रुस-युक्रेन युद्ध: शान्ति वार्ताका लागि अमेरिकी टोलीले भेट्यो पुटिनलाई

युक्रेन युद्ध अन्त्य गर्ने प्रयास तीव्र भइरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका प्रमुख वार्ताकारहरूले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्।

क्रेमलिनद्वारा जारी भिडियोमा अमेरिकी विशेष दूत स्टिभ विटकफ र जेरेड कुशनरलाई राष्ट्रपति पुटिनले स्वागत गरेको देखाइएको छ। भेटका क्रममा पुटिनले हालको अवस्था “सहज नरहेको” बताउँदै रुसको दृष्टिकोण स्पष्ट पार्ने धारणा राखेका थिए।

भेटमा विटकफले मस्को र किएभबीच एक-अर्काको राजधानीमा तीन दिनसम्म आक्रमण नगर्ने सहमति बनेकोमा पुटिनलाई धन्यवाद दिएका छन्। मस्कोमा तीन घण्टासम्म चलेको यो रुढ बन्द सत्रको वार्तापछि अमेरिकी टोली आइतबार थप छलफलका लागि युक्रेनको राजधानी किएभ प्रस्थान गर्ने कार्यक्रम छ।

राष्ट्रपति ट्रम्पले विटकफ र कुशनर युद्ध अन्त्यको ठोस प्रस्ताव लिएर गएको बताएका छन्। पुटिनले पनि मध्यस्थकर्ताहरूसँग काम गर्न आफू सहज महसुस गरिरहेको र अमेरिकी प्रयासको प्रशंसा गर्दै यस्ता संवादहरू सधैँ उपयोगी हुने प्रतिक्रिया दिए।

वार्ताका लागि सुरक्षा र उपयुक्त वातावरण बनाउन दुवै पक्ष तीन दिनका लागि एक-अर्काको राजधानीमा आक्रमण रोक्न सहमत भएका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार, आइतबार र सोमबारसम्म युक्रेनले मस्कोमा आक्रमण नगर्ने र रुसबाट पनि किएभमा सोही अनुरूपको अपेक्षा गरिएको बताएका छन्।

तथापि, राष्ट्रपति पुटिनले यो सहमति राजधानी क्षेत्रका लागि मात्र लागू हुने र युक्रेनका अन्य भागमा भने युद्ध विराम नभएको प्रस्ट पारेका छन्।

युक्रेनको आकाश सन् २०२२ फेब्रुअरीदेखि नै उडानका लागि बन्द रहेकाले अमेरिकी प्रतिनिधिहरू मस्कोबाट कसरी किएभ पुग्नेछन् भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। जेलेन्स्कीले अमेरिकी टोलीको यात्राका क्रममा हवाई सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि जेलेन्स्कीले अमेरिकी टोली अवतरण हुनसक्ने सम्भावित विमानस्थलहरूलाई लक्षित गरी रुसले रातको समयमा मस्कोबाट चेतावनीमूलक आक्रमण गरेको दाबी गरेका थिए। साथै, ड्निप्रो क्षेत्रमा भएको रुसी आक्रमणमा परि चार जना सर्वसाधारणको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको युक्रेनले जनाएको छ।

अघिल्लो हप्ता अमेरिकी गुप्तचर संस्था (सीआईए) का प्रमुख जोन र्याटक्लिफले पनि मस्कोको भ्रमण गरेका थिए। अमेरिकी मध्यस्थतामा विगत १८ महिनादेखि विभिन्न चरणमा वार्ताहरू भए पनि भूभाग र युक्रेनको सुरक्षा ग्यारेन्टीजस्ता मुख्य विषयहरूमा सहमति जुट्न नसक्दा स्थायी शान्ति सम्झौता हुन सकेको छैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link