म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जंगलमा रातो च्याउ खोज्न व्यस्त छन्। नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ संकलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जंगलमै गोठ बनाएर बसेका छन्। “तीन जनाले च्याउ खोज्नुहुन्छ, मैले जंगलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उनले भने, “करिब दैनिक ५० किलोग्राम च्याउ संकलन र बिक्री भइरहेको छ।”
नगेनले शुक्रबार करिब रु ४० हजारको रातोच्याउ बिक्री गरेको बताए। लेकाली क्षेत्रका बासिन्दा च्याउ पलाउने याम सुरु भएपछि जंगल पसेका छन्। प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको स्रोत बनेको छ। च्याउको सुरक्षाका लागि पलाउने ठुटाको नजिकै बसेर ओगट्ने चलन छ।
मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो। समुन्द्री सतहदेखि तीन हजारदेखि चार हजार मिटर उचाइका जंगलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा प्राकृतिक रूपमा बर्खायाममा उम्रने रातोच्याउ तरकारीको रूपमा उपभोग हुन्छ।
पोषिलो, अर्ग्यानिक र औषधीय गुण पाइने तथा स्वादिलो हुने भएकाले रातो च्याउको माग उच्च हुने गरेको धवलागिरी गाउँपालिका–३ मुनाका मनबहादुर पुनले बताए। “मासुको विकल्पमा पनि रातो च्याउको उपभोग हुने गर्छ,” उनले भने “रातो च्याउ पोषिलो र तागतिलो तरकारीको रूपमा परिचित छ।”
ताजाका साथै प्रशोधन र सुकाएर पनि रातो च्याउ उपभोग गर्न सकिन्छ। बजारमा बस्ने र विदेशमा पुगेकाले रातो च्याउको चाहना गर्ने गरेका मुनाका व्यवसायी रुपा शेरपुञ्जाले बताए। गाउँबाट सहर र विदेशमा कोशेलीको रूपमा रातो च्याउ पठाउने चलन रहेको छ।
सडक यातायातको सुविधासँगै लेकाली क्षेत्रका बासिन्दाले जङ्गलमा रातो च्याउ टिपेर एकै दिनमा बेनी र पोखराका बजारमा पुर्याउन थालेका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए। “रातो च्याउ बेरोजगारको लागि रोजगारी र आम्दानीको स्रोत बनेको छ,” उनले भने “स्थानीयले संकलन गर्ने च्याउलाई बजारीकरणका लागि ब्यापारिसँग समन्वय गरेका छौँ।” सडक यातायातको सुविधा नहुँदा सुकुटी बनाएर रातो च्याउ बेच्ने गरेका थिए।
ताजा रातोच्याउ प्रतिकेजी रु एक हजारका दरले किनबेच भइरहेको छ। सुकुटी बनाएको प्रतिकेजी रु चार हजारदेखि पाँच हजारसम्म पर्छ। रातो च्याउमा प्रोटिन र विभिन्न मिनरल्स तत्त्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउ खेती प्रविधि पुस्तिकामा उल्लेख छ।
रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ। वस्तिदेखि टाढाको जंगलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन। रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने नहुने बताइन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भूराजनीतिक तनाव र आर्थिक चुनौतीका बीच सुरु भयो ‘ कोप’
- पहिरोको जोखिममा हाकुबेँसी, स्थानान्तरणका लागि स्थानीयको माग
- आज तिहारको चौथो दिन: विधिपूर्वक गाईको पूजा गरिँदै
- ला लिगा: फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने