इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जारी गरिएको सुनामी चेतावनी फिर्ता, दुई जनाको मृत्यु

पूर्वी इन्डोनेसियाको फ्लोरेस द्वीप (Flores Island) आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जारी गरिएको सुनामीको चेतावनी पछि फिर्ता लिइएको छ। भूकम्पका कारण भौतिक क्षति पुगेको र प्रारम्भिक विवरणअनुसार दुई जनाको ज्यान गएको पुष्टि भएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्दे नगरबाट करिब ६८ किलोमिटर उत्तर-पश्चिम समुद्रमा १० किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भएर शनिबार बिहान ५:५८ बजे (स्थानीय समय) भूकम्प गएको हो।

सुनामीको त्रास र नागरिकको भाग दौड

भूकम्प लगत्तै इन्डोनेसियाको मौसम तथा भूगर्भ विज्ञान एजेन्सीले पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गाराका तटीय क्षेत्रहरूमा ०.५ देखि ३ मिटरसम्म अग्लो सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरेको थियो।

सुनामीको पूर्व सूचना जारी भएसँगै समुद्र किनार र होचो भागमा बसोबास गर्ने सयौँ मानिस सुरक्षित र उच्च भूभागतर्फ भागेका थिए। माउमेरे सहरका बासिन्दाहरूका अनुसार भूकम्पको समयमा समुद्रको पानी केही पछाडि हटेको देखिएपछि स्थानीय नागरिकहरूमा त्रास फैलिएको थियो। अस्पतालका बिरामी र सर्वसाधारण खुला क्षेत्रमा निस्किएका थिए।

भूकम्पपछि केही तटीय क्षेत्रमा १९ देखि ९४ सेन्टिमिटरसम्मका साना सुनामीका छालहरू मापन गरिएको भए पनि ठुलो सुनामी नआएपछि अधिकारीहरूले पछि चेतावनी फिर्ता लिएका छन्।

क्षति र पराकम्प

शक्तिशाली भूकम्पपछि ५.६ र ६.१ म्याग्निच्युडका कैयौँ पराकम्पहरू महसुस गरिएका छन्। भूकम्पका कारण रुतेङ, लाबुआन बाजो, र माउमेरे लगायतका सहरहरूमा घर, होटेल, क्याम्पस तथा सरकारी भवनहरूमा क्षति पुगेको छ। माउमेरेमा एक समुद्री यात्रु टर्मिनलको भवन भत्किँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा पाँच जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यसै गरी रुतेङस्थित फ्रान्स सालेस लेगा विमानस्थलको छतको केही भाग भत्किएको छ भने ग्रामीण क्षेत्रमा केही पुल तथा घरहरूमा क्षति पुगेको छ।

रिङ अफ फायर’को जोखिम

प्रशान्त महासागरीय क्षेत्रको ‘रिङ अफ फायर’ (Ring of Fire) मा अवस्थित भएकाले इन्डोनेसियामा बारम्बार शक्तिशाली भूकम्प र ज्वालामुखी विस्फोट हुने गर्दछ। सन् २०१८ मा सुलावेसीको पालुमा गएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।

अधिकारीहरूले हाल खोज तथा उद्धार कार्य जारी राखेका छन् भने तटीय क्षेत्रका नागरिकहरूलाई पराकम्पको जोखिम कायमै रहेकाले सतर्क रहन आग्रह गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link