अल्पमतको लगानी कि पूर्ण स्वामित्व? – बेजोसको लिभरपुल सम्झौताको अर्थ के हो?

जब मङ्गलवार फेनवे स्पोर्ट्स ग्रुप (एफएसजि) ले लिभरपुलको करिब ३८ प्रतिशत सेयर ‘१८९२ होल्डिंग्स’ लाई बेचेको खुलासा भयो, तब समर्थक र विश्लेषकहरूमा केही भ्रम सिर्जना भयो।

शुक्रवारसम्म जेफ बेजोसको समर्थन रहेको कन्सोर्टियमले लिभरपुलको करिब एक तिहाइ भाग खरिद गरेको बुझाइ थियो। प्राप्त जानकारी अनुसार लगानीको दायरा ३० प्रतिशतदेखि एक तिहाइको बिचमा रहेको दाबी “दिशात्मक रूपमा सही” मानिएको थियो।

त्यसो भए, चार दिनपछि नै फरक तथ्याङ्क किन सार्वजनिक भयो?

एफएसजिको नीति आफ्नो सटीक स्वामित्वको अंश सार्वजनिक नगर्ने रहे पनि, आधिकारिक घोषणाअघि नै विभिन्न माध्यमबाट फरक-फरक तथ्याङ्क बाहिरिएपछि बोस्टनस्थित यस व्यावसायिक समूहले लगानीको वास्तविक परिमाणको सङ्केत दिन चाहेको थियो। त्यसैले यसलाई केवल ‘अल्पमतको लगानी’ मात्र नभनी अनुमानित दायरा पुष्टि गरिएको थियो।

तर जब खरिद गरिएको अल्पमतको सेयर ४० प्रतिशतको हाराहारीमा (३८%) रहेको पुष्टि भयो, तब क्लबले लगानीको आकारलाई कम गरेर देखाउन खोजेको भन्दै आलोचना भयो। एफएसजिले भ्रामक छाप पार्ने कुनै उद्देश्य नरहेको र केवल बेजोसको संलग्नताबारे मिडियामा आएका विवरणलाई स्पष्ट पार्न खोजेको दाबी गर्‍यो। यद्यपि, यो सम्पूर्ण घटनाक्रमले गर्दा लिभरपुलभित्रै केही व्यक्तिहरूले एफएसजि ले सुरुमै पूर्ण पारदर्शिता नदेखाएको भन्दै प्रश्न उठाएका छन्।

बेजोसको संलग्नता कति रहनेछ?

‘१८९२ होल्डिंग्स’ समूहको नेतृत्व बेलायती-भारतीय करोडपति व्यवसायी अमित भाटियाले गरिरहेका छन्, जसमा फेसबुकका सह-संस्थापक अरबपति एडुआर्डो सेभरिन पनि सामेल छन्।

इ-कमर्स दिग्गज अमेजनका संस्थापक तथा विश्वका चौथो धनी व्यक्ति अमेरिकी व्यवसायी जेफ बेजोसको खेलकुद स्वामित्वमा यो पहिलो प्रवेश हो, यद्यपि उनी लिभरपुलको सञ्चालक समिति (बोर्ड) मा भने बस्ने छैनन्।

तर, बेजोसका व्यावसायिक साझेदार र भेन्चर क्यापिटल फर्म के-फाईव स्पोर्ट्सका संस्थापक ब्रायन बाउम (जसमार्फत बेजोसले लगानी गर्दै छन्) सेभरिनकी पत्नी एलेनसँगै लिभरपुलको बोर्डमा सामेल हुनेछन्। यस्तै, अमित भाटिया क्लबको उपाध्यक्षका रूपमा बोर्डमा रहनेछन्।

शुक्रवार सन्चारमाध्यमहरुले भविष्यमा आफ्नो लगानी बढाउन सक्ने विकल्प रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो।  तर चार दिनपछि कन्सोर्टियमसँग आगामी १२ महिनाभित्र क्लबको पूर्ण नियन्त्रण (बहुमत सेयर) खरिद गर्न सक्ने विशिष्ट अधिकार रहेको खबर बाहिरियो, जसले पारदर्शितामाथि पुनः प्रश्न उठाएको छ।

लिभरपुलको भविष्य कता?

‘१८९२ होल्डिंग्स’ लाई एक वर्षभित्र बहुमत मालिक बन्ने बाटो खुला भए पनि, यसमा कुनै औपचारिक प्रतिबद्धता भने भइसकेको छैन। तर यो विकल्प समावेश गरिनुले नै एफएसजिको लिभरपुलप्रतिको दीर्घकालीन योजना के हो भन्ने प्रश्न जन्माएको छ।

समर्थकहरूको संस्था ‘स्पिरिट अफ स्याङ्कली’ का अध्यक्ष जे म्याकेनाले लिभरपुल एकोसँग कुरा गर्दै भने, “हामीले सोध्ने मुख्य प्रश्न यो हो कि के स्वामित्वको यो परिवर्तन निश्चित छ? हामी यसलाई स्पष्टसँग बुझ्न चाहन्छौँ र एफएसजि तथा नयाँ मालिकहरूसँग यो विषय राख्नेछौँ। यदि लगानीकर्तासँग पूर्ण टेकओभरको अधिकार छैन वा यो केवल एउटा विकल्प मात्र हो भनेर पछि अर्को वर्ष क्लब बिक्री गरियो भने, हामीलाई पहिले किन सही सूचना दिइएन भनेर जवाफ माग्नेछौँ।”

सन् २०१० मा जब एफएसजिले लिभरपुललाई ३०० मिलियन पाउन्डमा खरिद गरेको थियो, त्यति बेला क्लब (हालका सिइओ बिली होगनका अनुसार) “शाब्दिक रूपमै टाट पल्टिने अवस्थामा” थियो।

सोह्र वर्षपछि यो सम्झौताले लिभरपुलको मूल्याङ्कन ५ देखि ६ अर्ब पाउन्डको बिचमा पुर्‍याएको छ, जसको अर्थ क्लबको मूल्य २०१० को तुलनामा १५ गुणाभन्दा बढीले बढेको छ।

फुटबल फाइनान्स विज्ञ किरन म्यागुएरेले सन्चारमाध्यमलाई भने, “यो एफएसजिका लागि उत्कृष्ट सम्झौता हो। उनीहरूले यो सम्झौताबाट १ अर्ब पाउन्डभन्दा बढी सङ्कलन गर्छन् र अझै पनि क्लबको नियन्त्रण आफ्नै हातमा राख्छन्। यो उनीहरूका लागि दुवै हातमा लड्डु जस्तै हो।”

तर एफएसजि कहिलेसम्म नियन्त्रणमा रहला?

यो साझेदारीलाई अल्पमतको सेयर खरिदका रूपमा घोषणा गरिएको भए तापनि लिभरपुलमा यो एउटा ठुलो र निर्णायक मोड हो।

प्राप्त जानकारीअनुसार यो सम्झौताको मुख्य उद्देश्य केवल आर्थिक लगानी मात्र नभई भारत र एसियाली महादेशसहित विश्वव्यापी व्यापार, प्रविधि र लगानीमा लिभरपुलको पहुँच विस्तार गर्नु हो।

एफएसजिले यसको सकारात्मक असर आगामी महिनाहरूमा देखिने विश्वास लिएको छ। तर, यही अवधिमा आगामी वर्ष क्लबको वास्तविक बागडोर कसको हातमा हुनेछ भन्ने विषयमा अनिश्चितता र अनुमानहरू पनि तीव्र हुने देखिन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link