्षेत्रमा पारदर्शिता ल्याउनु, भ्रष्टाचारको छानबिन गर्नु र ध्वस्त पूर्वाधारको पुनर्निर्माण गर्नु सरकारको प्राथमिक दायित्व हुनुपर्ने विज्ञहरूको सुझाव छ।
यदि लेबनानले आन्तरिक सुधार र हिजबुल्लाहको समानान्तर सत्ता अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता देखायो भने, अमेरिका, युरोपेली युनियन र धनी खाडी मुलुकहरू साउदी अरेबिया र युएईले लेबनानको पुनर्निर्माणमा अर्बौँ डलर लगानी गर्न र आर्थिक सहयोग उपलब्ध गराउन तयार छन्।
यसले लेबनानलाई पुनः मध्य पूर्वी क्षेत्रको व्यापारिक तथा वित्तीय केन्द्रको रूपमा उभ्याउन सक्ने आङ्कलन प्रसिद्ध पत्रिका ईकोनोमिष्टले गरेको छ।
तर आन्तरिक गृहयुद्धको खतरा भने अझै कमजोर भैसकेको छैन। हिजबुल्लाह राजनीतिक रूपमा कमजोर भए पनि उसलाई पूर्ण रूपमा पन्छाउन खोज्दा देश पुनः गृहयुद्ध वा हिंसात्मक मुठभेडमा जाने जोखिम रहन्छ।
नेतृत्वको उदासीनता रहिरह्यो भने लेबनानका परम्परागत भ्रष्ट राजनीतिक अभिजात वर्गले फेरि पनि आफ्नै स्वार्थका लागि यो अवसरलाई गुमाउन पनि सक्छन्।
द ईकोनोमिष्ट पत्रिकाले जुलाई अङ्कमा टिप्पणी गर्दै भनेको छ-“लेबनानका लागि यो सङ्कटबाट उम्किने अन्तिम र उत्तम मौका हो।” यदि देशको वर्तमान नेतृत्वले साहस देखाएर हिजबुल्लाहको दबदबा अन्त्य गर्ने, सेनालाई सुदृढ बनाउने र आर्थिक सुधारका कदम चाल्ने हो भने लेबनान असफल राष्ट्र बन्नबाट जोगिनेछ। तर यदि यो मौका पनि गुमाइयो भने, लेबनान अझ गहिरो अराजकता र विनाशको खाडलमा खस्नेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- अमेरिकी मध्यावधि चुनाव र नीतिगत अन्योलका बिच बजारमा तीव्र उतारचढाव
- अमेरिकाको मध्यावधि चुनावपछि प्रविधि शेयरमा ठुलो पहिरो: एआई क्षेत्रमा मन्दी आउने त्रास
- अमेरिकी मध्यावधि निर्वाचन: ट्रम्पलाई ठुलो धक्का, कङ्ग्रेसका दुवै सदनमा डेमोक्र्याटको कब्जा
- युरोपमा हवाई सुरक्षामा तरङ्ग: सात वटा यात्रुवाहक विमानमा बमको झूटो धम्की, बेलायतबाट उडेका जहाज पनि प्रभावित
- युक्रेनको मानवीय सहायता केन्द्रमा रुसी बमबारी: २६ जनाको मृत्यु, कीभद्वारा घोर भर्त्सना
- फ्रान्समा प्रदर्शनकारीद्वारा प्रहरीमाथि पेट्रोल बम प्रहार: अनुसन्धान सुरु
- ‘हामी नर्कबाट फर्कियौँ’: रुसी कब्जामा रहेको सहरबाट ज्यान जोगाएर फर्किएका युक्रेनी नागरिकको पीडा
- अमेरिकाद्वारा युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति
- नेतान्याहुमाथि चुनावी जनादेश अवमूल्यन गरेको आरोप, विपक्षी र अरब नेताहरू आक्रोशित
- स्पेनमा भयानक उच्च-गति रेल दुर्घटना: कम्तीमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते