बाटो देखायो तालिमले, समृद्धि ल्यायो तरकारी खेतीले

तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मोतिपुर तरकारी खेतीका हिसाबले आफैँमा उत्तम ठाउँ हो। सिँचाइका लागि पानीको सहज उपलब्धता छँदैथियो। मिहिनेती किसान, बजारको सहज उपलब्धता भए पनि यहाँका किसानले तरकारी खेती गर्न थालेको भने धेरै लामो समय भएको छैन।

उचित सिँचाइ, मलिलो माटो भए पनि तरकारी खेती गर्नुपर्छ भन्ने कुरा धेरैपछि मात्रै थाहा भयो। जब त्यहाँ सरकारी निकाय तथा विभिन्न संघसंस्थाले तरकारी खेतीका लागि प्रशिक्षण दिए, त्यसपछि व्यावसायिक रूपमा खेती सुरु भएको स्थानीय यज्ञ खत्री स्मरण गर्छन्।

“बस्ती बसेको लामो समय भयो, तर तरकारी खेती हुँदैनथ्यो”, उनले भने, “घरायसी प्रयोजनका लागिमात्रै खेती गरिन्थ्यो। अहिले भने अधिकांशले व्यावसायिक खेती गर्न थाल्नुभएको छ।”

आफूले पनि अहिले डेढ बिघामा तरकारी खेती गर्ने गरेको उनले बताए। यहाँका स्थानीयले पक्की घरसमेत बनाउन थालेको उनको भनाइ छ। “पहिले दैनिकी चलाउन नै समस्या हुन्थ्यो, के खाने, के लाउने हुन्थ्यो”, उनले भने, “अहिले तरकारी बेचेरै भएको आम्दानीले धेरैले घर निर्माण गरेका छन्, बच्चाबच्चीलाई सहजै पढाउन सकिएको छ।” स्थानीय किसानले तरकारी बेचेर आर्थिक उपार्जन गरेका छन्। फुसका घरमा बस्दै आएकाले पनि पक्की घर बनाएको उनको भनाइ छ।

अर्का स्थानीय किसान दीपक चौधरी सात कट्ठामा तरकारी खेती गर्छन्। उनले त्यसबाट वार्षिक रु चार लाख बढी आम्दानी गर्छन्। “मैले तरकारी खेती गर्न थालेको १२ वर्ष भयो”, उनले भने, “राम्रो आम्दानी गर्दै आएको छु।”

हिउँदे सिजनमा भने उनले १७ कट्ठाभन्दा बढीमा काउली, बन्दा, लौका, करेला, आलुलगायत उत्पादन गर्छन्। खेतीबाटै भएको आम्दानीले घरव्यवहार चलाउन, छोराछोरीलाई राम्रो विद्यालय पढाउन सहज भएको उनको भनाइ छ।

त्यस्तै सोही ठाउँका किसान जुगराम चौधरीले पनि काउली, आलु, टमाटर, बोडी, लौकाको व्यवसाय गर्दै आएका छन्। उनले एक बिघाभन्दा बढी क्षेत्रमा तरकारी खेती गरेको सुनाए। त्यसबाट वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने गरेको छ।

त्यो कमाइले आफ्नो दैनिकी फेरिएको उनको भनाइ छ। अहिले मोतिपुरका अधिकांश किसान यसरी नै तरकारी खेतीमा व्यस्त छन्। स्थानीय उत्पादनको बजारीकरण पनि राम्रो भएकाले किसान हर्षित छन्। तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखा, सिड संस्थालगायतले तरकारी खेतीका लागि प्रोत्साहन गर्दै आएका छन्।

किसानलाई टनेल, पावर टिलर उपलब्ध भएको छ। बीउ बैंक सञ्चालन भएको छ। त्यसबाट किसान उत्प्रेरित भएको स्थानीय जगुराम चौधरीले जानकारी दिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link