पश्चिम बैंकमा प्यालेस्टिनीको उठिबास

कब्जा गरिएको पश्चिम बैङ्कको कुसरा गाउँमा इजरायली बस्ती विस्तारक (सेट्लर्स) लाई हटाउन भन्दै चलाइएको सैन्य अभियानका क्रममा कम्तीमा एक दर्जन प्यालेस्टिनी परिवारलाई आफ्नै घर-जग्गा छाड्न आदेश दिइएको छ।

स्थानीय अधिकारीहरूका अनुसार, आइतबारदेखि नै इजरायली सेट्लर्सहरूले सो क्षेत्रका तीन वटा प्यालेस्टिनी घरहरूलाई घेराबन्दीमा राख्दै बिजुली र पानीको आपूर्ति पूर्ण रूपमा ठप्प पारिदिएका थिए।

कुसराका मेयर अब्देल अजिम वादीले बिबिसीलाई दिएको जानकारीअनुसार इजरायली सेनाले उनको गाउँलाई ‘निषेधित सैन्य क्षेत्र’ (क्लोज्ड मिलिटरी जोन) घोषणा गरेको छ। साथै, खाली गराइएका केही प्यालेस्टिनी घरहरूलाई इजरायली फौजले आफ्नै ब्यारेकका रूपमा प्रयोग गरिरहेको छ। यता इजरायली सेनाले भने स्थानीय बासिन्दाको सुरक्षार्थ यस्तो कदम चालिएको दाबी गरेको छ।

इजरायली सरकारका एक प्रवक्ता डेभिड मेन्सरले सेट्लर्सहरूको यो कार्यलाई “निन्दनीय” र “अस्वीकार्य” भन्दै घटनाको छानबिन गरी दोषीलाई पक्राउ र कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।

वर्तमान इजरायली सरकारको नेतृत्वमा बस्ती विस्तार तीव्र भएसँगै सेट्लर्सहरूको मनोबल बढेको र उनीहरूले प्यालेस्टिनीहरूलाई आफ्नै जमिनबाट विस्थापित गराउन हिंसात्मक गतिविधि बढाउँदै लगेका छन्। अन्तर्राष्ट्रिय कानुनअनुसार कब्जा गरिएका क्षेत्रमा बनाइएका सबै इजरायली बस्तीहरू गैर कानुनी मानिन्छन्।

कुसरामा घेराबन्दीमा परेका अबू रिदी र हस्सान परिवारका तीन घरमध्ये दुई घरका बासिन्दालाई बिहीबार घर खाली गर्न भनिएको थियो। ती बासिन्दाहरू हाल तेस्रो घरमा शरण लिएर बसेका छन्। गाउँका अन्य ११ भन्दा बढी घरपरिवारलाई पनि सेनाले हट्न आदेश दिएको छ।

बिहीबार बिहान २० भन्दा बढी सशस्त्र सैन्य टोली घरमा पसेर ढोका फुटाएको स्थानीय काहेर ओदेहले बताए। “हामी सुतिरहेका थियौँ, उनीहरूले ढोका तोडफोड गर्दै बाहिर निस्कन भने,” ओदेहले भने, “धेरै मानिसलाई यसै गरी घरबाट निकालियो।”

करिब १० घण्टापछि केही परिवारलाई फर्किन दिइए पनि उनीहरूका घरभित्रका सामान अस्तव्यस्त पारिएका थिए। एक स्थानीयले सेनाले फ्रिजको खानेकुरा फ्याँकिदिएको र १,५०० अमेरिकी डलर नगदसमेत चोरी गरेको आरोप लगाएका छन्। इजरायली रक्षा बल (आईडीएफ) ले यी आरोपहरूबारे कुनै प्रतिक्रिया दिएको छैन। आईडीएफका अनुसार उनीहरूले दुई वटा गैर कानुनी आउट पोस्ट हटाइसकेका छन् र थप अप्रिय घटना हुन नदिन स्थानीय नेतृत्वसँग समन्वय गरिरहेका छन्।

उक्त घेराबन्दीमा परेका एक प्यालेस्टिनी-अमेरिकी व्यवसायीका भाइ कुसाय अबू रिदीले घटनाबारे अमेरिकी दूतावासमा उजुरी गरेका थिए। यसपछि इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले सेट्लर्सको यो कार्यलाई “भीषण आतङ्ककारी कृत्य” (होरिफिक एक्ट अफ टेरर) भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, “परिवारलाई धम्क्याउने र सताउने उद्देश्यले गरिएको यो कृत्य घृणास्पद छ। यस्तो गुण्डागर्दीको कुनै बहाना हुन सक्दैन।”

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार यसै वर्ष मात्र पश्चिम बैङ्कमा इजरायली सेना र सेट्लर्सको आक्रमणबाट १८ बालबालिकासहित ७६ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ। सोही अवधिमा प्यालेस्टिनीहरूको आक्रमणमा परी ३ जना इजरायलीको ज्यान गएको छ।

सन् २०२३ को जनवरीयता १२७ वटा प्यालेस्टिनी समुदायहरू पूर्ण वा आंशिक रूपमा विस्थापित भइसकेका छन्, जसबाट ६,३९० भन्दा बढी प्यालेस्टिनी प्रभावित भएका छन्। सन् २०२६ मा मात्रै सेट्लर्सको हिंसा, तोडफोड र जबरजस्ती उठीबासका कारण करिब ३,८०० प्यालेस्टिनीहरू विस्थापित भइसकेका छन्, जसमा आधा सङ्ख्या बालबालिकाको रहेको छ।

यद्यपि, संयुक्त राष्ट्रसङ्घको बैठकमा बोल्दै संयुक्त राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डानोनले इजरायली बस्तीहरू शान्तिको बाधक नभएको दाबी गरेका छन्। उनले आफ्नो देशको ऐतिहासिक, धार्मिक र कानुनी अधिकार रहेको भन्दै इजरायली बस्तीहरू अझ विस्तार हुने र इजरायल कतै नजाने स्पष्ट पारे।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link