इरानको लाराक टापुमा रहेका प्रक्षेप्यास्त्र प्रक्षेपण केन्द्रमा अमेरिकी आक्रमण

अमेरिकी सेनाले इरानको रणनीतिक रूपमा संवेदनशील लाराक टापुमा रहेका दुईवटा प्रक्षेप्यास्त्र लन्चरहरूमा आक्रमण गरेको छ। गत जुलाईको अन्त्यपछि इरानी भूभागमा अमेरिकाले गरेको यो पहिलो प्रत्यक्ष सैन्य कारबाही हो।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का सैनिकहरूले हर्मुज जलडमरूमध्यमा जल-माइन्ससहितका रकेटहरू प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि सो हमला गरिएको हो।

लाराक टापु इरानको महत्त्वपूर्ण बन्दरगाह बन्दर अब्बास नजिकै र विश्वव्यापी व्यापारिक जहाज आवतजावतका लागि अत्यन्तै संवेदनशील मानिने हर्मुज जलडमरू क्षेत्रमै अवस्थित छ। युद्धका कारण यसअघि नै हर्मुज जलडमरू बन्द प्रायः बनेको छ, जहाँबाट विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास (एलपीजी) ओसारपसार हुने गर्दथ्यो।

इरानी सञ्चारमाध्यम तथा आइआरजीसीका अनुसार यो आक्रमण ड्रोनमार्फत गरिएको थियो, जसमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन्। आइआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले अमेरिकी आक्रमणलाई ट्रम्प प्रशासनको “रणनीतिक र घातक गल्ती” भन्दै यसको सैन्य तथा आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

यसैबिच, आक्रमणको केही घण्टामै इरानले प्रतिशोध स्वरूप जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरू (किङ हुसेन र अल-अजराक) लाई लक्षित गरी बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। इरानले उक्त प्रहारबाट अमेरिकी पूर्वाधार र लडाकु विमानका स्थानहरूमा ठुलो क्षति पुगेको जनाएको छ।

तर, जोर्डनको सेनाले भने आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा इरानी क्षेप्यास्त्रहरूलाई आफ्नो वायु रक्षा प्रणाली मार्फत आकाशमै निष्क्रिय पारिदिएको दाबी गरेको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि सुरु भएको यो युद्ध छैटौँ महिनामा प्रवेश गरिसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमा राखिएका सम्पूर्ण इरानी माइन्सहरू हटाइसकिएको र पुनः माइन्स बिछ्याउन खोज्ने जुनसुकै पोतलाई नष्ट गरिने चेतावनी दिँदै आएका छन्। इरानले भने ट्रम्पको उक्त दाबीलाई “भ्रामक प्रचार” मात्र भएको टिप्पणी गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link