अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्जेन्टिनासँग सम्भावित द्वन्द्व बढेमा संयुक्त राज्य अमेरिकाले फकल्यान्ड टापुको मुद्दामा बेलायतलाई सहयोग नगर्न सक्ने सङ्केत गरेका छन्। इरानसँगको अमेरिकी युद्धमा बेलायतले सहयोग नगरेको भन्दै ट्रम्पले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।
जीबी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँगको सङ्कटमा बेलायतले अमेरिकालाई सहयोग नगरेको आरोप लगाएका छन्। यद्यपि अमेरिकी सेनालाई कसैको सहयोग आवश्यक नभएको दाबी गर्दै उनले बेलायती व्यवहारप्रति असन्तुष्टि जनाए।
अन्तर्वार्ताका क्रममा भविष्यमा फकल्यान्ड टापुलाई लिएर विवाद भएमा अमेरिका बेलायतको सहायतामा आउँछ कि आउँदैन भन्ने प्रश्नमा ट्रम्पले प्रत्यक्ष जवाफ पन्छाएका थियो। सन् १९८२ को पहिलो युद्धलाई स्मरण गर्दै ट्रम्पले भने- “त्यो धेरै समयअघिको कुरा हो, मैले त्यसलाई ध्यानपूर्वक हेरेको थिएँ। तपाईँहरूले राम्रो प्रदर्शन गर्नुभयो र टापुहरू फिर्ता लिनुभयो। तर, त्यो धेरै टाढाको क्षेत्र हो।”
इरान युद्धको प्रसङ्ग जोड्दै ट्रम्पले थपे- “तपाईँको देशको स्थिति अहिले राम्रो छैन। स्ट्रेट अफ हर्मुजबाट तपाईँहरूले ठुलो मात्रामा तेल प्राप्त गर्नुहुन्छ, तर तपाईँहरू मलाई सहयोग गर्न आउनुभएन। मैले नेटो र तपाईँका पूर्व प्रधानमन्त्री (सर केयर स्टार्मर) सँग केही युद्धपोत पठाउन अनुरोध गरेको थिएँ। तर उहाँले जहाजहरू उपलब्ध नभएको जवाफ दिनुभयो, जुन दुःखद थियो।”
अमेरिकी प्रशासनहरूले विगतदेखि नै फकल्यान्ड टापुमा बेलायतको प्रशासनिक अधिकारलाई मान्यता दिँदै आए तापनि सार्वभौमसत्ताको विषयमा तटस्थ भूमिका निर्वाह गर्दै आएका छन्। अमेरिकाले आफ्नो तटस्थ नीतिको पुनरावलोकन गरिरहेको छ कि भन्ने प्रश्नमा ट्रम्पले भने- “म प्रत्येक नीतिको पुनरावलोकन गर्छु, यो पनि तीमध्ये एक हो।”
ट्रम्पको यो अभिव्यक्ति यस्तो समयमा आएको हो, जब अर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेईले फकल्यान्ड टापुमाथिको ‘ऐतिहासिक दाबी’ सम्बन्धी देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी गरिरहनुभएको छ। दक्षिण-पश्चिम एटलान्टिक महासागरमा अवस्थित फकल्यान्ड टापुलाई लिएर बेलायत र अर्जेन्टिनाबिच चार दशकभन्दा बढी समयदेखि विवाद जारी छ। सन् १९८२ मा ७४ दिनसम्म चलेको युद्धमा २५५ बेलायती र ६४९ अर्जेन्टिना सैनिकको ज्यान गएको थियो।
ट्रम्पको अभिव्यक्तिपछि बेलायत सरकारले प्रतिक्रिया दिँदै फकल्यान्डका बासिन्दाहरू बेलायती नागरिक भएको र उनीहरूलाई आफ्नो भविष्य आफैँ निर्धारण गर्ने अधिकार रहेको स्पष्ट पारेको छ। बेलायती प्रवक्ताले त्यहाँका बासिन्दाहरूले बेलायती विदेशी भूभागकै रूपमा रहने इच्छा बारम्बार व्यक्त गरिसकेकाले उनीहरूप्रतिको बेलायती प्रतिबद्धता अटल रहने बताएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- साउदी अरबको रियाद विमानस्थलमा लगातार दोस्रो दिन पनि हुथी विद्रोहीको आक्रमण: एक जनाको मृत्यु, ११ जना घाइते
- जापोरिझियामा ग्लाइड बम आक्रमण: ४ बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु
- ट्रम्पद्वारा रुसी डिजेल आयात गर्ने सम्झौताको घोषणा
- रुसी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु, युक्रेनभर दिनप्रतिदिन खतरनाक बन्दै आक्रमण
- अमेरीकी जेलमा रहेका मादुरोमाथि थप मुद्दा चलाउने तयारी
- फिनल्यान्डमा गुगललाई झट्का: दुई डेटा सेन्टरको निर्माण रोक्न सरकारी आदेश
- रुसमा प्लेग अनुसन्धानकर्ताको मृत्युपछि अमेरिकाद्वारा ‘सूक्ष्म अनुगमन’
- सुरक्षा घटनापछि बेलायतको सैन्य बेसबाट अमेरिकाले फिर्ता बोलायो सबै बमवर्षक विमान
- युक्रेनको राजधानी किभमा रुसको अर्को ठुलो प्रहार: दोस्रो प्रमुख पुलमाथि पनि हमला, यातायात अस्तव्यस्त
- फ्रान्समा शिक्षा क्षेत्रको सुधार माग्दै चर्कियो विद्यार्थी आन्दोलन: दङ्गा नियन्त्रक प्रहरी र प्रदर्शनकारीबिच देशव्यापी झडप